- असार ०७, २०८०
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन सफल भएकी छिन् ।
कलेज सञ्चालक समिति सदस्य समेत रहेकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ परियोजनामा छनौट भएकी हुन् ।
यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नेछन् भने, प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रुपमा काम गर्नेछन् ।
एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठी नेपालमा सरसफाई प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको व्यवसाय विस्तारमा नेतृत्व गर्नेछन् । परियोजनाले सरसफाई प्रविधिहरुको विस्तृत रुपमा योजनाबद्ध रिपोर्ट तयार गर्ने र तिनीहरुको बजारीकरण विस्तारको रणनीति बनाउने छ ।
यस परियोजनाले विद्यार्थीहरू र सरसफाई क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । प्राध्यापक त्रिपाठी कलेजको विज्ञान तथा मानविकी संकायमा कार्यरत छिन् ।
टिप्पणीहरू: