- भदौ ०२, २०८१
कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उनले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित हुनुभएका कलाकार घिमिरे केही समययता सर्वाधिक महँगा कलाकारका रुपमा चर्चामा आए । एकप्लेट मःम र ३० सेकेन्ड टेलिशृङ्खलामा देखिन दिनभर छायाङ्कन स्थलमा बस्नुपर्ने कलाकार घिमिरे अहिले निर्माता र निर्देशकको रोजाइमा पर्ने कलाकार बनिसकेका छन् ।
‘छक्का पञ्जा’ चलचित्रका शृङ्खलाबाट ठूलो पर्दामा स्थापित भएका कलाकार घिमिरेको ‘माग्ने राजा’ भदौ, ‘माइतीघर’ असोज र ‘जेरी अन टप’ कात्तिकमा प्रदर्शन हुँदैछ । व्यस्त कलाकार बनेर मनोरञ्जन दिइरहेका कलाकार घिमिरेको ‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने सपना अझै पूरा भएको छैन । “साइलेन्ट कमेडी चलचित्रमा काम गर्ने मेरो सपना छ, किनकी त्यसबाट विश्वलाई आफ्नो कलाकारिता देखाउन सकिन्छ । चलचित्रमा संवाद नभएपछि त्यो सबै भाषीका लागि हुन्छ । त्यसले मेरो कलाकारिता र नेपाली चलचित्रलाई विश्वमा पु-याउँछ भन्ने मलाई लाग्छ”, उनले भने । प्रस्तुत छ, कलाकार घिमिरेले ‘माग्ने बुढा’ हुँदै ‘माग्ने राजा’ सम्मको कलाकारिता यात्राको विषयमा राससका लागि नवीन पौडेल र भेषराज कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :
कलाकारितामा आफूलाई कसरी देख्नुभयो ?
म रेडियोमा काम गर्थे । त्यो समयमा ‘हिजो आजका कुरा’ टेलिशृङ्खला लोकप्रिय थियो । म त्यही सिलसिलामा विभिन्न कलाकारको अन्तर्वार्ता लिने गर्थें । उहाँहरूसँग कुराकानी गर्दागर्दै सामिप्यता बढ्यो । मलाई विस्तारै कलाकारिता गर्ने रहर जाग्यो । त्यसपछि मैले अग्रज कलाकारलाई अभिनय गर्ने इच्छा जाहेर गर्न थालें । अभिनय सिक्न सुझाव आएपछि मैले अभिनयमा त्यही अनुरुप अगाडि बढें । निर्देशक सन्तोष पन्तको घर अगाडि लाइन लागेर नै ‘अडिसन’ दिएको छु । त्यो भिडमा छानिएर अभिनय गर्न पाउनु मेरो भाग्य हो । नत्र त्यहाँ एकसे एक मान्छे थिए, जो कलाकार बन्न चाहन्थे । तर, म छानिएँ र कलाकारितामा पाइला अगाडि बढाउन सफल भएँ ।
सुरुआती दिनमा कस्तो काम पाउनुभयो ?
म आफैँ लेखक पनि भएकाले म लेख्न सक्छु भन्दै काम माग्थें । टेलीशृङ्खलामा तीस सेकेन्ड देखिन पाउँदा, एक दुई संवाद बोल्न पाउँदाको खुसीलाई शब्दमा व्यक्त गर्न सक्दिन । कमलादीमा एउटा अभिनय सिकाउने ठाउँ थियो । त्यहाँ अधिकांश कलाकार आउनुहुन्थ्यो, सोही क्रममा दीपक दाइ (दीपकराज गिरी), दमन दाइ (दमन रुपाखेती), जितु दाइ (जितु नेपाल)लगायतसँग राम्रो चिनजान भयो । त्यसपछि उहाँहरूलाई म कलाकारिता गर्छु भनेर काम माग्थें ।
‘माग्ने बुढा’ को नाम कसरी पाउनुभयो ?
अभिनय सिक्ने ठाउँमा चिनजान भएपछि दीपक दाइले ‘तीतो सत्य’ नामक टेलिशृङ्खला सुरू गर्नुभयो । त्यो लोकप्रिय हुँदा पनि मैले चाहेजस्तो लामो भूमिका पाएको थिइन । म लेख्न सक्छु भनेर ‘प्रेसर’ दिन्थें । तर, नयाँ कलाकारको रहर र निर्देशकको बाध्यता अहिले बुझ्न थालेको छु । ‘तीतो सत्य’ मा अभिनयको भोख नमेटिएपछि ‘जिरे खुर्सानी’ टेलिशृङ्खलासँग जोडिएँ । ‘तीतो सत्य’ सुरु भएको एक वर्षपछि सुरु भएको ‘जिरे खुर्सानी’ मा म व्यस्थापकको रुपमा जोडिएँ । अभिनय पनि गर्थे र अन्य सबै कममा सहयोग गर्थे । टेलिशृङ्खला लोकप्रिय भएपछि नयाँ र स्थापित कलाकार थपिन थाले फेरि मैले आफूले चाहे जस्ती अवसर पाउन सकिन ।
सोही टेलिशृङ्खलामा दमन दाइ र सीतारामजी (सीताराम कट्टेल) सँग सल्लाह भएपछि एउटा छुट्टै टेलिशृङ्खला तयार गर्न जुट्यौँ । सुरुमा हामीले ‘ढिकी च्याउँ’ नामक ३५ मिनेटको ‘डमी एपिसोड’ बनायौँ । त्यो प्रसारण भएन तर त्यसमा मैले निर्वाह गरेको ‘माग्ने बुढा’ को पात्रलाई ‘मेरी बासै’ मा ल्यायौँ किनकी त्यो पात्रलाई सबैले रुचाउनुभएको थियो ।
‘माग्ने बुढा’ किन सहजै दर्शकसँग जोडिए ?
‘मेरी बासै’ सुरु गर्दा हामीले सहरकै कथा देखायौँ । सोही कारण सुरुआतका चार भाग दर्शकले हेरेनन् । टेलिशृङ्खला नै बन्द गर्ने भन्ने सल्लाह हुँदा गाउँमा ‘ट्राइ’ गरौँ भनेर नयाँ तरिकाले सुरुआत ग-यौँ । म लगायतका साथीहरू गाउँमा हुर्किएकाले हामीले गाउँको कथालाई राम्रोसँग प्रस्तुत गर्न सक्यौंँ । ‘माग्ने बुढा’ लाई पनि आवरणसँगै बुढ्यौली बानी, व्यवहार दियौँ । आइरहेका पात्रभन्दा भिन्न भएकाले त्यसलाई दर्शकले आफूसँग नजिक ठान्नुभयो । त्यो बेला एउटा प्रयोग नै गरेको हो । किनकी मेरो उमेरअनुसार म बुढा थिइन, तर बोली र आवरणले मलाई ‘माग्ने बुढा’ मा स्थापित ग-यो । किनकी दर्शकको जीवनसँग म जोडिएँ । अहिले पनि मलाई ‘माग्ने’ भनेर बोलाउनुहुन्छ, खुसी लाग्छ ।
‘तीतो सत्य’ मा अभिनयको भोख नमेटिएपछि ‘जिरे खुर्सानी’ टेलिशृङ्खलासँग जोडिएँ । ‘तीतो सत्य’ सुरु भएको एक वर्षपछि सुरु भएको ‘जिरे खुर्सानी’ मा म व्यस्थापकको रुपमा जोडिएँ ।
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सँग तपाइँ ‘केसी’ जोडी भएर धेरै काम गर्नुभयो । पछि यो जोडी किन अलग भयो ?
कलाकार कट्टेलसँग मैले सुरुआती सङ्घर्ष गरेको छु । उहाँसँग अहिले पनि मेरो सुमधुर सम्बन्ध नै छ । हामीले काम गर्दा सानातिना मनमुटाव हुनु सामान्य नै हो, तर त्यही कारणले हामी अलग भएका हौँ भन्ने भाष्य गलत हो । कलाकार कट्टेल कलाकारिता छाडेर समाज सेवामा सक्रिय भएपछि हाम्रो जोडी फरकफरक रुपमा काम गर्न थालेका हौँ । त्यसपछि म कलाकार विल्सन विक्रम राईसँग ‘स्टेज कार्यक्रम’ मा देखिन थालें । तर, मैले कलाकार राईसँग जोडी बाँधेको थिइन । मेरो जोडी कलाकार कट्टेल नै हुनुहुन्थ्यो । हामी हाँस्य कलाकार एउटा परिवार जस्तै छौँ, हौँ । परिवारमा मनमुटाव कसको हुँदैन र ? तर, त्यही कारण विभाजित भइँदैन नि ।
टेलिशृङ्खलाबाट चलचित्रमा आउने सोच कसरी आयो ?
नेपाल टेलिभिजनमा ‘तीतो सत्य’, ‘जीरे खुर्सानी’ र ‘मेरी बास्सै’ निकै लोकप्रिय भयो । तर, कुनै समयमा बन्द हुने, फेरि सुरू हुने पनि भयो । त्यस्तो हुँदा कलाकार दीपकराज गिरीले हाम्रो समूह मिलेर चलचित्रमा काम गरौँ भनें प्रस्ताव ल्याउनुभयो । टेलीशृङ्खलामा आइरहेको उतारचढावले हामी सबैलाई चलचित्रमा पाइला टेक्न प्रेरित ग-यो । हामी कलाकार गिरीको प्रस्तावमा सहमत भएर चलचित्रमा भित्रिएका हौँ ।
सुरुआती समयमा एकसाथ देखिनुभएका हास्य कलाकार विस्तारै छुट्टिनुभयो नि ?
सबै चलचित्रमा सबै पात्र उपयुक्त नहुन पनि सक्छ होला । सुरुआतसँगै गरेका हौँ, अहिले पनि सँगै काम गर्न असहमति छैन । सबैको आ–आफ्नो विचार हुनसक्छ, तर हामी अहिले पनि सबै चलचित्रमै काम गरिरहेका छौँ । हामी किन निरन्तरसँगै भएनौँ भन्ने जवाफ सायद मसँग पनि छैन ।
तपाई पनि विस्तारै बाहिर काम गर्दै हुनहुन्छ नि ?
पछिल्लो चलचित्र ‘छक्का पञ्जा ५’ सम्म म सँगै छु । अबको त्यसपछि दुई/तीन वर्ष ‘छक्का पञ्जा’ नल्याउने सल्लाह भएपछि म बाहिरको चलचित्रमा व्यस्त भएको हुँ । पहिला मैले धेरै चलचित्रकर्मीलाई ‘नो’ भनेको थिएँ । अहिले भने आफूलाई सुहाउँदो कथावस्तु र भरपर्दो निर्माण समूहसँग काम गरिरहेको छु । तर, म ‘छक्का पञ्जा’ समूहसँग छुटिएको भन्ने होइन, उक्त परिवारको सदस्यका रुपमा सधैँ रहिरहने छु । बाहिर काम गर्दा पनि म सल्लाह गरेर नै आएको हुँ ।
बाहिर काम गर्ने सिलसिलामा ‘माग्ने राजा’ नै किन रोज्नुभयो ?
यो पात्र मसँग जोडिएको छ । मलाई नै हरेर तयार गरिएको जस्तो छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हाँस्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ । यो एउटा आमनागरिकको कथा हो । एउटा नागरिकले आफूलाई राजा ठानेर गर्ने गतिविधिलाई चलचित्रमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिए तापनि यसले एउटा महत्वपूर्ण शिक्षा पनि दिन्छ ।
तपाई लेखक पनि भएकाले चलचित्र निर्देशन गर्ने तयारी छैन ?
मैले कलाकारिता सुरु गर्दादेखि नै लेख्ने गर्थें । अहिले पनि लेखनलाई छाडेको छैन । मैले चलचित्र निर्देशन गर्ने सोच बनाएर केही कथा पनि लेख्ने प्रयास गरें । दुई÷ तीन वटा कथा लेखें पनि तर त्यसलाई पूरा गर्न सकिन । त्यही सिलसिलामा बाहिरका चलचित्रका प्रस्ताव आउन थाले । व्यस्त भएकाले मैले चलचित्र लेख्नलाई पूर्णता दिन सकेको छैन । त्यसकारण निर्देशन गर्ने समय पाएको छैन । तर मेरो सोच चलचित्र निर्देशन गर्ने छ । भविष्यमा निर्देशक बन्छु ।
गाईजात्रामा नदेखिनुभएको लामो समय भयो । प्रहसन गरौँ जस्तो लाग्दैन ?
लाग्छ नि । हामी हाँस्य कलाकारको ठूलो पर्व हो गाईजात्रा । त्यहाँ मञ्चमा उभिएर अगाडि रहेका दर्शकलाई खुसी बनाउनुको आनन्द बेग्लै छ । तर, पछिल्लो केही वर्षयता चलचित्रमा व्यस्त भएकाले समय निकाल्न सकेको छैन । चलचित्रमा जोडिएपछि अभिनयसँगै प्रचार र प्रदर्शनपछि पनि काम गर्नुपर्छ । त्यसकारण समय मिलाउन नसकेर नै हो । नत्र गाईजात्रामा प्रस्तुत हुने रहर नहुने हाँस्य कलाकार सायदै होलान् । मैले धेरै ‘मिस’ गर्छु । तर, आफ्ना जिम्मेवारी र दायित्वले गर्दा म गाईजात्रामा छैन । समय मिलेमा भविष्यमा फर्किनेछु ।
हाँस्य कलाकार बन्न चाहनेका लागि अहिलेको समय कस्तो छ ?
अहिलेको युग, डिजिटल र प्रविधिमैत्री हो । त्यसकारण अवसर सिर्जना गरेसँगै कडा प्रतिस्पर्धाको चुनौती दिएको छ । मैले कलाकारिता सुरुआत गर्दा एउटा टेलीशृङ्खला वा गाईजात्रामा देखिदा सबैले चिन्थे । अवसर पाउन निकै मेहनत गर्नु पथ्र्यो । तर, अहिले पाएको अवसरमा आफूलाई अब्बल सावित गर्न मेहनत गर्नुपर्छ । यो राम्रो पनि हो । अहिले हाम्रो काम विश्वव्यापी भएको छ । यसकारण पनि मेहनत गर्नुको विकल्प छैन ।
भविष्यमा राजनीति गर्ने सोच छ कि ?
छैन । म कलाकार हुँ, सबैको भएर आफ्नो कलाकारिता गर्न चाहन्छु । मेरो धर्म सबैलाई मनोरञ्जन प्रदान गर्नु हो, त्यही गर्न चाहन्छु । राजनीतिको प्रस्ताव घुमाउरो रुपमा नआएका होइनन् तर, म कलाकार हुँ, म राजनीतिसँग टाढा नै बस्न रुचाउँछु । मलाई राजनीतिमा कहिले पनि देख्नु हुनेछैन । म नेपाली नागरिक र कलाकार भएर नै रहन्छु ।
म यतिकै बस्न सक्दिन, त्यसैले मैले सिर्जनात्मक काममा आफूलाई व्यस्त बनाउँछु । त्यसले मेरो ज्ञानलाई बढाउनुका साथै सकारात्मक सोचलाई बढाउँछ ।
खाली समयलाई कसरी सदुपयोग गर्नुहुन्छ ?
म सिर्जनात्मक काम नै गर्छु । केही लेख्ने काममै व्यस्त हुन्छु । म यतिकै बस्न सक्दिन, त्यसैले मैले सिर्जनात्मक काममा आफूलाई व्यस्त बनाउँछु । त्यसले मेरो ज्ञानलाई बढाउनुका साथै सकारात्मक सोचलाई बढाउँछ । अहिले सामाजिक सञ्जालकै उदाहरण लिन सकिन्छ । त्यसले स्थानीय पर्यटकीय स्थल प्रवद्र्धनदेखि विभिन्न सहयोग जुटाउने महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । तर, त्यही समाजिक सञ्जाललाई केहीले नकारात्मकता फैलाउन पनि प्रयोग गरेका छन् । त्यसैले हामी सकारात्मक सोचका साथ सकारात्मकता फैलाउनु पर्छ र सिर्जनशील हुनुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईले सङ्घर्षबाट प्राप्त गर्नुभएको सफलताले के सिकायो ?
आफ्नो लक्ष्यप्राप्त गर्न निरन्तरता आवश्यक छ । अहिले गरेको कामको अहिले नै नतिजा आउँछ भन्ने छैन । आफ्नो अस्तित्वलाई स्वीकारेर खुसी बन्नसके आफ्नो गन्तव्यमा अवश्य पुगिन्छ । जस्तै म आउँदै गरेको तीजलाई दिदीबहिनीहरूले धुमधामका साथ मनाउनुहुन्छ । पछिल्लो समय देखासिखीमा केही भड्किलो भएको पनि सुनिन्छ । पर्वले हाम्रो परिवारबीचको सामिप्यता बढाउँछ, हाम्रो कला, संस्कृति र संस्कारलाई दर्साउँछ ।
तर, हामीले यसको परम्परागत मान्यता छाडेर भड्किलो मनाउन खोज्दा यसले हामी, परिवार वा समाजलाई समेत असर गरिरहेको छ । हामीले खुसी खोज्न अन्त जानै पर्दैन, आफैँमा हुन्छ । आफूलाई चिनेर कर्म गरे, त्यसले सफलतामा अवश्य पु¥याउँछ । म एउटा साधारण मान्छे मेहनत गरेर यहाँ आएको छु, अझैँ मेहनत गरिरहेको छु । त्यसैले हामीले कर्म गर्न छाड्न हुँदैन ।
टिप्पणीहरू: