सोमबार, २२ भदौ २०८३

बाढी पीडितका गुनासालाई आलाेचना हाेइन समस्या समाधानकाे संकेत बुझनुस् : राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताएका छन् । उनले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्न पनि आग्रह गरेका छन् । 

भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी काठमाडौँ फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए । उनले नेपालीहरू अत्यन्त गहिरो शोक र पीडाबाट गुज्रिरहेको यस कठिन तथा दुःखद क्षणमा आफू नागरिकहरूमाझ केही भन्न उपस्थित भएको उल्लेख गर्दै यो दुःखको घडीमा आफू पनि सबैको साथमा रहेको बताए । 

“यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ । अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल एवं सम्पूर्ण नागरिक सङ्घसंस्था त्यसका लागि क्रियाशील छन् भन्ने मैले ठानेको छु । यो दुःखको घडीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु”, राष्ट्रपति पौडेलले भने, “हामीलाई थाहा छ कि विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो, त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन; समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु ।”

राष्ट्रपति पौडेलले यतिबेलाको गहिरो पीडालाई कम गर्न सक्ने शब्दहरू आफूहरुसँग नभएको उल्लेख गर्दै भने, “परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु । तपाईंहरूले अनुभव गरिरहनुभएको अनिश्चितताको यो क्षणको पीडा सिङ्गो राष्ट्रले नै महसुस गरिरहेको छ ।”
 
उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए । अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक रहेको तथा अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्ने विषयमा हामी विशेष रूपमा सचेत र संवेदनशील रहनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो । 

राष्ट्रपति पौडेलले नेपाली नागरिक तथा विदेशी नागरिक दुवैका हकमा उनीहरूका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनहरूलाई घर ल्याउन आवश्यक सहजीकरण तथा मानवीय सहयोग उपलब्ध गराउन आवश्यक भएको बताए । सबैभन्दा महत्वपूर्ण कुरा हामीले यस विपत्तिमा ज्यान गुमाउनुभएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्नेमा उनले जाेड दिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ