- भदौ ०५, २०८१
जपान। बुढेसकाल। जीवनको त्यो अवस्था हो, जहाँ शरीर थकित हुन्छ तर, मनमा अझै आशा बाँकी हुन्छ। त्यही आशाले बाँचिरहेको हुन्छ मान्छे। त्यो उमेर बितेको थकानभन्दा गहिरो हुन्छ। मनको एक्लोपन, आँखामा जमेको प्रतीक्षा र छातीभित्र कतै थुनिएको अभावको भारी। जब यही अवस्थाको यात्रा वृद्धाश्रमतर्फ मोडिन्छ, त्यो केवल एउटा भवनमा प्रवेश मात्र हुँदैन। त्यो त जीवनकै मूल थलोबाट विस्थापन हो।
सम्बन्धहरूको संसारबाट टाढिएको, आफ्नै आँगनबाट अलगिएको र आत्मीयताको अञ्चलबाट पारिएको एउटा पीडादायी बिन्दु हो। मानौँ, त्यो उमेर बितिसके पनि जीवनको कुनै गहिरो बिछोड बाँकी रहन्छ।
के साँच्चै समय यति बदलियो? हामी आफ्नै बाबाआमालाई ‘घर’ भन्ने शब्दबाट उचालेर कुनै संस्थाको जिम्मा लगाउने अवस्थामा पुगेका छौं। त्यो संस्था, जहाँ स्वास्थ्य सेवा समयमै पाउँछौँ, तर संवेदनाको गन्ध हराएको हुन्छ। जहाँ नियमित खाना छ तर सन्तानको बोलीमा मिठास हुँदैन।
साँचो कुरा के हो भने– यो केवल कुनै व्यक्तिको गल्ती होइन। यो बदलिँदो समाजको सच्चा प्रतिबिम्ब हो। हामी यस्तो समय र संस्कृतिमा बाँच्न थालेका छौं, जहाँ सम्बन्धहरूभन्दा सुविधा, स्नेहभन्दा समयको हिसाब–किताब ठूलो मानिन्छ। हामी बुबाआमाले गरेको स्नेह सम्झिन्छौं तर त्यो स्नेहको कर्तव्य बिर्सिन्छौं।
हो, सन्तानहरू विदेशिएका छन्। सहरका कोलाहलमा हराएका छन्। उनीहरू अस्तित्वको दौडमा छन् भन्ने बहाना त सधैं तयार हुन्छ, तर के साँच्चै नै समय छैन? कि हामीले प्राथमिकता फेर्यौं? के त्यो व्यस्तता साँच्चै यति अनन्त छ, जसले हप्तामा एकपटक ‘कस्तो हुनुहुन्छ’ भनेर सोध्ने समय पनि हुँदैन?
कसै–कसैका बाबाआमा आफैँ वृद्धाश्रम जान्छन्, मुस्कुराउँदै भन्छन्, ‘हामी त अब बोझ भयौं होला त।’ तर त्यो निर्णय स्वतन्त्रताको होइन, विवशताको उपज हो। उनीहरू बुझ्छन्, अब धेरै कुरा माग्नु हुँदैन। त्यसैले चुप लाग्छन्, मुस्कुराउने अभिनय गर्छन्। हाँस्दाहाँस्दै आँखा रसाउँछन्।
समाजले बुढेसकाललाई ‘सेवानिवृत्त जीवन’ भनेर परिभाषित गर्छ। वास्तवमा यो उमेर त हो, जहाँ मान्छेलाई अझ बढी आत्मीयताको आवश्यकता हुन्छ। अझ बढी मायाको टेको चाहिन्छ। उनीहरूलाई चाहिएको हुन्छ– छोराको हात समाउने साहस, बुहारीको सानो मुस्कान वा नाति–नातिनीको हाँसो। यी चीजहरू कुनै वृद्धाश्रमको भित्तामा टाँसिएका नियम–कानुनमा भेटिँदैनन्।
आज हामीसँग पैसा छ, तर समय छैन। हामी महङ्गा उपहार दिन सक्छौं तर आत्मीयता दिन सक्दैनौं। हामीले सबै कुरा स्मार्टफोनमा सुरक्षित राख्यौं। तर आमा–बाबाको हृदयमा आफूलाई सुरक्षित राख्न चुक्दैछौं। उनीहरू अझै पनि त्यो पुरानो झ्यालबाट टोलाउँछन्– छोरा कहिले आउला, कहिले फोन गर्ला? भनेर।
यहाँ प्रश्न उठ्छ– के साँच्चै हामीसँग एक घण्टा पनि छैन? एक कप चिया बाबाआमासँगै पिउने पल छैन? कि हामीले भुल्यौं– समय बित्नेछ तर सम्बन्धहरू कहिल्यै फिर्ता आउँदैनन्।
समाधान के हो?
हामीले पाएको स्नेह फेरि फर्काएर दिनुछ। जसरी उनीहरूले हाम्रो हात समाएर हामीलाई हिँड्न सिकाए, अहिले हाम्रो पालो हो। उनीहरूको बाँकी यात्रा सजिलो बनाउने। हाम्रो आजको व्यवहार हाम्रो नै भविष्य बन्नेछ। जुन व्यवहार हामी आज आफ्ना बाबाआमामाथि देखाउँछौं। त्यही व्यवहार एक दिन छाया बनेर फर्किनेछ।
यो केवल व्यक्तिगत जिम्मेवारी होइन, यो सामाजिक संरचनामा उठेको एउटा गहिरो प्रश्न हो। हामी कुन दिशातर्फ गइरहेका छौं, कहाँ हरायौं हामी? परिस्थितिलाई दोष दिन सजिलो हुन्छ। तर, धेरैजसो अवस्थामा हामी आफैंले आफ्ना अभिभावकलाई विकल्पमा बदलेका छौं, जो कहिल्यै विकल्प थिएनन्। उनीहरू त हाम्रा नदेखिने मूल थिए, तर जीवनलाई स्थिर बनाउने जरा थिए।
यदि हामीले चाह्यौं भने वृद्धाश्रमतर्फको यात्रा घटाउन सक्छौं। दिनको केही समय उनीहरूका लागि छुट्याउन सक्छौं। टाढा भए फोन गर्न सक्छौं, उनीहरूका मनको कुरा सुनिदिन सक्छौं। नाति–नातिनीका फोटो पठाउन सक्छौं। सानो प्रयास, सानो सम्झना, उनीहरूका लागि त्यो नै पर्व हुनेछ।
विद्यालयहरूमा, मिडियामा, नीति निर्माणमा, वृद्धको सम्मान तथा अधिकार र आत्मसम्मानबारे गम्भीर रूपमा विचार गरिनुपर्छ। राज्यले कानुनी ढाँचामा सुनिश्चित गर्नुपर्छ। कुनै सन्तानले आमाबाबालाई केवल संस्थामा सुम्पेर जिम्मेवारीबाट पन्छिन नपाओस्। समाजले एउटै स्वरमा भन्न सक्नुपर्छ– वृद्ध बोझ होइनन्, ती त जीवनका मूल आधार हुन्, जसको काँधमा हाम्रो इतिहास लेखिएको छ।
‘वृद्धाश्रम’ शब्दले हामीलाई भावुक बनाउँछ। तर त्यो भावुकता केवल कविताको पंक्तिमा सीमित रह्यो भने अर्थहिन हुन्छ। त्यो भावुकता व्यवहारमा झल्किनुपर्छ– एक कलमा, एक चिट्ठीमा वा एक बिहानको चियामा। बुढेसकालमा उनीहरू आँखाभरि आशा बोकेर स्नेह खोजिरहेका हुन्छन्– न कि बन्द ढोका। हामीले यो कुरा बुझ्न सकेनौं भने हामी केवल असल सन्तान मात्र होइन, असल मानिस बन्न सक्छौं।
उनीहरूले हामीलाई हिँड्न सिकाए– उनीहरूको बाँकी यात्रा सजिलो बनाउनका लागि अब हाम्रो पालो हो।
किनभने अन्ततः,
‘उनीहरू सधैं साथमा हुँदैनन्,
तर सधैं प्रतीक्षामा हुन्छन्।’
टिप्पणीहरू: