- भदौ ०१, २०८१
काठमाडौँ । अभिनेता विपिन कार्कीले चलचित्र ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाका विषयमा नभई विशुद्ध प्रेमकथामा आधारित रहेको बताएका छन् ।
सो चलचित्रका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै अभिनेता कार्कीले ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने प्रेमकथानक चलचित्र ‘काजी’ यही जेठ ८ गते प्रदर्शन हुने बताए । पशुपतिप्रसाद, प्रसाद, लुटलगायतका चलचित्रमा अभिनय गरेको स्मरण गर्दै उनले प्रेम कथामा आधारित ‘काजी’ चलचित्रले विशेषगरी युवा पुस्ताको मन जित्ने विश्वास व्यक्त गरे ।
अभिनेता कार्कीले भने, “हामीले चलचित्रमा प्रस्तुत गरेको पात्र मायालु काजी हो । प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको निःस्वार्थ प्रेमको कथा हो । नयाँ पुस्तालाई काजीले प्रेमको महत्व, समर्पण र सामीप्यतासँग परिचित गराउँछ ।”
यसैगरी अभिनेत्री केकी अधिकारीले भनिन्, “काजी जस्तो प्रेमी वा श्रीमान् सबैले चाहन्छन्, यो चलचित्रमा देखाइएको प्रेमकथाले नरसाउने आँखा सायदै कम होलान् । अहिलेको पुस्तामा प्रेमप्रतिको जे–जस्तो आकर्षण, समर्पण र बुझाइ छ, त्यसलाई यथार्थपरक एवं सकारात्मक सोचमा बदल्न चलचित्र सफल हुने विश्वास लिएकी छु ।”
रिजाल एण्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रको निर्माण रामप्रसाद रिजाल र निर्देशन लक्ष्मण रिजालले गरेका हुन् ।
सो चलचित्रमा अभिनेता कार्की र अभिनेत्री अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भारद्वाजले पटकथा लेखेकाे उक्त चलचित्रमा चिन्तन राजभण्डारीले छायाङ्कन निर्देशन, कालीप्रसाद बास्कोटाले सङ्गीत सिर्जना, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, कविराज गहतराजले नृत्य निर्देशन गरेकाे निर्माता रिजालले जानकारी दिए ।
टिप्पणीहरू: