- भदौ ०१, २०८१
काठमाडाैं । यो प्रश्न धेरैको मनमा थियो । किनकी फिल्म बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीको कथामा तयार गरिएको छ । फिल्ममा उत्ताउलो वा भड्किलो दृश्य वा संवाद होला की ? भन्ने पनि हुनसक्छ। तर यसलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दियो । अर्थात् यो बालबालिकादेखि वृद्धसम्मले हेर्न मिल्छ । योसँगै फिल्म प्रति निर्माण भएको धेरैको सोचमा परिवर्तन आयो । फिल्म त परिवारका सबै सदस्य एकसाथ बसेर हेर्ने मिल्ने रहेछ भन्नेमा दर्शक विश्वस्त भए ।
फिल्मको सार्वजनिक ट्रेलर, पोस्टरलाई लिएर उब्जिएको प्रश्नहरू फिल्म हेर्ने दर्शकले नै समाधान गरेका छन् । फिल्म हेर्न हलमा एकै परिवारका तीन पुस्तानै एकसाथ देखिएका छन् । आमाले छोराछोरी लिएर आइरहेका छन् भने छोरीहरुले आमालाइ लिएर हल आएका छन् । उनीहरू जुन उत्साह बोकेर हल आएका छन्,सन्तुष्टीका साथ फर्किएका छन् । परिवारले नै भरोसा गरेका कारण अहिले फिल्मले प्राप्त गरेका शोहरू हाउसफुल छन् । विशेषत एकै परिवारका ५/७ देखि १७ जनासम्म सदस्यहरू फिल्म हेर्न हलमा पुगेका छन् ।
आमाको रुपमा स्वस्तिमा खड्काले गरेको अभिनय, आफ्नी छोरीलाई शिक्षा दिन गरेको सङ्घर्षलाई दर्शकले रुचाएका छन् । आफ्नो सन्तानका लागि आमाले जस्तो सुकै लडाई पनि लड्न सक्छिन् भन्ने तथ्यलाई फिल्मले प्रमाणित गरेको छ ।
फिल्ममा स्वस्तिमासँगै बालकलाकार समाइरा थापा, नकारात्मक (भिलेन) को भूमिकामा देखिएका रवीन्द्रसिंह बानियाँ, हैजाको पात्रमा देखिएका अभयराज बराल, डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीको पनि दर्शकले तारिफ गरेका छन् । हल भिजिटमा विशाललाई दर्शकले नारायणकै नामले बोलाउने गरेका छन् । फिल्ममा उनले निर्वाह गरेको पात्र जस्तै सुन्दर र सुशील व्यक्ति चाहेको भन्दै दर्शकले तारिफ गरिरहेका छन् ।
जेहेन्दार तथा सुशील भूमिकामा देखिएकी प्रशंसाको महारानीको पात्रलाई पनि दर्शकले माया दिएका छन् । फिल्म हेर्ने दर्शकले यी दुईको भूमिकालाई तारिफ गरेका छन् । फिल्म हेर्ने दर्शकले पूर्ण पारिवारिक फिल्म भएको भन्दै प्रसंशा गरेका छन् । म्याक्स दीपेश खत्रीको निर्माण तथा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको 'लालीबजार' लाई यम थापाले निर्देशन गरेका छन् ।
चौतर्फी विवाद र आलोचनाले घेरिएपनि स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’ को उत्साहजनक कमाइको गति रोकिएको छैन । पहिलो सप्ताहन्तभन्दा मध्यतिर अकुपेन्सी, शोज संख्या र कमाइमा बढोत्तरी देखिन्छ ।
निर्माता म्याक्स दिपेश खत्रीका अनुसार, फिल्मले प्रदर्शनको छैटौं दिन बुधबारसम्म देशब्यापी २ करोड ४० लाख रुपैयाँ ग्रस कमाइसकेको छ । यद्यपि, चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांक भने आउन बाँकी छ ।
‘चारैतिरको हमला र अवरोधपछि हाम्रो फिल्मले हलमा उत्कृष्ट कमाइ गरिरहेको छ । सुरुवातभन्दा पछिल्ला दिनमा दोब्बररुपमा कमाइ गरिरहेको छ’ निर्माता खत्रीले भने, ‘पहिलो विकेन्डभन्दा विकडेजमा पनि राम्रो छ । दर्शक बढ्ने क्रममा छन् ।’
१८८ शोजसहित देशब्यापी प्रदर्शनमा आएको फिल्मको विहिबारको शोज संख्या २५० हाराहारीमा रहेको निर्माता बताउँछन् । ‘दोस्रो सप्ताहन्तमा पनि राम्रो हुन्छ भन्ने आशा छ’ खत्री भन्छन्, ‘मैले २०० जनालाई सोधेँ हुँला, तीमध्ये २ जनाले कमजोर प्रतिक्रिया दिएपनि बाँकीले आँखाभरि आँसु भरेका छन् । फिल्म हेरे केटा मान्छे पनि रुन थाले ।’
शुक्रबार ९ देखि १० हजार दर्शकले फिल्म हेरेको खत्री बताउँछन् । दोस्रो दिन १६ हजार, मंगलबार १७ हजार र बुधबार २१ हजार जना दर्शकले फिल्म हेरेको उनले बताए । ‘दर्शकीय अकुपेन्सी बढ्ने क्रममा छ’ उनी सुनिए ।
‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । उनले स-परिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन-जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।
टिप्पणीहरू: