बिहिबार, ०२ जेठ २०८२

टिका पहाडी र रेजिना उप्रेतीलाई ‘हरितारा पुरस्कार’


काठमाडौं । अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको छ । त्यस्तै  चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार दिइएको छ ।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । चलचित्र पुरस्कारमा जनही पच्चिस हजार र पत्रकारिता पुरस्कारमा दशहजार रुपैयाँ रहेको छ ।

महनोज शम्शेर जवरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रुपमा स्थापित छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गरेकी हुन् ।

परिवर्तन नेपालको आयोजनमा सम्पन्न कार्यक्रममा ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार र ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ समेत अर्पण गरिएको छ । समारोहमा दश हजार रुपैयाँको ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार कलाकार तथा अधिवक्ता कृष्ण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो ।

यस्तै अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मानबाट सम्मानित गरिएको छ । साथै संचारकर्मी तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तन–चलचित्र पत्रकारिता सम्मान २०८१ प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ–आफ्नो शिल्पद्वारा आ–आफ्नो बिधामा रचनात्मक योगदान दिदै आएका चलचित्रकर्मी तथा पत्रकारलाई पुरस्कृत र सम्मानित गर्न पाँउदा गर्वको अनुभूति गरेको जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा ‘हरितारा पुरस्कार’को बेग्लै महत्व स्थापित भएको जनाए । उनले आफूले पनि ‘हरितारा चलचित्र पुरस्कार’ प्राप्त गरिसकेको जनाउँदै यो पुरस्कार आफ्ना लागि सदैव विशेष महत्वको भएको जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अभिनेत्री बुसन्धरा भुषाल र पुरस्कृत ब्यक्तित्व अभिनेता टिका पहारीले पुरस्कारको महत्वबारे प्रकाश पारेका थिए । पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेका थिए । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ