सोमबार, २२ भदौ २०८३

रोहित अधिकारी अनमोल र पलसँग दुई फिल्म बनाउँदै


काठमाडौं । निर्माता रोहित अधिकारी नेपाली फिल्मका चर्चित स्टार कलाकारहरूसँग लगातार सहकार्य गर्ने तयारीमा देखिएका छन् । अनमोल केसीसँग महँगो पारिश्रमिकमा सम्झौता गरेसँगै रोहितले पल शाहलाई लिएर पनि नयाँ फिल्म निर्माण गर्ने तयारी अघि बढाएका छन् ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने दुई नयाँ फिल्ममा नेपाली फिल्मका लोकप्रिय अभिनेता अनमोल केसी र पल शाह मुख्य भूमिकामा रहने भएका छन् । यससँगै रोहितको आगामी फिल्म यात्रामा नेपाली फिल्मका दुई स्टार अभिनेता जोडिएका छन् ।

रोहितले यसअघि निर्माण गरेको फिल्म ‘फर्की फर्की’को सिक्वेलमा अनमोल केसीलाई दोहो-याउने तयारी गरेका छन् । अनमोलसँग हालै सम्झौता भइसकेको र फिल्मको निर्देशनका लागि सुयोग गुरुङ पनि अनुबन्धित भएका छन् ।

फिल्मको सिक्वेलको नाम ‘फर्की फर्कीः बियोन्ड टाइम’ राखिएको छ । फिल्ममा अनमोलसँगै जसिता गुरुङको जोडीलाई पनि निरन्तरता दिइने निर्माता रोहित अधिकारीले बताएका छन् । फिल्मको निर्मातामा शोभा ढकाल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहनेछन् ।

हाल अनमोल ‘ए मेरो हजुर ५’को छायांकनमा व्यस्त छन् । त्यसपछि उनी रौनक विक्रम कडेलको निर्माणमा बन्ने अर्को फिल्ममा काम गर्नेछन् । त्यसपछि मात्रै ‘फर्की फर्कीः बियोन्ड टाइम’को छायांकन सुरु गर्ने तयारी छ ।

अनमोलसँगको सहकार्य अघि बढाइरहँदा रोहितले अर्का लोकप्रिय अभिनेता पल शाहसँग पनि नयाँ फिल्म निर्माण गर्ने तयारी गरेका छन् । पलसँग फिल्मका विषयमा मौखिक सहमति भइसकेको र औपचारिक सम्झौता हुन बाँकी रहेको रोहितले बताएका छन् ।

पल अहिले ‘यानीमाया’मा व्यस्त छन् । दशैंमा रोहित अधिकारी र दीपकराज गिरी–दीपाश्री निरौलाको सहकार्यमा निर्माण भएको ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएपछि पलको ‘यानीमाया’को छायांकन पनि सकिनेछ । त्यसलगत्तै औपचारिक सम्झौता गरेर पुसको पहिलो साताबाट पलसँग नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारी रोहितको छ ।

पलको जोडीका रूपमा अभिनेत्रीको खोजी भइरहेको छ । यद्यपि, रोहितको ‘फर्की फर्की’मा अनमोलसँग जसिता गुरुङको जोडी सफल भएकाले नयाँ फिल्ममा पनि जसिता नै पलको जोडी बन्न सक्ने सम्भावनालाई नकारिएको छैन ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ