- भदौ ०२, २०८१
काठमाडौँ, २४ भदौ । ‘कुनै दिन अवश्य पाउने छौँं, कुनै दिन अवश्य रुनेछौँ’ सरोज बाँस्तोलाले रचेको यो गीत तीन दशकअघि सङ्गीतकार ओमविक्रम विष्टको हातमा परेको थियो । उनले उक्त गीत आफ्नै आवाजमा रेकर्ड गरे । तर, सार्वजनिक भने गर्न पाएनन् ।
यत्तिकै थन्किएर बसेको तीस वर्ष पुरानो गीतलाई अर्का गायक योगेश्वर अमात्यले जीवन्त बनाउन चाहे । गीत सङ्गीतको क्षेत्रबाट १२ वर्षसम्म मौन बसेका गायक अमात्यले यही थन्किएको गीत आफ्नो आवाजमा रेकर्ड गरेका छन्।
आफ्नै युट्युबमा गीत सार्वजनिक गरेका गायक अमात्यले भने “ओम दाईले मेरै लागि थाति राखे जस्तो लागेको छ ।” गीतलाई गायक अमात्यले पुनः एरेन्ज गरी आफ्नो आवाजमा रेकर्ड गर्नुको साथै श्रव्यदृश्यसहित प्रस्तुत गरेका छन् । गायक अमात्यका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीत लोकप्रिय छन् । गायक अमात्यको यस नयाँ गीतले दर्शकलाई पुनः आकर्षित गराउने विश्वास व्यक्त गरेका छन् ।
‘कुनै दिन’ गीतको भिडियाेमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन रहेकोछ भने क्रिएटिभ निर्देशक जया शर्मा रहेकी छिन् । कलाकार प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेले अभिनय गरेका छन् । आशिम रानाभाटको विशेष उपस्थिति रहेको छ । भिडियाे निर्माण व्यवस्थापन दीपेन्द्र गौतमले गरेका छन् । यसमा सह निर्देशन साईव्रत आचार्यको छ । उत्सव दाहालले छायाङ्कन गरेकाे भिडियाेका सम्पादक तथा रङ संयोजक विकास दाहाल हुन् । गीतमा गोपाल रसाइलीले सङ्गीत संयोजन रहेको छ ।
टिप्पणीहरू: