सोमबार, ०८ पुस २०८१

बा ८७ लाग्नु भाे, लट्ठि टेक्नु हुन्न चश्मा लगाउनुहुन्न


हाम्रो बुबा ८७ बर्षको हुनु भयो । अब आउने मंसिर १ गतेबाट ८८ बर्ष लाग्नु हुनेछ । अहिले वहाँ सन्यास आश्रममा बस्नु हुन्छ । आफै पकाउने, खाने, धुनेसफा गर्ने र आफु बसेको आश्रम वरिपरि बारीमा तरकारी पनि लगाउनु हुन्छ । हामी बुबालाई बेलाबेलामा भेट्न जान्छौं । हरेक पटक बारीमा केही न केही फलिरहेको हुन्छ ।

बुबा आँखामा चस्मा र कानमा ध्वनी मेसिन लगाउनु हुन्न । लठ्ठि टेक्नु हुन्छ । प्रोस्ट्रेटको समस्य छ । 

यहाँ घरमा हुँदा आफ्नो उमेरमा थुक आउँदा नि फिकदानीमा थुक्नु हुन्थ्यो र हामीलाई  फाल भन्नु हुन्थ्यो, फिकदानी माँझेर सफा टिलिक्क पार्नु भएन भनेर आमालाई हकार्नु पनि हुन्थ्यो । अझ कडा मिजासले बोल्नु हुन्थ्यो, त्यतिबेला बुबा ५०–५५ वर्षको हुनुहुन्थ्यो ।

बुबाआमाको आत्मिय सम्बन्ध नहुँदा नहुँदै उहाँहरुले लगभगल २५ बर्ष जति दाम्पत्य जीवन सँगै बिताउनु भयो, त्यही बीचमा हामीहरु ६ जना आएछौं । शुरुवात छोरीबाट हुँदै छोरीमै गएर टुङ्गिनु भएछ, उहाँहरु ।

बुबाआमाको विवाह हुँदा बुबा २५ वर्ष र आमा ७ वर्ष को हुनुहुन्थ्यो रे । अहिले नागरिकता हेर्दा पनि आमा र बुबाको १९ बर्षको फरक भेट्छौं हामी पनि ।

बुबाले आफु १५ वर्षको हुँदा आफ्नो बुबाआमा दुबै गुमाउनु भएको रहेछ । एउटा टुहुरोले फुपुको घरमा बसेर पढ्नु भएछ । फूपाजुको दकस हुन्थ्यो होला, फूपाजुले हकार्नु हुन्थ्यो होला, अन्जानमा कति गल्तिहरु भए होलान्, कति कामहरु बिग्रे होलान र फुपुफुपाजुहरुले पनि टुहुरो भतिज राम्रो होस भनेर सम्झाउनु हुन्थ्यो होला, सायद कहिले काँही पिट्नु पनि भयो होला तर उँभो लागोस, सप्रियोस, इख लियोस र बैरीहरुलाई केही गरेर देखाओस भनेर पनि तर्साउनु हुन्थ्यो होला तर बुबालाई हेपेको महसुस भयो होला, कोही छैन भनेर अनाहकमा यातना दिएको महसुस हुन्थ्यो होला वा सित्तैमा खाको छ भन्ने ठानेर चित्त दुख्ने व्यवहार गरेका होलान भन्ने लाग्दथ्यो होला “यी कथन मेरा कल्पना मात्रै हुन” बुबाले कहिल्यै फुपु फुपाजुको व्यवहार नराम्रो भएको भन्नु भएन । बुबाले काठमाण्डौंको रानी पोखरी स्थित दरबार हाइस्कुलबाट आफ्नो विद्यालयस्तरको पढाइ सिद्धयाउनु भएको हो र त्यसपछि काशीबाट उत्तरमध्यमा सम्मको पढाइ पढ्नु भएको रहेछ ।

बुबाले त्यो बेलाको प्लस टु सिद्धयाउनु भएपछि विवाह गर्दिनु भएको रहेछ । अर्की एक फुपुले । फुपु अलि हुनेखाने र गाउँमा हरुवा चरुवा  राखेर बस्नु भएकाले रवाफ थियो रे । उ बेलामा टुहुरो र उमेर धेरै भएकाले हल मिल्ने केटी नपाइदो रहेछ, किनकी त्यसबखतमा १२–१४ बर्षका केटीलाई बुढी भइ भन्ने चलन रहेछ ।

विवाह गरेर आमा घर आउँदा आमा १४ बर्षको हुनुहुन्थ्यो रे ।

आमा निरक्षर, बुबालाई आफु पण्डित भइसकेको एउटा गर्व र बुबाहरु जमिनका हिसाब र अघिल्ला पुस्ता जिजु हजुरबाहरु दरबारसँग पनि सम्पर्क भएका खानदान भएकाले आमाहरु अलि हेपाइमा पनि पर्नु भयो भन्ने आमाको गुनासो हुन्थ्यो ।  बुबाले स्वभाविक हो भन्दै स्वीकारोत्ती गर्नु हुन्छ ।

बुबाले आफ्नो जीवनकालमा नोकरी पनि गर्नु भयो । सिंहदरबार, वैद्यखानामा कुनै एउटा पदमा हुनुहुन्थ्यो तर, तत्कालिन राज्य व्यवस्थाले अस्थायीमै १० बर्ष झुलाएकोले बुबाले नोकरी छोडेर गाउँ फर्किनु भएछ । पढाउनु भएको फुपाजुले बोलाएर फेरि नरदेवी हस्पिटलमा जागिर लगाइदिनु भएछ । त्यतिबेला बुबाले गाँजा खान पनि सिक्नु भएको भन्ने सुनियो । अलि श्वास्थ्य पनि बिग्रिएको थियो ।  घर फर्केर आमाको हातको खानपिन गरेपछि बुबाको श्वास्थ्यमा सुधार भएको र त्यसपछि काठमाण्डौं छोड्नु भएको हो भन्ने कुरा गर्नु हुन्छ । गाउँ मै तत्कालिन स्थापित भएको पूर्व प्राथमिक विद्यालयमा केही समय अध्यापन पनि गर्नु भयो । कडा मिजासको स्वभाव हुनु भएकाले विद्यालयका केही व्यवस्था चित्त नबुझेर मास्टरी जागिर छोडी राजनीतितिर लाग्नु भएछ । एक पञ्चबर्ष गाउँ पञ्चायतको अध्यक्ष पनि हुनु भयो । अर्काे बर्ष प्रतिस्पर्धा गर्दा बुबा हार्नु भयो र हाम्रो भैरहवाको यात्रा शुरु भयो । शुरुमा म र बुबा भैरहवा आएका थियौं । त्यसपछि बुबाको पण्डित्याई लगातार १० बर्ष भैरहवामा चल्यो र बुबाले घर बनाएर हामीलाई राख्दिनु भएसी थाहै नदिइ, लुकीलुकी, सन्यासी मार्गमा लाग्नु भयो ।

बुबा सायद घरमा वा गृहस्थी जीवनमा त्यति खुशी हुनुहुन्नथ्यो । अहिलेको उहाँको स्वास्थ्य जति हृष्टपुष्ट छ, घरमा हुँदा त्यस्तो देखिदैनथ्यो । अहिले पनि बुबा दशैमा घर आउनु हुन्छ र लगभग छठपूजासम्म बस्नु हुन्छ तर दुब्लाउनु हुन्छ । उहाँले आश्रममा खाने खाना भन्दा अझ पोसिलो खान्छौं जस्तो लाग्छ तर घरमा हुँदा बुबा दुब्लाउनु हुन्छ । सायद उहाँलाई घरको वातावरण भिन्न लाग्दछ, आत्मसन्तुष्टी मिल्दैन जस्तो लाग्दछ, त्यसैले बुबा दुब्लाउनु हुन्छ ।

अस्ति भर्खर वृद्धाभत्ताको कागजपत्र नविरकण गर्दा बुबाले उहाँलाई ज्योतिषले दिएका जीवनरेखाका कुराहरु मिलिरहेछ भन्नु हुन्थ्यो, ज्योतिषले १०० बर्ष नाघ्ने आयु छ भनेका छन् रे । म त्यो ज्योतिषलाई भेटेर नमन गर्न चाहन्छु कि ज्योतिषबा हजुरले भेट्नु भएको मेराबाका आयु रेखा प्रत्येक दिन लम्बिरहोस र मैले सधै आफना बालाई देखिरहन पाउँ भनी दण्डवत गर्दै ईश्वरलाई प्रार्थना गर्न चाहन्छु ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ