- भदौ ०१, २०८१
काठमाडौं । नेपाली फिल्म उद्योगको प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म अवार्डका रूपमा स्थापित हुँदै गएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड–२०२६) को तेस्रो संस्करण नजिकिएसँगै आयोजकले तयारीलाई तीव्र बनाएको छ ।
आगामी साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहलाई भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजक टोली अहिले अन्तिम तयारीमा जुटेको हो ।
इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा हुन लागेको तेस्रो संस्करण यसपटक पहिलोपटक नेपालमा आयोजना हुँदैछ । इन्फा अवार्डका पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न भएका थिए ।
अवार्ड समारोहका लागि स्टेज डेकोरेसन, साउन्ड सिस्टम, लाइटिङ, प्राविधिक व्यवस्थापन, कलाकार तथा अतिथिको स्वागतदेखि कार्यक्रम सञ्चालनसम्मका विभिन्न पक्षको तयारी अघि बढाइएको आयोजकले जनाएको छ । समारोहस्थल याक एण्ड यति होटलमा प्राविधिक तथा व्यवस्थापन टोलीले आफ्नो कामलाई अन्तिम चरणमा पुर्याउँदै छ ।
यसपटकको इन्फा अवार्डको मुख्य साँझलाई अवार्ड वितरणसँगै विविध सांगीतिक, नृत्य तथा हास्य प्रस्तुतिले विशेष बनाउने तयारी गरिएको छ । आयोजकले सार्वजनिक गरेको प्रस्तुति सूचीअनुसार नेपाली कला, संगीत, नृत्य तथा हास्य क्षेत्रका चर्चित कलाकारहरूले विशेष प्रस्तुति दिनेछन् ।
आयोजकका अनुसार कार्यक्रममा उषा उप्रेती पल शाहले विषेश नृत्य गर्नेछन् भने बाबुल गिरीकाे सांगीतिक प्रस्तुति रहनेछ ।
कमेडी दरबार टिमकाे विशेष हास्य प्रस्तुति हुने उक्त कार्यक्रममा झुमा लिम्बु, तेरिया मगरलगायतकाे प्रस्तुति रहनेछ ।
टिप्पणीहरू: