- भदौ १७, २०८१
कमल अर्याल
मेरो जन्मभूमि धादिङ भए पनि कर्मभूमि चितवन हो । चितवनको पनि लौरीघोलमा मेरो स्थायी बसोबास छ आजकल । यहाँ आएर बसेदेखि नै मलाई एउटा जिज्ञासा थियो यस ठाउँका बारेमा । म सोच्थेँ – यसको नाम लौरीघोल नै किन रह्यो होला ? म सुन्थेँ – यो लौरीघोलको कथा द्वापरयुगसम्म जान्छ र कृष्णले लौराले जमिनमा घोपेर पानी निकालेका नै यो ठाउँको नाम लौरीघोल भएको हो । तर यी कुराले मात्र मभित्रका जिज्ञासा शान्त हुन सक्दैनथे । यसै सिलसिलामा रत्ननगर वाङ्मय प्रतिष्ठान जोसँग म पनि जोडिएको छु ले रत्नप्रभा नामक मुखपत्र प्रकाशन गर्ने निधो गर्यो । प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे भन्नुभयो – “कमल, तिमी लौरीघोल निवासी यसैले त्यसैका बारेमा खोजतलास गर ।” अनि यसैमा लक्ष्मण अर्यालले थप्नुभयो – “ल, यो विषय ठिक छ, यसका बारेमा तिमीले नै खोजतलास गर्नुपर्छ ।” यसलाई मैले मेरा अग्रजहरूले मलाई दिएको अलि रोचक खाले होमवर्क ठानेँ र केही पाइन्छ कि भनी खोजखाज, सोधखोज गर्न थालेँ ।
मैले मित्र शान्तमणि अधिकारी जो वर्षौदेखि यसै घोलको पूर्वपट्टि बसोबास गर्दै आएका छन् र भाइ डि.एन.लाई लौरीघोलको विषयमा केही तथ्यहरू खोज्नुपर्यो भनें । कुरा राखेकै दिन शान्तमणिले रामबहादुर वि.क.को कुरा गरेका थिए । रामबहादुर वि.क.को लौरीघोल चौतारोभन्दा तल गुम्बा छिर्ने बाटो नजिक घर छ । हामी घरमा जाँदा भेटिएनन् । घरपरिवारले भने बमोजिम हामी लौरीघोलको स्कुल चउरमा गयौं । माघ महिना भएकाले घाम ताप्दै गरेका १०/१२ जना जति कपाल फुलाएका पाका मान्छेहरू गफमा व्यस्त थिए । हामीले हाम्रो परिचय दियौं र आउनुका कारण बतायौं ।
हामीले खोजेका रामबहादुर वि.क. पनि त्यहीं भेटिए । सबैसँग औपचारिकता निभाएपछि कुराकानी सुरु भयो । रामबहादुरले भने – “यो ठाउँ २०१८ सालमा बसोबासका लागि खुलेको हो । यो वेतघारी हो यहाँ तारिकाका रुखहरू थिए । सालका रूखहरू पनि प्रशस्तै थिए समग्रमा भन्दा त्यतिबेला यहाँ जंगल थियो । यहाँ जंगली जनावरहरू बाघ, भालु, चित्तल, गैंडा लगायत जंगली जनावरहरू थिए । यस वरपरका गाईभैंसी र बाख्राहरू त कति खाए कति । २०२२ सालमा हैजाको ठुलो महामारी फैलियो । पिठुवा, माधवपुर र जयंमगला आसपास धेरै मान्छेहरू मरे । ती मरेका मान्छेहरू ल्याएर यहाँ गाड्ने, पोल्ने र धेरै हुन थालेपछि ल्याएर त्यसे पनि फालेर जान्थे । त्यति बेला महामारीले धेरै मान्छे खायो । त्यस समय यस वरपर दुर्गन्ध फैलिएर घर बाहिर निस्कन नसक्ने थियो । गुम्बा आसपासका ठाउँलाई त धेरै पछिसम्म चिहानडाँडा भन्थे । दिउँसो १२ बजेको समयमा तर्साउँथ्यो भन्थे मान्छेहरू । त्यो ठाउँलाई सिकारी डाँडा पनि भनिन्थ्यो । लौरीघोलको मुहान भन्दा माथिका १२४ विगाहा जग्गाभित्र दुम्सीले खोले छिया छिया बनाएको थियो ।” रामबहादुरका यी कुराले हाम्रो खोज योजनामा कौतूहलता थप्यो ।
रामबहादुर बि.क.को कुराको सिलसिलालाई निकै रोचक ढङ्गले थपथाप गर्ने काम तेजप्रसाद न्यौपानेले गरिरहेका थिए । पहाड तिरबाट २०१९ सालमा आएका रहेछन् । उनी माधवपुरमा अहिलेको पानी ट्यांकी नजिक बस्दा रहेछन् । उनको आफ्नै गोरूगाडा थियो रे । गाडा यही बाटो गरेर लाने ल्याउने गर्दा रहेछन् । उनलाई पनि लौरीघोल आसपास हुने गतिविधि थाहा नहुने कुरै भएन ।
लौरीघोल कसरी उत्पत्ति भयो भन्ने सवालमा सबैको एकैखाले मत आयो । त्यहाँ रामबहादुर वि.क. तेजप्रसाद न्यौपाने लगायत सबै पाकाहरूले सुनाएको किम्वदन्तीअनुसार – यस आसपास एकजना शक्तिशाली गोठाला बस्थे रे । उनका निकै धेरै गाईवस्तुहरू थिए रे । ती गाईवस्तुहरूको प्यास मेटाउन नारायणी किनार चपारघाट पुग्नुपर्थ्यो रे । त्यति टाढा पुग्न ससाना बाच्छा बाच्छी र बिरामी गाईहरूलाई निकै सास्ती भयो रे । कति बाच्छाबाच्छी र अशक्त गाईहरू पानी नपिई त्यसै फर्कन्थे र कैयौँ त पानी नै पिउन नपाएर मर्थे रे पनि । यो अत्यन्त पीडादायक अवस्थालाई भोगेका ती गोठालाले भगवान् श्रीकृष्णको आराधना गरेछन् । तिनको पुकारबाट खुसी भएका श्रीकृष्णले गाईवस्तुको रक्षाका लागि यसै ठाउँमा लौराले घोचेर पानी निकालेका थिए रे । त्यही लौराले घोचेर निकालिएको पानी जमेर बनेको घोल नै लौरीघोल भन्छन् ।
कुराकानीकै मेसामा तेजप्रसाद न्यौपानेले थपे – “त्यतिबेला पिठुवा माधवपुरबाट पनि पानी लिन यही आउँथ्यौं । गाईवस्तुहरूले यहाँ नआई तिर्खा मेट्न पाउँदैनथे । अहिले ए.टु.जेड. मोबाइल हाउस भएको ठाउँमा एउटा इनार थियो । नारायण बाजेको घर नजिकै पनि इनार चापाकल थियो । त्यस आसपासका मान्छेहरू त्यहीँको पानी पिउँथे । पछि कयर खोलाको पानी कुलो बनाएर ल्याएपछि हामीले पनि त्यही पानी पियौं ।
तेजप्रसाद बोल्दै गए – “एकदिनको कुरा हो म त्यतिबेला घरमा एक्लै बस्थें । पानी लिन कि त जुटपानी पुग्नु पथ्र्यौ कि लौरीघोल । हामी प्रायः जुटपानी जान्थ्यौं । साँझ पर्ने बेला भएको थियो मसँग पानी थिएन । म भुरा मान्छे एक्लै जुटपानी गएर पानी ल्याउन सक्ने कुरा पनि भएन । मैले एकजना महिलासँग मलाई एक टिन पानी दिनु म तपाईलाई त्यसको बदला एक टिन मह दिन्छु भनें । हामीसँग त्यतिबेला खागका महहरू प्रशस्तै थिए । उनले मानिनन् । मान्नु पनि कसरी ? महले भात पकाउन भएन, चुठ्न भएन, त्यसले तिर्खा मेट्न मिलेन ।”
सबैसँग बिदा मागेर हामी त्यही स्कुलको चउरभन्दा तल रहेको लौरीघोलको मुहानतर्फ ओरालो झर्यौं । नजिकै र भएर पनि धेरै भएछ लौरीघोलको मुहानमा नगएको । मुहानको उत्तरतर्फ भिमसेनस्थान रहेछ । त्यो नेवारहरूले पूजा गर्ने मन्दिरसँगै एउटा किरिया घर बनेको रहेछ । त्यो भन्दा तल तीनवटा इनाहरू थिए । इनाहरूसम्म पुग्न सिमेन्टी ढलान गरिएको रहेछ । त्यसैको आडमा कलकलाउँदो सिमसागको खेती रहेछ । पहिला पहिला यो घोलमा निकै धेरै सिमसाग पाइन्थ्यो अरे । यो इतिहासलाई जोगाई राखेकामा निकै खुसी लाग्यो – त्यो भलै व्यक्तिले रोपेका हुन् ।
मुहानमा पानी भुलभुल गरिरहेको थियो । त्यो कञ्चन पानीमा माछाका भुराहरू रमाइरहेका थिए । मेरो मन पनि ती भुराहरूसँगै डुबुल्की मार्यो । मेरो मन पनि ती भुराहरूसँगै डुबुल्की मार्यो । कहिले कुरमा पस्यो, कहिले हिलोमा लुकामारी ग¥यो । यो अलौकिक आनन्द बटुल्दा बटुल्दै मूल जहाँ भुलभुल गरेर माछाका भुराहरूसँग रमाइरहेको थियो । त्यही ठाउँमा एउटा सिमेन्टको पोल देखियो । त्यो सिमेन्टको पोल देख्नेबित्तिकै मनमा नमिठो धक्का लाग्यो । त्यो मैले मेरो लौरीघोल भनेर गरेको घमण्ड छिनभरमा नै भताभुङ्ग भयो । अहो, त्यो मूल त कसैको नाउँमा दर्ता भएको रहेछ क्यारे । कि भूलबस कतैबाट आएको हुन पनि सक्छ । अघिको त्यो अलौकिक आनन्द र खुसी क्षण भरमै खल्लो र नमजा लागिरह्यो मन पोलिरह्यो । हुनसक्छ – त्यो अहिले व्यक्तिको जग्गा होला । यति पुरानो इतिहास बोकेको स्थानको मुहान जहाँ मूलबाट पानी अनवरत निस्किरहेछ त्यहीँ किन गाडियो होला कङ्क्रिटको यो खाँबो ?
यो मूलमा भएका माछाहरूलाई मार्न हुँदैन भन्ने रहेछ । यहाँ भएको माछालाई मार्यो भने पानी सुक्छ रे । एकताका यहाँ ठुलो एउटा माछा थियो । एउटा व्यक्तिले त्यो माछालाई कुरमा हात हालीहाली निकालेर मारेछ । त्यो साल मुहान सुकेको थियो रे ।
मलाई अग्रजबाट दिइएको होमवर्क पूरा गर्नु थियो । मैले माथिका कुरा मात्र लेखेर यी मेरो होमवर्क भनेर देखाएँ भने पक्कै पनि मेरा कापीमा रामबाबु सर अनि लक्ष्मण सरको रातो मसी लाग्थ्यो किनकि उहाँहरू रातो मसी लाउने आधिकारिक मान्छे हुनुहुन्छ । मेरो अपुरो कुरा देखेर घिमिरे सरले त्यसमा रातै मसीले लेख्नुहुन्थ्यो होला – “पूरा भएन कमल बाबु, फेरि लेखेर ल्याऊ ।”
लेखाइमा रातो मसी नलगाउने हुटहुटीले भाइ डि.एन.लाई लिएर म पुगेँ श्रीराम महतो भएठाउँमा । उहाँ पञ्चायतकालमा गाउँ पञ्चायतको अध्यक्ष रहनुभएको कुरा हाम्रो जानकारीमा थियो । हामी उहाँको निवासमा पुग्यौं । उहाँ लामो लौरो लिएर आँगनमा घाम ताप्दै गरेका हाँसका बथान र तोरीका बिस्कुनसँगै आफूलाई पनि भुलाउँदै हुनुहुँदो रहेछ । महतोले पुराना कुरा सुनाउनु भयो । हामीले त्यसलाई एउटा अलिखित जिउँदो इतिहास ठान्यौँ । उहाँ भन्दै हुनुहुन्थ्यो हामीसँग – “हामीहरू चारपाँच पुस्तादेखि यहीँ बसोबास गर्दै आएका छौँ । पहिला चितवनको सदरमुकाम उपरदाङगढीमा थियो । पछि झुवानीमा स¥यो । औंलोको निकै ठुलो प्रकोपले हामी थिलथिलो थियौं । पछि देबौलीमा बजार बस्यो । काठमाडौं, बनेपा र नालाबाट आएका नेवारहरूले पसल चलाएका थिए सुरूमा । उतिबेला यो चारकोसे झाडी हो । पहाडबाट व्यापारका लागि आउनेहरू औंलाको डरले बेलुका कङ्कालीतिर गएर बस्थे । यदि यहीँ बस्नै परे पनि राती छानामाथि गएर सुत्थे । हामीलाई पनि औलो लाग्थ्यो । उपचार गर्ने ठाउँ थिएन । धामीझाँक्रीको सहयोग लिनुको विकल्प थिएन ।”
हामीले लौरीघोलका विषयमा सोध्यौं महतोसँग पनि । उहाँले पनि उही रामबहादुर बि.क. ले नै सुनाउनु भएको किम्वदन्ती सुनाउनु भयो । तपाईले भोगेको लौरीघोल कस्तो थियो भन्ने हाम्रो सवालमा उहाँले भन्नुभयो – “अहिले शेषनाथ अधिकारीको घरभन्दा पूर्वतर्फ सिचाईका लागि बाँध बाँधिएको थियो । त्यो बाँधको पनि एउटा किस्सा छ – त्यो बाँध जति लगाए पनि पानीले भत्काउन थाल्यो । त्यतिबेला कोदालो प्रयोग गरेर बाँधमा माटो हालिन्थ्यो र बाँध बाँधिन्थ्यो । आजित भएपछि हातले बाँध लगाउन थालेपछि भत्कन छाडेको थियो । मानिसहरूले भने – फलामको कोदाला कोदालीको प्रयोग गर्दा देवी रिसाएकी हुन् भन्ने भनाइ पनि बन्यो । पहिला हाम्रो समुदाय (थारु) मा भोज भतेर हुँदा देवीसँग चाहिने भाँडाहरू माग्ने र काम सकिएपछि सफा गरेर देवीलाई नै फिर्ता दिने गरिन्थ्यो रे । एकपटक एकजनामा लोभ पलायो र भाँडाहरू देवीलाई फिर्ता गरेन रे । त्यसपछि देवी रिसाएर भाँडाहरू दिन छाड्नु भएको भन्ने भनाइ पनि छ । पछि त्यो बाँध माथि सरेको हो । यो कुलाबाट मात्रै असी हेक्टर जग्गामा सिञ्चाइ हुन्छ ।”
हामी चुम्बकिएर सुनिरह्यौँ, उहाँ (श्रीराम महतो) भनिरहनुभयो – “हामी लौरीघोलमा दाउरा खोज्न, खडाइ काट्न र खरहरू लिन जान्थ्यौं । त्यो सालघारी हो । त्यहाँ बाघ, भालु, गैंडा चित्तल लगायतका जङ्गली जनावरहरू प्रशस्तै थिए । हामी पहिलाको बाँधमा पूजा गथ्र्यौँ । कहिलेकाहीँ नुहाउन जाँदा पिना सहितको भाँडा भेट्थ्यौँ । त्यो कसले छाडेको हो हामीले कहिल्यै थाहा पाएनौँ । पटक पटक भेटिनुलाई दैवी शक्ति हो भन्ने हामीलाई लाग्थ्यो । लौरीघोल आसपास मढुवा चमार र लौरीवीर देई सासकहरूले राज्य गर्थे रे । उनीहरू निकै शक्तिशाली थिए रे । निकै झगडालु स्वभाव भएका दुबै शाससकहरूले कुस्ती खेल्ने अखडा पनि थियो रे त्यहाँ । त्यसको भग्नावशेष हामीले पनि देखेका थियौं । त्यो एकनाथ रानाभाटको घरभन्दा पूर्व उत्तरमा थियो । पुराना मान्छेलाई सोध्नुभयो भने उहाँहरूले देखाउनुहुन्छ त्यो ठाउँ । मूल भएको ठाउँमा धागामा ढुङ्गा बाँधेर छोड्दा जति धागो छोड्दा पनि अन्त्य नभएको कुरा हामीलाई पुराना बाजेहरूले बताउनु हुन्थ्यो । हामीले त त्यसरी नापेर हेरेनौँ । अहिले लौरघिोलको पानी निकै फोहोर हुन थाल्यो । आजकल त्यसमा मानिसहरूले ढल मिसाउन थालेका छन् । यसको संरक्षण गर्नुपर्छ । यो ऐतिहासिक ठाउँ भएकाले यसलाई सबैले ध्यान दिनुपर्छ ।”
+++ +++
“दाइ, तपाईंको होमवर्कमा जेठा दाइले सघाउँछन् ।” – भाइ डी.एन.ले भन्यो ।
मैले सोचेँ – हो त, नजिकको तीर्थ हेलाँ । उनलाई पनि त थाहा छ नि पुराना धेरै कुराहरू । म भाइले भनेका कुरातिर नै सोझिएँ ।
कृष्णबहादुर तामाङ जसलाई हामी जेठा दाइ भन्छौँ । जेठा दाइ पुरानो बासिन्दा हुन् लौरीघोलका । उनीसँग हामीले अन्तरङ्ग कुराकानी ग¥यौं । उनले लौरीघोलस्थित देवीमन्दिरको प्रसङ्गमा भने – “अहिले शिवराज अधिकारीको माछापोखरी भए ठाउँमा दुईवटा आँप र एउटा जामुनो हो कि के हो को गरी तीनवटा रूखहरू थिए । यसैको फेदमा नेवारहरूले पूजा गर्ने गर्दथे । ती आँपका बोटमा मजाले आँपहरू फल्थे । त्यसताका त्यहाँ बोका काट्थे कुखुरा काट्थे, खिर र रोटी बनाउँथे । हामी सानै थियौं । हामीलाई पनि प्रसाद खान दिन्थे । हामी साना भएकाले खुब रमाइलो हुन्थ्यो । पछि त्यो मन्दिरलाई अहिले मन्दिर भएको ठाउँमा भएको ऐलानी जग्गाको ढिस्कामा सारियो र त्यो पहिला पूजा गर्ने ठाउँमा पोखरी बन्यो । करिब २०४६ सालबाट यो मन्दिरलाई मैले समालेको हुँ । २०५१/५२ सालमा तारबार गराएको हो । नरेन्द्र पाठक रत्ननगर नगर समितिको अध्यक्ष बनेपछि उनैलाई गुहा¥यौँ । असी हजार रुपैंया पारिदिए । त्यही पैसाले अमिनी ल्याएर नाप जाँच गरी तारबार गराएको हुँ । निकै संघर्ष गर्नु परेको थियो त्यतिबेला । खुसी लाग्छ – अहिले भाइहरुले राम्रो काम गरिरहेका छन् ।”
हामीले उनलाई गुम्बाका विषयमा पनि सोध्यौं । हाम्रो प्रश्नको उत्तरमा भने – “वि.सं. २०४८ सालमा गुणराज पाठकको उपस्थितिमा म गुम्बाको अध्यक्ष भएको हुँ । उपाध्यक्षमा सिकारी बाजे थिए । गुम्बा स्थापना हुनुमा सिकारी बाजेको निकै ठुलो योगदान छ । उहाँ राई, लिम्बु थरका हुनुहुन्थ्यो । कुनै धार्मिक गुरूहरूको संगतले गर्दा उहाँमा यो स्थानमा गुम्बाको स्थापना गर्नुपर्छ भन्ने भावना बढ्न थाल्यो । मलाई सहयोग गर्ने र साथ दिने मान्छे पाए म जग्गा समेत दिने थिएँ भन्ने कुरा चाल पाएर मैले नै उहाँलाई म साथ दिन्छु भनेँ र साथ पनि दिएँ । उहाँले गुम्बाका लागि दुई कठ्ठा जग्गा दिनु भएको हो । पछि अरू जग्गा किनेर थपेका हौं । हामीले गुम्बाका लागि पनि निकै संघर्ष गरेका हौं ।”
जेठादाइ भनेर चिनिने कृष्णबहादुर तामाङ पुरानो बासिन्दा मात्रै होइनन् उनी यस भेगका अनुभवी ठेकदार पनि हुन् । उनलाई चिन्ने र चिनाउनेहरू ठेकदार जेठा भन्छन् । कतिपयलाई त उनी कृष्णबहादुर हुन् भन्ने पनि थाहा छैन । उनले नै पहिलो पटक यो भेगमा टेलिफोन ल्याएका हुन् । टेलिभिजन पनि उनका घरमा पहिला बजेका हुन् । यो बाटोमा पहिलोपटक मोटरसाइकल पनि उनकै गुडेका हुन् । उतिबेला उनले आफूलाई उदाहरणीय पात्रका रूपमा उपस्थिति जनाएका थिए । मलाई लाग्छ – चाउचाउ फ्याक्ट्री, शहीद स्मृति बहुमुखी क्याम्पस (भित्रका केही भवन) र रत्ननगर हस्पिटल पनि उनले नै बनाएका हुन् ।
+++ +++
मलाई मेरो होमवर्कले रन्थन्याउँदै थियो । म मेरो होमवर्कलाई सघाउने पात्र खोजिरहेँ । यसमा अर्का उपयुक्त पात्र होमनाथ पनि हुन सक्छन् भन्ने लाग्यो । होमनाथ भनेका उनै होमनाथ रानाभाट । हाल र.न.पा. – १४ का वडाअध्यक्ष समेत रहेका रानाभाट एकनाथ रानाभाटका सहोदर भाइ हुन् । उनीसँग पनि हामीले उही र उस्तै खाले प्रश्न ग¥यौं – लौरीघोलको उत्पत्ति र आसपासको मठमन्दिरका विषयमा । लौरीघोलको उत्पतिका विषयमा उनले पनि उस्तै खाले कहानी सुनाए ।
रानाभाट भन्दै थिए – हामीले चाल पाउँदा यहाँ निकै डरलाग्दो जंगल थियो । सालका रूखहरू लाइनमा थिए । लाइन मिलाएर रोपेजस्ता । काटिएका ठुटाहरू पनि लाइनमा थिए । क्रमबद्ध थियो, भद्रगोल तरिकाका थिएनन् । समीको बोट नजिक, मूल भए भन्दा थोरै माथिबाट दुम्सीले खोलेर निकै धेरै माथिसम्म पुगेको थियो पछि बाटो र वस्तीको विकाससँगै दुम्सी आतङ्क बन्द भएको हो । उनले लौरीघोल मन्दिर र बागदेवी मन्दिरका विषयमा यस्तो कुरा सुनाए – हाम्री आमा एकताका निकै ठुलो बिरामी पर्नुभयो रे । मलाई चाहिँ थाहा छैन । यो २०२१/०२२ साल तिरको कुरा हो रे । बाले हामीलाई सुनाउनु भएको । त्यो कुनाघारी भन्ने ठाउँमा निकै सिपालु झाँक्रीले हात हेराउँछन् भनेर बा र आमा जानु भएछ । धामीले घरभन्दा पश्चिम दुध आउनेको रूखको फेदमा शक्तिशाली देवी छिन् । म तपाईकै घर गएर जोखा हेर्नुपर्छ । प¥यो भने धामीले नै पूजाआजा गर्नुपर्छ, ढ्याङ्ग्रो ठटाउनु पर्छ । घरमा आएर धामी बस्दा उसले कामेर भनेछ – “घरभन्दा पश्चिम जानुहोस् दुध आउनेको फेदमा लहराले घेरिएको झ्याङभित्र एउटा शक्तिशाली देवीको भग्नावशेष छ । त्यहाँ गई पूजाआजा ग¥यो भने विसो हुन्छ ।” उनले भने बमोजिम झाडीहरू फाँड्दै जाँदा अविर लागेका ढुङ्गाहरू भुइँमा लडेको मौलो (छाम्दा फ्यास फ्यास जाने मक्किसकेको) तामाका पूरा दियो माटोको पोलेको मूर्तिहरू सिंह, घोडा, बाघ हात्तीहरुका मूर्ति लगायत इट्टाहरू पनि भेट्नु भयो रे । त्यही मन्दिरमा अक्षता र फूल चढाए पछि आमालाई निको भएको थियो रे ।”
रानाभाट भन्दै गए – “घरभन्दा पछाडि हाम्रो एउटा गोठ थियो । गोठ उत्तर दक्षिण फैलिएको थियो । त्यतिबेला हामीले धेरै भैंसीहरू पालेका थियौं । शनिवार शनिवार त्यो गोठमा एउटा भैंसी मथ्र्यो । शरीरमा सियाले घोचेजस्तै राताराता बिबिरा देखिन्थे । त्यो मरेको भैंसीमा फेरी त्यही झाँक्रीलाई देखाउँदा भनेछन् – त्यही बाटो गरेर देवीको रथ हिँड्छ । रथ हिँड्ने बाटो छलेर गोठ बनाउनु होला । देवी हिँड्ने बाटो परेको भएर भैंसी मरेको हो । पछि हामीले गोठ सा¥यौं, भैंसी पनि मर्न छाड्यो ।”
हामीले त्यस ठाउँमा अकबरी मुद्रा भेटिएका कुराहरू पनि कताकता सुनेका थियौँ । प्रसंग उठान ग¥यौं र भन्यौँ – “के हुन् यी कुराहरू ? तपाईंका जानकारीमा यी कुरा छन् त ?”
उनले अकबरी मुद्राका विषयमा यसो भने – “बुबालाई एकरात सपनामा चाँदीको जस्तो टलक्क टल्कने सर्पले मलाई तीनवटा भोग दिनुपर्छ भन्दै दर्शन दिएको थियो अरे । बुबाले सपनामै सोध्नु भएछ – के को भोग दिनु ? नागसँग संवाद भइरहँदा आमाले बुबालाई उठाउनु भएछ । सपना पूरा नदेख्दै ब्युझनु परेका कारण के को भोग दिने, कसरी दिने भन्ने कुराहरू अधुरो भएको थियो । ब्युँझने बेलामा त्यो नाग ऋषिको भेषमा थे अरे । त्यो कुरामा मन खड्की रह्यो रे बुबाको । एक पटक गाइगोठदेखि बाटोसम्म दुबैतर्फ बार लगाउने क्रममा बुबाले खाँबो गाड्न खाल्टो खन्दा भाँडाको लक्की पैसा भेट्नु भएछ । त्यो कुरा मलाई पनि धुर्मैलो थाहा छ । नौवटा लक्की (खात मिलाएर राखेको) पैसा थालमा हालेर पखाल्दा पिट पिट भाँचिएको थियो । बुबालाई त्यो तीनवट भोग दिनु भनेर नाग देवताले भनेको कुरा बल्ल याद आएछ । घरमा काम गर्ने थिङ कान्छालाई अरु खाल्टाहरू पनि खन्न लगाउनु भयो । खन्ने क्रममा एउटा भुड्को भेटिएको थियो । त्यो भुँड्कामा सुनै सुन थियो । त्यो सुन महिलाहरूले कानमा लगाउने रिङ जस्तो थियो । रिङको भित्र खोक्रो थिएन । खँदिलो थियो । त्यो सुन जम्मा साँढे आठ तोला थियो । ३०० रुपैंया होकि २८० रुपैंया प्रति तोला बिक्री गरेको हो । सुनको भुड्को भेटिएपछि फेरी बाले अर्को खाल्टो खन्न लगाउनु भयो । अर्को खाल्टो खन्दा एउटा ठुलो भुड्कामा चाँदीका सेता सिक्काहरू टन्न थिए । त्यो भुड्कामा जम्मा ४०० वटा सिक्काहरू थिए । आमा बिरामी हुनुहुन्थ्यो । हामीले त्यो चाँदीको सिक्का बेच्न सकेनौं । कसैले नकिनेपछि सुनारलाई घरमा बोलाएर त्यो चाँदी गालेर बल्ल बेचेका हौँ । त्यो सिक्कामा उर्दू अक्षरहरू लेखिएका थिए । त्यो चाँदी हामीले नौ रूपैंया तोलामा बेचेका हौं । त्यतिबेला चाँदीको भाउ बढेको थियो रे । सुन पाएको फाप्दो रहनेछ । त्यो सुन र चाँदी बेचेर पनि आमाको उपचार गर्न पुगेन । हामीले त्यतिबेला बिऊ राखेको तोरी बेचेर पनि आमाको उपचार गरेको हो । त्यतिबेला एक बिगाहा जग्गाको ५/६ सय रुपैंया पथ्र्यो । आमाको उपचार गर्न ३५ सय रुपैंया लागेको थियो । मानबहादुरहरूले चरेस थालहरू भेट्नु भएको थियो रे ।” यसै प्रसंगमा सँगै भएका शान्तमणि अधिकारीले थपे – “चक्कुहरू त हामीले पनि भेटेका हौं । तर काम लाग्ने अवस्थाका थिएनन् ।”
यी सबै कुराहरूले यहाँ पहिले निकै ठुलो वस्ती थियो भन्ने बुझाउँछ ।
अझै होमनाथ रानाभाटले अर्को रमाइलो प्रसङ्ग सुनाउँदै भने – “मैले त्यतिबेला फेला परेको आँपको अचार खाएको छु ।” कुराको रोचकता बढ्दै थियो । रानाभाटले यही कुरालाई पुष्टि गर्ने प्रसङ्ग थप्दै भने – “करिब २०२६/२७ साल तिरको कुरा हो । विष्णुबहादुर मानन्धरको १९ बिगाहा जग्गा थियो । त्यही जग्गालाई सिंचाई गर्नका लागि पोखरी खन्ने, क्रममा पुरानो ढिकी र सिलौटो भेटिएको थियो । भुड्को परालको जस्तो लुँडोले बेरिएको थियो । त्यो भुड्कामा सुन छ कि भनेर मान्छेहरू घेरा हालेर बसे । त्यो भुड्को बिस्तारै खोल्दा त्यहाँ त आँपको अचार रहेछ । तेलमा डुबेका आँपको अचार त्यहाँ जम्मा हुनेहरुले एक एक चोक्टा चाखेका थियौं । आँपको अचार केही नहुने रहेछ ।”
होमनाथले सुनाएका प्रसङ्गहरूले लौरीघोल र आसपासको एउटा इतिहास बोलिरहेको थियो । उनको घरै नजिक एउटा मन्दिर छ । त्यो मन्दिरको पनि कथा छ होमनाथसँग । मन्दिरकै सन्दर्भमा उनी भन्दै गए – “अहिले लौरीघोल बाघेश्वरी मन्दिर भएको ठाउँमा एउटा बाघ थियो । त्यो बाघले एउटा गोरू मा¥यो । पछि त्यसले दुईवटा डमरू जन्मायो । पानी लिन जाँदा बाले धेरै पटक डमरूहरू खेलिरहेको भेट्नु भएको थियो रे । पानी लिन त्यही लौरीघोलको मुहानमा जानु पथ्र्यो । पछि बाघको एउटा डमरूले मान्छेलाई झम्टेपछि गोली हानेर मारिदिएको रे । बाघलाई पनि मारेका रे । त्यो अर्को डमरू ठुलो भयो । केही समयसम्म देखियो र हरायो । पुरानो मन्दिरको भग्नावशेष भएको ठाउँमा बाघ बस्ने गरेको र धेरै धामी झाँक्रीहरूले पनि म बागेश्वरी देवी हुँ भनेर काम्ने गरेकाले २०७३ सालतिर मन्दिरको नाम लौरीघोल बागेश्वरी राखिएको हो । यो मन्दिरको इतिहास निकै पुरानो छ । एकताका एकनाथ दाजुले यहाँको एउटा इट्टा लिएर पुरातात्विक विभागमा जानु भयो र छाडेर आउनुभयो । केही समयपछि चेक जाँच हुँदा त्यो इट्टा गोर्खा कालिका मन्दिरमा प्रयोग भए जस्तै रहेछ । वि.सं. १६०० सालमा बनेको गोर्खा कालिका मन्दिरमा प्रयोग भएको ईट्टा र यो मन्दिरमा प्रयोग भएको इट्टा एकै हुनुले यो मन्दिर निकै पुरानो भएको भन्ने थाहा हुन्छ । निकै पुरानो भएकाले पुरातात्विक विभागबाट मान्छेहरूआएर केही भाग नचालउनु भनेर गएका हुन् । हामीले त्यो ठाउँलाई कम्पाउण्ड गरेर राखेका छौं । यसको आधारमा पनि यो लौरीघोल बागेश्वरी मन्दिर निकै शक्तिशाली देवीको मन्दिर हो । भक्तजनहरू निकै ठुलो आस्थाले यो मन्दिरमा पूजाआराधाना गर्छन् । यो मन्दिरको निर्माण कार्य अझै भइरहेको छ ।”
कुराकानीको बीट मार्ने तरखर हुँदै गर्दा होमनाथले भने – “अहिले लौरीघोलको संरक्षण छैन । निकै दुःख लाग्छ । लौरीताल बनाउन पाए यो ठाउँको मुहार फेरिने थियो ।”
+++ +++
हामीले धेरै अघिदेखि यस आसपास बसोबास गर्दै आएका शेषनाथ अधिकारीलाई पनि यो विषयमा सोध्यौँ । शेषनाथ अधिकारी (वरिष्ठ राजनीतिज्ञ/पूर्व शिक्षा राज्यमन्त्री) ले धेरै कुरा भने किनकि उनीसँग यो ठाउँका विषयमा धेरै जानकारीहरू छन् । उनीसँगका कुराकानीका सिलसिलामा राप्ती दून, थारु आदिवासी र तिनका सङ्घर्ष, औलो र २०२२ तिरका हैजाका प्रकोप, उपरदाङगढीदेखि टाँडी बजारसम्मका कुराहरू आएका छन् । लौरीघोलको उत्पत्ति र वरपरका मन्दिरका कुराहरू पनि उनले विस्तारपूर्वक नै हामीलाई सुनाए । उनीसँगका कुराकानीमा कतिपय कुराहरू पुरानै आए जुन अगाडि भनिएका प्रसङ्गहरुसँग मिले । मिलेका प्रसङ्गहरूलाई यहाँ पुनः दोहो¥याउनु उचित लागेन । उनीसँग भएका कुराकानीमा हाम्रो विषयभन्दा फरक तर चितवन र यस क्षेत्रसँग सम्बन्धित धेरै कुराहरू छन् जसलाई अर्को सिङ्गो लेखमा नै उल्लेख गरौँला । यहाँ मैले उनीसँगबाट आएका केही प्रसङ्गलाई मात्र यहाँ उल्लेख गरेको छु ।
राजनीतिज्ञ शेषनाथ अधिकारीले लौरीघोललाई यसरी सम्झे – “अहिले विद्युत अफिसतिर जाने बाटाको पुल भए ठाउँमा हाम्रो माछा पोखरीको गेट थियो । त्यहाँबाट गेट लगाएर रानाभाटहरुको सिमानासम्म एउटा ठुलो माछा पोखरी थियो । अहिले गजेन्द्रको (अधिकारीका भतिज) घर भएतिर पनि पोखरी थियो । त्यो सगोलको पोखरीलाई पछि दाजुभाइ छुट्टाभिन्ना हुँदा आआफ्नो बनाएको हो । पानी जमिनमा रिचार्ज हुनुपर्छ । आजकाल बाटाघाटाहरू पिच भए । नालाहरू बने । ठाउँठाउँमा घरहरू बने । जमिनको पानी जमिनमै रिचार्ज भएन भने पानीका मुहानहरू सुक्ने खतरा हुन्छ । पछि यो लौरीघोल पनि सुक्ने खतरा छ । यहाँ ताल बन्यो भने पानी जमिनमा रिचार्ज हुन्छ र यहाँका पानीका स्रोतहरू सुक्ने छैन । तालका कारण आसपासका वस्तीहरूको मुहार फेरिन्छ । अझै पनि केही व्यक्तिहरू यो तालका विरूद्धमा छन् । यहाँ ताल बन्नु पूर्वी चितवनवासीकै गौरवको कुरा हो । जग्गाधनीलाई आवश्यक मुआब्जा दिएर ताल बनाउनु पर्छ ।”
+++ +++
एकराज अधिकारी पनि धेरै अघिदेखि नै यस ठाउँमा बसोबास गर्दै आएका हुन् । उनले पनि हामीले सुनेका पुरानै कुराहरू दोहो¥याए । दोहोरिएका कुराहरूलाई यहाँ पुनः उल्लेख गरिएन । उनले थप कुरा के भने भने – “अहिले तिमीहरूको घर भएठाउँमा पानीको पोखरी थियो यहाँ भएका मूलबाट निस्केको पानीलाई कुलो खनेर अहिले हस्पिटल भएभन्दा दक्षिणपूर्व आफ्नै घरसँगै पुष्पराज सुवेदलीले (सुवेदी अधिकारीका भिनाजु हुनुहुन्छ) पानीघट्ट राख्नु भएको थियो । पछि अहिले जलदेवी मन्दिर भएको ठाउँभन्दा थोरै तलबाट कुलो खनेर पानी ल्याउनुभयो र घट्ट चलाउनुभयो । त्यसबेला उहाँले पानीबाटै धान कुट्ने मिल पनि राख्नु भएको थियो । तर त्यो त्यति सफल भएन । बढी बियाँ बस्यो । हामीहरूसबै मकै र गहूँ पिस्न त्यहीँ लान्थ्यौं । पछि बन्द भयो । एकपटक जरायो आएर घोलमा गाडियो हामीले हिलोबाट निकालेर घरमा राख्यौँ । पछि वनका कर्मचारीलाई बुझायौं । बाघसँग पटक पटक जम्काभेट हुन्थ्यो यहाँ । यो आसपास जताततै मान्छेहरू गाड्दा रहेछन् । यो कुरो निकै अघिदेखिको हुनुपर्छ । मैले कतिपटक बारी बिराउँदा मान्छेको हड्डीहरू डिलमा चाङ लाएको छु । मान्छेका कपाल जस्ताको तस्तै भेटेको छु । अहिले पोखरी भएका ठाउँमा नेवारहरूले पूजाआजा गर्थे । त्यही मन्दिरलाई माथि सारिएको हो । त्यहाँ दुईवटा आँप र एउटा टुनीको रूख थियो । टुनीको रूखमुनि शिवजीको पूजा हुन्थ्यो । आँपको फेदमा देवीको पूजा हुन्थ्यो ।”
+++ +++
मलाई लाग्छ – यो ठाउँ पुरातत्त्वको खोजको विषय बन्नुपर्छ । तालको संरक्षणका लागि नगरपालिकाले नै आधिकारिक स्वामित्व लिनुपर्छ । ताल संरक्षण र यसलाई व्यवस्थित बनाउने प्रसङ्गहरू उठेका छन् । यो सेलाउनु हुन्न, मूर्तता प्राप्त गर्नुपर्छ । ताल निर्माण भयो भने यहाँको प्राकृतिक सम्पदा त जोगिन्छ नै अझ यसले रत्ननगरको सौन्दर्यवृद्धि र पर्यापर्यटनमा समेत एउटा बलियो आधार खडा गर्नेछ ।
अन्तमा, रामबाबु सर, मैले कनिकुथी एउटा होमवर्क त पूरा गरेँ । म ठान्छु – एउटा होमवर्क मात्र पूरा छैन लौरीघोलका विषयमा । यस्ता होमवर्कहरू धेरै गरिनुपर्छ । अब यसमा जेजति राताहरू लाग्लान् म त्यसलाई आगामी दिनका लागि मलाई प्राप्त भएको पूरक होमवर्कको अवसर ठान्नेछु ।
टिप्पणीहरू: