मङ्गलबार, २८ असोज २०८२

‘माइतीघर’का निर्देशकले कहाँ भेटिएला बनाउने


काठमाडौं । ‘माइतीघर’का निर्देशक मिलन तामाङले नयाँ फिल्म ‘कहाँ भेटिएला’ बनाउने भएका छन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। यसैबीच, फिल्मका गीत भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई छ।  यस फिल्मको प्रदर्शन मिति भने अहिले तय गरिएको छैन।

‘अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ,‘उनले भने,‘केहि दिनमा फिल्मको कलाकार र प्राविधिकहरुको बारेमा जानकारी दिदै जानेछाैँ।’

निर्देशक तामाङले ‘माइतीघर’बाट पहिलोपटक निर्देशन यात्रा सुरु गरेका थिए, जुन फिल्मले दर्शकको प्रशंसा पाइरहेको छ। 

दशैंको फुलपातिमा एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘हरि बहादुरको जुत्ता’,‘बलिदान’ र ‘माइतीघर’मध्ये ‘माइतीघर’लाई दर्शकले निर्देशनका हिसाबले राम्रो मानेका छन्।

‘माइतीघर’ले बक्सअफिसमा राम्रो व्यापार मात्र गरेन, निर्देशक मिलन तामाङको नामलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरिदियो। उनी फिल्म, एनिमेशन, क्लासिकल म्युजिक र अभिनयको गहिरो अध्ययनमा पारंगत मानिन्छन्।

 ‘माइतीघर’ अझै पनि देशभर चलिरहेको छ। फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको समयमा उनले भने,‘ ‘कहाँ भेटिएला’लाई अझ नेक्स्ट लेभलमा बनाएर दर्शकलाई नयाँ अनुभूति दिनेछु।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ