- भदौ ०२, २०८१
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् ।
पोस्टर र टिजरमा यी दुई आपसी नोकझोकमा देखिएका छन् । एकले अर्कोलाई देखि नसहेको अवस्थामा चित्रण गरिएको छ ।
केही समयअगाडि ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको थियो । ‘न्यौली बनैमा’ बोलको गीतमा विजय र समृद्धि अर्यालको जोडी देखियो । यो गीतमा दयाहाङ देखिएनन् ।
यसले यो सिनेमाको हिरो को हो भन्नेमा शंका पैदा गरिदिएको छ । लिगेसी हेर्दा यो सिनेमाको मुख्य भूमिकामा दयाहाङ हुने सम्भावना धेरै छ । तर, पछिल्लो समय विजय पनि मुख्य भूमिकामा बाक्लै देखिन थालेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ हिट भएपछि विजयले लगातार मुख्य भूमिकामा काम गरिरहेका छन् ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
टिप्पणीहरू: