- भदौ ०१, २०८१
नयाँदिल्ली । भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ ।
सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ ।
सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ । धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ ।
यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए ।
उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए। संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ ।
अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो । कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ । संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पु-याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन् ।
इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ।
जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए ।
छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, “छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो । सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ ।”
“हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,” पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहो-याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे ।
डीएमके सांसद पी. विल्सनले शुक्रबार भने “हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन् ।
यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए । काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन् । नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ ।
टिप्पणीहरू: