मङ्गलबार, ०८ मंसिर २०८३

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा


काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना  छन् ।

त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन् ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जनालाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिवानासहितको कारबाही गरिएको उनले बताए ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानीलाई तीव्रता दिँदै आएको छ ।

प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ ।

सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रुसहित सडक प्रयोग गर्ने सबैको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ