- भदौ ०१, २०८१
काठमाडौं । अभिनेत्री परीक्षा लिम्बु आगामी मंसिर ४ गतेबाट रिलिज हुने फिल्म ‘हिमालयन गोल्ड’मा सोनाम पात्रको भूमिकामा देखिँदैछिन् । हिमाली परिवेशमा निर्माण गरिएको यो फिल्ममा परीक्षा फिल्मकी प्रमुख पात्र हुन् । परीक्षाको अनुभवमा उनका लागि ‘हिमालयन गोल्ड’ सिकाई र चुनौति दुवै हो ।
परीक्षा आफूलाई फिल्मको पिलरको रुपमा चित्रण गर्छिन् । ‘सिंगो कथा एक्लै बोक्नु भन्दा पनि कथा अनुसार मैले न्याय गरेको छु भन्ने लागेको छ । मैले सबै टिमसँग मिलेर पिलरको काम गरेकी छु । निर्देशकदेखि फिल्मका सबै सदस्यको सहयोग र बुझाई थियो । जसले गर्दा राम्रोसँग काम गर्ने वातावरण बन्यो’, उनी भन्छिन्, ‘मेरो चरित्रलाई राम्रोसँग निभाउन टिमका सबै सदस्यको उत्तिकै योगदान थियो । मलाई सोनाम चरित्र चुनौतीपूर्ण त लागेकै थियो । तर टिम राम्रो भएपछि त्यो यात्रा रमाइलो भयो ।’
हिमालयन गोल्डमा तपाईं प्रमुख भूमिकामा हुनुुहुन्छ । सिंगो कथा एक्लै बोक्न कत्तिको गाह्रो हुँदो रहेछ ?
सिंगो कथा एक्लै बोक्नु भन्दा पनि त्यो कथा अनुसार मैले न्याय गरेको छु भन्ने अनुभव गरेकी छु । मैले सबै टिमसँग मिलेर पिलरको काम गरेकी छु । निर्देशकदेखि फिल्मका सबै सदस्यको सहयोग र बुझाई थियो । जसले गर्दा राम्रोसँग काम गर्ने वातावरण बन्यो । मेरो चरित्रलाई राम्रोसँग निभाउन टिमका सबै सदस्यको उत्तिकै योगदान थियो । मलाई चुनौतीपूर्ण त लागेकै थियो । तर टिम राम्रो भएपछि त्यो यात्रा रमाइलो भयो । अहिले सम्झिँदा रमाइलो पनि लाग्छ ।
तपाईंलाई फिल्ममा प्रमुख भूमिकामा अफर आउँदा तपाईंमा डर थियो कि उत्साह र किन ?
सुरुमा जब निर्देशकले कथा न्यारेट गर्नुभयो र सोनामको चरित्र अफर गर्नुभयो । त्यतिबेला म मिश्रित इमोसनमै थिएँ । एक्साइटेड पनि थिएँ र अलिकति कता कता नर्भसनेस पनि थियो । यस्तो परिवेशको कथा र चरित्र दर्शकमाझ आउनुपर्छ भन्ने पनि लागेको थियो । मैले कहिले पनि यस्तो पात्र, चरित्रलाई प्रत्यक्ष रुपमा नभेटेको र नदेखेको हुँदा अलिकति चुनौतीपूर्ण पनि थियो ।
त्यो चुनौतीमा काम गर्न मलाई एक किसिमको रमाइलो पनि लाग्यो । हिमाली भेगको कथामा मैले आफूलाई कहिल्यै पनि एक्स्प्लोर गरेको थिइनँ । मेरो उत्साहले मलाई अगाडि बढिराख्न मोटिभेट गर्यो अनि त्यो नभर्सनेसले कता कता जिम्मेवार पनि बनाइरहेको थियो ।
आफूभन्दा अग्रज कलाकारको अगाडि प्रमुख भूमिकामा प्रस्तुत हुँदा तपाईंको आत्मविश्वास कस्तो थियो ?
मैले करियरको सुरुवातदेखि नै एकदमै राम्रो टिम, राम्रो व्यानरसँग काम गर्ने अवसर पाएको थिएँ । जसले गर्दा मेरो आत्मविश्वास बढ्दै गइरहेको छ । हरेक समय अग्रज कलाकारहरुसँग काम गर्दा त्यसलाई चुनौती भन्दा पनि एउटा सिक्ने अवसरको रुपमा लिन्छु ।
उहाँहरुको अनुभव, काम गर्ने तरिकाबाट धेरै कुरा सिक्ने अवसर पाइन्छ । जसकारण भर्खरै आइरहेको मान्छेलाई प्रोत्साहन मिल्छ जस्तो लाग्छ । यो फिल्ममा पनि सुनिल थापा सर र अरु एकदमै धेरै राम्रो कलाकार हुनुहुन्छ । जोसँग मैले स्क्रिन शेयर गर्ने मौका पाएको छु । विस्तारै आत्मविश्वास बढ्दै गइरहेको फिल भइरहेको छ ।
फिल्मको के कुराले तपाईं हिमालयन गोल्डमा अभिनय गर्न राजी हुनुभयो ?
यो फिल्मको कथा र यसको परिवेशले मलाई आकर्षित गरेको हो । आफूले अहिलेसम्म नगरेको अलिक फरक खालको फिल्ममा काम गर्न पाउँछु पनि भन्ने भएको थियो । अनि एउटा कलाकारका लागि एउटै किसिमको भूमिकामा सीमित नराखी नयाँ नयाँ खालको चरित्रमा काम गर्न पाउनु एउटा राम्रो अवसर हो जस्तो लाग्छ । त्यही भएर पनि यो प्रोजेक्टमा अभिनय गर्न राजी भएँ ।
फिल्मको चरित्रमा आफूलाई ढाल्न कस्तो तयारी गर्नुभयो ?
फिल्मको चरित्रमा आफूलाई ढाल्नका लागि मैले त्यो क्यारेक्टरलाई बुझ्ने कोशिस गरें । उसले कसरी सोच्छ, उसको व्यवहारदेखि लिएर, उसले गर्ने अवस्था कस्तो छ, उसले गर्ने निर्णयको पछाडिका कारणहरु बुझ्न खोजें । टिम सदस्यको सहयोग, निर्देशकको भिजन, कुनै पनि क्यारेक्टर लेखिरहँदा निर्देशकको आफ्नो भिजन हुन्छ । बुझाई हुन्छ । त्यो क्यारेक्टर अर्थात् सोनामलाई लिएर धेरै नै छलफल गरेका थियौं । त्यसले पनि मलाई सहयोग गर्यो । अनि सबैजना मिलेर सोनामलाई सोनाम बनाउन धेरै नै मेहनत गरेका छौं ।
आफ्नो वास्तविक स्वभाव र फिल्मको चरित्रबीच कत्तिको समानता छ ?
मैले निभाएको चरित्र सोनाम र मबीच स्वभावहरु कत्तिको मिल्छ अथवा हामीबीच कतिको समानता छ भन्ने कुरामा केही कुराहरु चाहिँ मसँग मिल्छ । तर धेरै कुरामा म र सोनामबीच फरक नै छ । सायद त्यही कुराले नै कुनै कुनै प्रस्तुतीकरणलाई अझ रोचक बनाउँछ जस्तो लाग्छ । अनि मलाई कलाकारका रुपमा जहिल्यै पनि आफूभन्दा फरक सोच भएको अथवा आफू भन्दा फरक क्यारेक्टरमा काम गर्न मन लाग्छ । सायद सबै कलाकारलाई त्यही नै हुन्छ जस्तो लाग्छ । त्यही गर्न पाउनु नै अभिनयको एउटा राम्रो पक्ष हो जस्तो लाग्छ ।
परीक्षाका लागि हिमालयन गोल्ड कस्तो अग्नीपरीक्षा हो ?
मेरो लागि यो फिल्म अग्नीपरीक्षा भन्दा पनि आफूले गर्ने हरेक फिल्मका हरेक पात्रले आफूलाई के दिन्छ र आफूले पनि त्यो पात्रलाई के दिने कोशिस गरिन्छ भन्ने कुरा हो । त्यो पात्रबाट के कुरा सिकिन्छ । कतिपय कुरा सिकिन्छ र अनुमान पनि हुन्छ ।
कलाकारका रुपमा आफूले कतिको चुनौती लिएर कतिको न्याय दिन सकियो भन्ने कुरा बराबर महत्वपूर्ण नै हुन्छ । अन्तिम नतिजा त दर्शकले फिल्म हेरिसकेपछि नै दिनुहुन्छ । तर मैले चाहिँ आफ्नो तर्फबाट निष्पक्ष रुपमा धेरै मेहनतका साथ काम गरेको छु । र अन्त्यमा के हुन्छ र कसरी त्यो कुरा बाहिर देखिन्छ भन्ने कुरा सबै दर्शकको हातमा नै छ ।
दर्शकले यो फिल्म हेरिसकेपछि तपाईंको अभिनयलाई कुन रूपमा सम्झिऊन् भन्ने चाहनुहुन्छ ?
दर्शकले मेरो नाम भन्दा पनि मैले निभाएको चरित्र सोनामलाई सम्झिनुभयो भने मेरो लागि एकदमै ठूलो कुरा हुनेछ । फिल्म हेरिसकेर हलबाट बाहिर निस्कदा पछिसम्म पनि सोनाम चरित्र उहाँहरुको मनमा रहिरहोस् । त्यसको कुनै एउटा दृश्य, कुनै एउटा इमोसन पछिसम्म पनि सम्झना आइरहोस् भन्ने चाहन्छु । अनि एउटा कलाकारलाई यो भन्दा ठूलो कुरा केही पनि हुँदैन जस्तो लाग्छ मलाई । त्यसकारण सोनाम चाहिँ दर्शकको मनमा पछिसम्म रही रहोस् भन्ने चाहन्छु ।
टिप्पणीहरू: