- भदौ ०१, २०८१
काठमाडौँ । आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिमले देखाएको उच्च संस्कार र सम्मानले वरिष्ठ अभिनेत्री विपना थापाको मन छोएको छ।
हिजो आयोजित चलचित्रको पत्रकार भेटघाट कार्यक्रममा निर्माण पक्षले नवदुर्गाको पावन अवसरलाई आत्मसात् गर्दै महिला कलाकार तथा दिदीबहिनीहरूलाई पहिलो पंक्ति (First Row) मा ससम्मान राखेको थियो भने अभिनेताहरूलाई पछाडिको लहरमा उभ्याएर नारी शक्तिप्रति आदर दर्शाएको थियो।
चलचित्रका निर्देशक चन्द्र पन्त तथा निर्माण टिमको यही संवेदनशील र आदरभावपूर्ण व्यवहारबाट प्रभावित हुँदै अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै मुक्तकण्ठले प्रशंसा गरेकी छिन्।
विपना लेख्छिन "नवदुर्गाको पावन अवसरमा आज ‘आ बाट आमा २’ टिमले देखाएको संस्कार साँच्चिकै मन छुने रह्यो। महिला कलाकार तथा दिदीबहिनीहरूलाई पहिलो लहर (First Row) मा राखेर उच्च सम्मान दिँदै पुरुष कलाकारहरू पछाडिको पंक्तिमा उभिएको दृश्यले नारी शक्तिप्रतिको वास्तविक आदर झल्काउँछ। चाडपर्वमा केवल औपचारिकता नभई व्यवहारमै नारी सम्मान दर्शाउने यो सुन्दर सोच र टिमको संस्कार देखेर निकै खुसी लाग्यो!"
‘आ बाट आमा २’ केवल कथामा मात्र आमा र नारी संवेदना बोकेको चलचित्र होइन, निर्माण टिमको कार्यशैली र संस्कारमा पनि त्यो स्पष्ट झल्किएको यस घटनाले देखाएको छ। प्रायः औपचारिक कार्यक्रमहरूमा मुख्य अभिनेता वा निर्देशक केन्द्रमा रहने परम्परालाई तोड्दै चन्द्र पन्त नेतृत्वको टिमले नवदुर्गाको समयमा नारी शक्तिलाई अग्रस्थान दिएर सिनेवृत्तमा एउटा सुन्दर सन्देश प्रवाह गरेको छ।
फिल्मको शीर्ष भूमिकामै रहेकी विपना थापाको यो अभिव्यक्तिले चलचित्र परिवारभित्रको आत्मीयता, निर्देशकको सकारात्मक सोच र टिमवर्क कति बलियो छ भन्ने कुरालाई स्पष्ट पारेको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘आ बाट आमा २’ मा विपना थापासँगै पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र आगामी असोज ३० गते (बडादशैँ) देखि देशभरका सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ। संस्कार, सम्बन्ध र आमाको ममतालाई केन्द्रमा राखेको यो चलचित्रले हलमा पनि दर्शकको मन जित्ने विश्वास गरिएको छ।
टिप्पणीहरू: