बिहिबार, ०८ माघ २०८२

नेतृत्वको नियतले संकटमा फसेको काँग्रेस


काठमाडाैँ। नेपाली काँग्रेस आज बाहिरी आक्रमणले होइन, पार्टीभित्रकै दुई प्रवृत्तिले सबैभन्दा ठूलो संकट भोगिरहेको छ। यो संकट विचारको होइन, नियत र नेतृत्व संस्कृतिको संकट हो।

यतिबेला काँग्रेसमा एउटा समूह आफ्नो क्षमता, विचार र संगठन निर्माणमा विश्वास नराखी विधान कार्यान्वयनलाई नै ‘अवैधानिक’ भनेर बदनाम गर्दै नेतृत्वलाई खुसी पार्ने प्रतिस्पर्धामा लागेको छ।

जो परिवर्तनसँग डराउँछन्, किनकि परिवर्तन आयो भने आशीर्वादको राजनीति समाप्त हुन्छ। पञ्चायतकालमा सत्ता जोगाउन जसरी चाकडी, डर र आदेशको राजनीति हुन्थ्यो, आज यो समूह पनि काँग्रेसभित्र त्यही संस्कार पुनर्जीवित गर्न खोज्दैछ।

काँग्रेसमा अर्को अवसरवादी ‘खरानी समूह’ पनि छ। यो समूह न विचारवादी छ, न त संगठन प्रति निष्ठावान। यता पनि लपक्कै, उता पनि लपक्कै। अहिले यो समूह ४० प्रतिशत भाग पाइन्छ कि भनेर सिंगो पार्टीलाई खरानी बनाउने दुस्साहसमा जुटेको छ। विधानलाई सिद्धान्तका लागि होइन, मोलतोलका लागि प्रयोग गर्ने यो प्रवृत्तिले काँग्रेसलाई संस्थाबाट ‘सिन्डिकेट’ बनाइरहेको छ।

यिनीहरूको राजनीति देश र पार्टीका लागि होइन, आफ्नो सीट, हिस्सा र आफ्नो सुरक्षाका लागि मात्र हो। एकातिर परिवर्तन रोक्ने संरक्षणवादी पञ्चे सोच, अर्कोतिर परिवर्तन बेच्ने अवसरवादी खरानी राजनीति। यी दुवैले काँग्रेसलाई न विचारको पार्टी बन्न दिएका छन्, न संस्थागत।

आजको काँग्रेसलाई आशीर्वाद होइन, क्षमता चाहिएको छ। भागबण्डा होइन, प्रस्ट दिशानिर्देश चाहिएको छ। डर होइन आत्मविश्वाससहितको सुझबुझ पूर्ण निर्णय चाहिएको छ। सम्झौता होइन, साहस चाहिएको छ। त्यो साहस बोकेको नेतृत्व आज काँग्रेसमा कोही बाँकी छ भने त्यो गगन थापा हो।

गगन आजको दिनमा काँग्रेसभित्र संस्थागत राजनीति, विधानको सम्मान र युवामुखी परिवर्तनको प्रतिनिधि हुन्। गगन थापाविरुद्ध भइरहेको राजनैतिक आक्रमण व्यक्तिविरुद्ध होइन, परिवर्तनविरुद्धको डर हो। त्यसैले काँग्रेसलाई बचाउने हो भने पञ्चे मानसिकता र खरानी अवसरवाद दुवैलाई अस्वीकार गर्नुपर्छ।

यदि काँग्रेसले पञ्चे मानसिकता र खरानी अवसरवादलाई स्वीकार गर्‍यो भने दुर्घटना निश्चित छ। तर काँग्रेसले साहस रोज्यो, संस्था रोज्यो र विधान रोज्यो भने नेपालको राजनीति योग्यता, विचार र जवाफदेहितामा फर्किन्छ।

आजको यक्ष प्रश्न गगन थापा जित्छन् कि हार्छन्? भन्ने होइन। काँग्रेस संस्थागत हुन्छ कि सकिन्छ? भन्ने हो। इतिहासले सधैं सम्झौता गर्नेहरूलाई होइन, साहस गर्नेहरूलाई सम्झन्छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ