- भदौ ०५, २०८१
अमेरिका । अनेकौँ तिकडम गरेर चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओली र भारतीय सिनेमाका अभिनेता अमिताभ बच्चनको समानता के कुरामा हुन् सक्ला ?
पेसा, परिवेशदेखि लिएर यावत् कुरामा दुवैको व्यक्तित्व नितान्त फरक छ। मुखले एउटा बोल्ने तर काम अर्कै गर्ने, दु:खमा साथ दिएको मान्छेलाई सुख आउनासाथ बिर्सने र आफूलाई सहयोग गर्ने मान्छेलाई धोका दिने कुरामा दुवै एउटै किसिमका छन् । जसरी ओलीले आफूलाई राजनीतिमा स्थापित गर्न सहयोग गर्ने मान्छेलाई धोका दिएका छन्, त्यस्तै बच्चनले पनि दु:खमा साथ दिने व्यक्तिकाे सत्यानास गर्न बाँकी राखेका छैनन् ।
प्रसङ्ग, तेह्रथुमको एउटा गरिब परिवारमा जन्मेका ओलीलाई कम्युनिष्ट नेता रामनाथ दाहालले झापास्थित आफ्नो घरमा ल्याएका हुन्। दाहालकै घरमा बसेर सानोतिनो काम गर्दै लामो समय बिताएका ओलीले आजसम्म दाहालले आफूलाई गरेको सहयोगको बारेमा बोलेका छैनन् । लामो समय आफूसँगै राखेर राजनीतिको ‘क, ख, ग’ सिकाउने मोहनचन्द्र अधिकारीको गुन पनि कहिले सम्झेका छैनन् । त्यस्तै नख्खु जेलमा बस्दा दिशापिसाबसमेत सफा गरेका सहकर्मी राधाकृष्ण मैनालीलाई पनि उनले पटक-पटक धोका दिएका छन् ।
मैनालीका अनुसार मदिराका सौखिन ओलीले गृहमन्त्री भएपछि विभिन्न बिचौलियाहरुले दिएको सित्तैको रक्सी यति सेवन गरे कि उनको दुवै मृर्गौला नै खत्तम भयो । राजनैतिक जीवनकालमा पनि ओली यति ‘डरछेरुवा’ थिए कि कथित कम्युनिष्ट आन्दोलनको ‘बेसिक क्वालिफिकेशन’ मानिने तोडफोड, आगजनीजस्ता क्रियाकलापमा उनको कुनै सहभागिता रहेन । मेहनत गर्ने बेलामा लुक्ने र फाइदा हुनेबेलामा फुत्त निस्कने ओलीको विशेषता नै रह्यो ।
मदन भण्डारीको हत्या वा दुर्घटनाबारे ओलीले आफू देशको सर्वाेच्च पदमा रहँदा ‘चुँ’सम्म नबोल्नु रहस्यमय छ। यद्यपि, सत्तामा नहुँदा यिनकै कार्यकर्ताले आन्दोलनको नाममा सरकारी भौतिक सम्पत्तिको ठुलो क्षति गरेका छन्, जसको जिम्मेवारी यिनले लिनु नै पर्छ। पदमा नहुँदा हत्या भएको हो र आफूले सत्ता प्राप्त गरेको एक महिनामा छानबिन गरेर दोषी पत्ता लगाउने भनेर बम्किने तर सत्ता प्राप्त गरेपछि योबारेमा कुनै कुरै नगर्ने गर्दा पनि यिनको नियत कत्तिको घटिया रहेछ भनेर जोसुकैले पनि आँकलन गर्न सक्छ।
अब कुरा गरौँ- अमिताभको । सबैलाई इज्जत गर्ने, मिठो बोल्ने र आफूलाई सधैं ‘लो प्रोफाइल’को देखाउन खोज्ने स्वभाव यिनको हात्तीको देखाउने दाँत मात्र हो । चपाउने दाँतमा यिनी जुन थालमा खायो, त्यही थालमा प्वाल पर्ने बेइमान किसिमका छन् ।
उनको बारेमा एउटा कथन नै छ, ‘कोही ऐसा सगा नही जिनको बच्चन ने ठगा नही’ अर्थात् कुनै यस्तो नजिकको मित्र छैन, जसलाई बच्चनले धोका नदिएको होस् । चार वटा सिनेमा लगालग फ्लप हुनु र भारतमा यिनको कम्पनीले आयोजना गरेको विश्व सुन्दरी प्रतियोगितामा ठुलो घाटा हुनुले यिनको कम्पनी अमिताभ बच्चन कर्पोरेसन लिमिटेड अर्थात् ए.बि.सी.एल दिबालिया घोषित भयो । जसको फलस्वरूप साधारण सेयरधनीबाट उठाएको करिब दुई सय करोड रुपैयाँको दायित्व यिनको टाउकोमा आयो । सबै बैंक खाता शून्यमा झरेकोले यिनी कङ्गाल हुन पुगे ।
यस्तो अवस्थामा यिनलाई तन, मन र धनले सहयोग गर्नेहरुमा थिए, सहारा इण्डिया परिवारका मालिक सुब्रोतो राय, रिलायन्स कम्पनीका मालिक अनिल अम्बानी र उत्तर प्रदेश समाजवादी पार्टीका नेता तथा अर्बपति व्यापारी अमर सिंह । राय र अम्बानीले ऋण दिएको एक-एक सय करोड रुपैयाँ र सिंहको राजनैतिक प्रभावले बच्चन उक्त समस्यालाई सहजै समाधान गर्न सफल भए ।
जब आफू समस्याबाट मुक्त भए, यिनले राय, अम्बानी र सिंहको साथ छोड्दै गए । साथ छोडेको मात्र भए कुनै ठुलो कुरा हुन्थेन, उनले यिनीहरुसँग लिएको ऋणको एक पैसा पनि तिरेनन् । त्यसैको फलस्वरूप राय र अम्बानीको सबै सम्पत्ति स्वाहा भयो र यिनीहरु दुवै कङ्गाल भए। रायको कम्पनी दिबालिया भएर करिब ६० हजार करोडको घोटाला गरेको अभियोगमा राय हाल जेलमा छन् । र, अम्बानीले हालै अदालतमा ‘मेरो सबै पैसा सकियो र मसँग एउटा सानो कारमात्र बाँकी छ तर त्यसमा पेट्रोल हाल्ने पैसा पनि मसँग छैन’ भनेर दिएको हृदयविदारक बयान बाहिर आएको छ । साथै सिंहको क्यान्सर रोगको कारण मृत्यु भइसकेको छ, जसमा बच्चनले एउटा सानो समवेदनाको शब्दसम्म बोलेनन् ।
त्यस्तै आफूलाई सिनेमामा स्थापित गराउन सहयोग गर्ने सलमान खानका पिता तथा लेखक सलिम खान, टिनु आनन्द, प्राण, कादर खान र परबिन बाबीलाई यिनले समय-समयमा दिएको धोका र आफूसँगै अभिनय गर्ने त्यसबेलाका सफल कलाकार बिनोद खन्नाको भूमिका सिनेमाहरुमा छोटो बनाउन अनेक तिकडम गरेको कथा विभिन्न सञ्चार माध्यमहरुले उजागर गरेका छन् । यी कथाहरु कति सत्य वा असत्य थिए, त्यो सम्बन्धित व्यक्तिहरुलाई मात्र थाहा होला तर बच्चनको तर्फबाट कुनै स्पष्टीकरण नआउनुले यी सबै कुरा सत्य थिए भनेर मान्न सकिन्छ ।
अन्तमा, ओली र बच्चनको कुनै कोणबाट पनि तुलना हुन सक्क्दैन । तर बेइमानी र आफूलाई सहयोग तथा सद्भाव राख्ने मान्छेहरुलाई आफ्नो स्वार्थसिद्ध हुन्छ भने धोका दिन बाँकी नराख्ने चरित्र भने समान छ । यति हुँदाहुँदै पनि साधारण व्यक्तिको दृष्टिमा यिनीहरु भलाद्मी र असल मान्छे भएको छवि छ, त्यो भने आश्चर्यजनक छ ।
टिप्पणीहरू: