- असार ०६, २०८०
मौखिक सहमतिमा निर्धारण भएको १ घन्टा पूरा हुन १० मिनेट जति बाँकी थियो । दिउँसोको ३ बज्न लागेको थियो । अब कहाँ जाने कुनै योजना थिएन । योजना बिनै ३५ वर्ष बितेकाले होला बानी पनि छैन । कसकाे फोन आउँछ, कतिबेला कहाँ पुग्नुपर्छ कुनै टुँगो हुँदैन । ज्यानलाई बिसन्चो छ भने चिटिक्क परेर बस्ने बानी नै लागिसक्यो ।
स्कट, लेगिन्स र कोट । आजको मेरो ड्रेस । सक्कल परेको ज्यान हुनुको फाइदा मलाई जे लगाए पनि सुहाउँछ । स्कट र लेगिन्समा अलि बढी आकर्षक देखिन्छु । धेरेले भनेको सुनेपछि मेरो प्राय ड्रेस स्कट, लेगिन्स र कोट नै हुने गरेको छ ।
म आँखामा गाजल लगाउँदै थिएँ । ‘तिमी त हिरोइन हुनुपर्ने मान्छे ?’ बेडमा तकियाको अडेस लगाएर मोबाइल चलाएर बसिरहेका मेरा एक घन्टाका साथीले भने । ‘म हिरोइनभन्दा कुन कुरामा कम छु र’, यो मेरो र ऊ दुबैको बनिबनाउ जवाफ थियो । १५ वर्षअघि मेरो हाकिमले पनि मेरो ज्यान हेरेर त्यही वाक्य बोलेका थिए ।
हामी होटलको तेस्रो तलामा थियौँ । तल बगैँचामा पानी हाल्दै गरेका फूलमान दाइ देखिए । असाध्यै सोझा यिनलाई अझै मेरो असलियत थाहा छैन । मलाई होटलमा देख्नेबित्तिकै म्याम भन्दै नमस्कार गर्छन् । म टिब्सको रुपमा दुई/पाँच सय दिन्छु बेला बेलामा ।
१५ दिनअघि साँझापख सानी नातिनी लिएर बाटोमा हिँड्दै रहेछन्, अकस्मात भेट भो । म नदेखे जस्तो गरेर छड्किन खोज्दै थिएँ । मेसो मिलेन र एक्कासी अगाडि आएर भने ‘नमस्कार म्याम’ । हजुर बाले जस्तै नातिनीले पनि नमस्कार गरिन् ।
‘हाम्रो म्याम’, नातिनीलाई मलाई देखाउँदै भन्नुभयो । ठूलो भएपछि उहाँजस्तै हुनुपर्छ है ।’ फूलमान दाइको वाक्य सुनेर म झसंग भएँ र नातिनीको हातमा पाँच सयको नोट दिएर टाप कसेँ ।
०००
फूलमान दाईले अघि पानी हालेको फूलको बोटमा एक जोडी भँगेरी आएर आफ्नै भाषामा बात मार्न थाले ।
उनलाई तृप्त गराएको आधा घन्टा भएको थियो । बेड सामुन्ने भएको ऐनामा उनले मलाई नियालिरहेका थिए । लुगा फेरेको, लाली धसेको, गाजल लगाएको आदि ।
‘एकछिन बसम न ।’ आशय बुझिहालेँ । ‘मलाई घर जानुछ’, मैले झोला बोकेर बाहिर निस्कन खोजेझैँ गरेँ । जुरुक्क उठेर आए र मलाई अंगालो हाल्दै भने, ‘मलाई त तिमीलाई छाडेर जानै मन लागेन ।’
मैले आशय बुझिसकेको थिएँ । उनलाई दोस्रो पटक पनि चाहिएको थियो मेरो ज्यान । पर्सबाट केही हजारका नोट निकाले । मैले हातमा लिँए ।
०००
१५ वर्षअघि गाउँमा एसएलसीको रिजल्ट भो । ‘ठूलो मान्छे हुने हो भने काठमाडौं जानैपर्छ ।’ घरमा सबैको आशय थियो । न टेक्ने हाँगो, न समाउने ठाउँ । तर, कसैलाई चिन्ता थिएन । सबले सम्भावनै सम्भावनाको खानी भनेर व्याख्या गरिरहे काठमाडौँलाई ।
‘उसको को थियो र अहिले कस्तो छ ।’ शहर पसेपछि सुकिला लुगा लगाएर गाउँ फर्किनेहरु थुप्रै थिए । चर्चा तिनकै हुन्थ्यो ।’ १७ वर्षसम्म गाउँमै घाँस पराल गरेर बसेकी मलाई पनि त्यही ठिक हो जस्तै लाग्यो । झोला बोकेर हिँडे काठमाडौं ।
एउटा सहकारीमा पैसा उठाउने काम गर्थेँ । तलब थियो, मासिक ३ हजार । पहिलो महिना एक रुपैयाँ पनि पाइनँ । दिनभरी बजार डुलेर बेलुका अफिसमा हिसाब बुझाउँदा पैसा पुग्थेन ।
अफिसले दिएको ड्रेस थियो, सर्ट र पाइन्ट । त्यो लगाएर ऐन अगाडि उभिँदा मिरिक्कै देख्थेँ आफूलाई । अरुलाई पनि त्यस्तै लाग्दो रैछ ।
बिहान १० बजे अफिस पुग्नैपर्थ्याे । अफिस पुगलगत्तै सुरु हुन्थ्यो दौडधुप । लगभग दिनमा १० किलोमिटर हिँडेरै कटाएँ । अफिसले भाडा दिँदैन थियो । आफ्नै पैसाले बस, टेम्पु चढ्न पुग्ने कुरै भएन । उमेरले पनि होला, असाध्यै भोक लाग्थ्यो । दुनोट पसल छेउमा पुग्यो दुनोटै बास आउँथ्यो, समाेसाको छेउमा पुग्दा समोसा बास आउँथ्यो । बास्ना सुँघेर थुक घुटुक्क निल्नुबाहेक विकल्प थिएन ।
जागिर सुरु भएको एक वर्ष पुगेको थियो ।
‘सरलाई भन न । तलब बढाइदिनुहुन्छ ।’
अफिसमा सबैसँग राम्रो थियो । ‘भन्दैमा बढ्छ भने किन नभन्ने ?’
सर एक्लै हुनुहुन्थ्यो ।
चेम्बरमा गएँ र भनेँ, ‘सर...! तलब बढाउने कुरा ।’ मेरो वाक्य पूरा भएकै थिएन ।
‘हिँड म छोडिदिन्छु तिमीलाई ।’
सर र मसंगै निस्कियौं । पहिलो पटक कारमा चढेँ । नौलो अनुभूति भयो ।
‘खाजा खाम है, टाइम छ नि’, अनामनगर पुगेपछि सरले सोध्नुभो । मैले टाउको हल्लाएर स्वीकृत दिएँ ।
म:म, चाउमिन, सुप । मेरो छाकै जोगियो ।
गाडीमा बस्दा धेरै कुरा भएन । मैले टुकटुके मोबाइल झिकेर गेम खेल्न थालेँ ।
‘तिम्रो मोबाइल यही हो ? अनि फेसबुक केमा चलाउँछ्यौ । मोबाइल त गतिलो चाहिन्छ’, सरले भन्नुभयाे ।
०००
अर्को दिन पनि सर एक्लै हुनुहुन्थ्यो । फेरि त्यही चेम्बरमा गएँ । एक हजार तलब बढ्यो र सरले बीस हजार दिँदै भन्नुभो, ‘यसले मोबाइल किन, हिसाब पछि गरौंला ।’
मैले सोचेँ, मेरा दुःखका दिन सकियो । आफ्नै मोबाइलमा फेसबुक खोल्न पाउने कुराले म असाध्यै खुसी थिएँ ।
१३ हजारको मोबाइल किनेपछि बाँकी बसेको पैसाले कोठाभाडा पनि तिरेँ । तलब त एक हजार बढी आउनेवाला नै थियो ।
तीन दिनजति मेरै नयाँ मोबाइलको चर्चा भयो अफिसमा । ‘आहा कति राम्रो ।’ अरु दिदीहरु आउँथे, छाम्थे जान्थे ।
शुक्रबारको दिन थियो । म बजारमै थिएँ, सरले फोन गर्नुभयो । ‘आज तिम्रो के छ, घुम्न जाने हो ?’
मैले जाने/नजाने केही भन्न भ्याएकी थिइनँ ।
‘अस्ति छाडेको ठाउँमा तीन बजे आइपुग है ।’
भर्खर तलब बढेको । नयाँ मोबाइल । अफिसको बोस । म ठिक समयमै बोलाएको ठाउँमा पुगेँ । उहाँ मभन्दा पहिल्यै आइसक्नुभएको रहेछ ।
०००
यति राम्रो पनि कोठा हुन्छ । कोठा, बेडरुम, झयालमा लगाएको पर्दा सबथोक देखेर अचम्मित भएँ । अरु पनि के के हो के के । छुनै नमिल्ने हो कि जस्तो । यति बिध्न राम्रा चिजका बिचमा बसेकी मेरो मनमा एकखालको छटपटी थियो । औडाहा भइरहेको थियो । नौलो ठाउँ, नयाँ मान्छेको साथ । मसँग कुनै उपाय थिएन । कहिलेकाहीँ सोच्छु, शायद त्यो दिन मेरो लागि कालो थियो । अर्को मनले सोच्छ, होइन । अहिलेसम्म म कन्फ्युजमै छु ।
लगभग छ महिना सरसँग मेरो दोस्ती खुब जम्यो । नगरकोट, धुलिखेल, पोखरा । हामी धेरै ठाउँ गयौँ ।
फेरि फेरि लुगा लगाउन सिकेँ, सेम्पु र अनुहारमा लगाउने लोसनहरुका बारेमा थप जानकारी पाएँ ।
हामी नगरकोटमै थियौं । एकदिन मैले बोसलाई सोधेँ, ‘हामी कहिले विवाह गर्ने ?’ मेरो आकस्मिक प्रश्नले बोसको अनुहारको भाव भंगी उड्यो ।
मंगलबारको दिन थियो । सर अफिसमा एक्लै हुनुहुन्थ्यो । म सिधै चेम्बरमा गएँ र भनेँ, ‘सर मलाई एक लाख रुपैयाँ खाँचो पर्यो ।’
‘पैसा फल्छ त्यत्तिकै । पाँच हजार तलब खानेलाई एक लाख ?’
उहाँ केही भन्न खोज्दै हुनुहुन्थ्यो । मैले मेरो मोबाइलमा उहाँको श्रीमतीको नम्बर देखाउँदै भनेँ, ‘उहाँसँग मागुँला ।’ फेरि उहाँको अनुहारको भाव भंगी उड्यो । ड्रावरबाट एक लाखको बिटो झिकेर दिनुभयो । म बोकेर हिँडे । त्यसपछि म कहिल्यै अफिस गइनँ ।
०००
लगभग २० वर्ष भयो । मैले मनमौजी जीवन बिताउन थालेको । मेरो छिमेकी धेरैका छोराछोरी स्कुल पढ्ने भइसके । म अझै सिंगल छु । त्योभन्दा पनि डरलाग्दो कुरा म ‘धन्दा’ गर्छु । मेरोबारेमा जान्नेहरु जोकोही रात नपरुन्जेल बोल्न पनि नपरोस् भनेझैँ गर्छन् । जबकी तिनै मान्छेहरुलाई जब राति भेट्छु नि कस्तो फुर्क्याएर कुरा गर्छन् ।
ममात्रै होइन, मजस्तै हजारौं छन् यो शहरमा । हरेकसँग धन्दा गर्नुको आफ्नै कारण छ । त्योभन्दा बढी पीडा छ, दुःख छ । तर, मान्छेहरु हाम्रा पीडालाई पीडा मान्दै मान्दैनन् । हाम्रो दुःख दुःख हुँदै होइन ।
१५ दिनअघि नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका श्याम घिमिरेले यौन व्यवसायलाई बैधता दिने विषयमा संसदमै कुरा उठाउनुभयो । म पुलकित भएँ । मजस्तै अरु धेरै दिदीबहिनी खुसी भएका थिए । लागेको थियो, ‘हरेक रात पुरुषलाई सुख दिने हामीहरुले पनि अब सम्मानको जीवन जीउन पाउने भयौँ । पुरुषहरुलाई सुख दिएबापत प्रहरीलाई कमिशन दिन नपर्ने भयो ।’
अरु धेरै कुरा छन् । सुरक्षा, आत्मसन्तुष्टि र सम्मानको जीवन जिउने कल्पना कल्पनामै सीमित रह्यो । एउटा जायज विषयमा बहस छेडेपछि विचार विमर्श हुन्छ होला भन्ने भन्ठानेको त एक साता नबित्दै हाम्रा अधिकारका कुरा गर्ने मान्छेले संसदमै उभिएर भन्नुभयो, ‘मबाट गल्ती भयो माफ पाऊँ ।’
टिप्पणीहरू: