शुक्रबार, ०५ भदौ २०८३

‘पार्वती’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट


काठमाडौँ । नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’सर्टिफिकेट प्राप्त गरेको छ। यो सर्टिफिकेटसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर फिल्म हेर्न पाउनेछन्।

आउँदो भदौ १२ गते (शुक्रबार)देखि देशभरका फिल्म हलमा प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले युनिभर्सल सर्टिफिकेट पाएपछि निर्देशक ढुङ्गानाले खुशी व्यक्त गर्दै सम्पूर्ण परिवारलाई साथमा बसेर फिल्म हेर्न आग्रह गरेकी छन्।

‘हाम्रो चलचित्र  ‘पार्वती’ सानो बाबुनानीदेखि हजुरबुबा–हजुरआमासम्म सबैले हेर्न मिल्ने भएको छ’,निर्देशक नीताले भनिन्,‘माया, भावना र पारिवारिक सम्बन्धले भरिएको यो चलचित्र हेर्न नभुल्नुहोला।’

गत बिहीबार सञ्चारकर्मीहरूको उपस्थितिमा सार्वजनिक गरिएको फिल्मको ४ मिनेट लामो ट्रेलरले अहिले चौतर्फी प्रशंसा बटुलिरहेको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

अटिजम भएकी दिदी र भाइबीचको कसिलो माया र स्नेहको कथामा बनेको यस फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। उनीहरूका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, र दिप्त प्रकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक नीता ढुङ्गानाले तयार पारेकी हुन् भने डाइलगरस्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन (डिओपी) र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन्।

यसअघि सार्वजनिक भएका ‘सुनको रेल’ र ‘दिदीबहिनी’ बोलका गीतहरूले पनि राम्रो चर्चा पाएका छन्। बाबुल गिरी र दीपक शर्माको संगीत रहेको फिल्मका गीतहरूमा हर्क साउद र बाबुल गिरीका शब्द तथा नरेन्द्र वियोगीको संगीत संयोजन र मिक्सिङ रहेको छ। गीतहरूमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ।

हरिहर अधिकारी निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्। यस फिलमको उपत्यका तथा उपत्यकाबाहिरको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ