- भदौ ०४, २०८१
पोखरा। यो मुलुक निर्माणको लागि पुराना मान्छे र पुरानो तरिकाले भएन भनेर स्थापित भनौँ या उदय भएका बालेन्द्र शाह ‘बालेन’, कुलमान घिसिङहरू यतिबेला सक्रिय राजनीतिमा होमिएका छन्। परिवर्तन त गर्ने तर कुन बाटो औँल्याउने? भन्ने अन्योलकै बीच यतिबेला चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएका छन्, जुन जनताको चाहनाअनुरूप नै भयो।
देशमा रवि लामिछाने, बालेन र कुलमान एक ठाउँमा उभिएपछि देशले एउटा निकास पाउँछ भन्नेमा वैकल्पिक शक्तिहरू मात्र होइनन् कि पुराना दललाई हिजोदेखि समर्थन गर्दै आएकाहरू पनि सकारात्मक देखिन्छन्।
पुराना दलका केही नेताहरू सबल र सक्षम हुँदाहुँदै पनि पुराना दलका काम गर्ने शैली, जताततै भागबन्डामा अग्रसरता र निरन्तर एउटै अनुहारको वर्चस्वकै कारण जनता आजित भइरहेको अवस्थामा वैकल्पिक भनेर उदाएको र विस्तारै मूलधारमा प्रवेश गर्दै गरेको रास्वपामाथि जनताको विश्वास बढ्दै गएको अवश्य नै हो। यो बीचमा अझ मजबुत र सबल बनाउनको लागि जनताले रुचाएका काठमाडौं महानगरपालिका मेयर बालेन र लोडसेडिङको अन्त्य गरेका कुलमान पनि रास्वपामै समाहित भएर निर्वाचनमा आए। पुराना दललाई निस्तेज पार्न सकिन्छ भन्ने अठोटले नै आज यी तीन अनुहार– रवि, बालेन र कुलमान घन्टी चुनाव चिह्नसहित राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश भएका छन्। जुन पुराना दलका नेताहरूलाई एक खालको थ्रेट महसुस गराएको स्थिति पनि हो।
जब घन्टी चुनाव चिह्नसहित राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश भइसकेपछि जुन हिसाबले बालेन र कुलमानले भागबन्डामा अग्रसरता देखाए, जुन पुराना दलमा हिजो आफ्नै पार्टीभित्रको भागबन्डादेखि सरकार चलाउँदा बाँडीचुँडी खाने हिसाबले निर्माण गर्दथे, हो त्यस्तै यो वैकल्पिक हुँदै मूलधारमा प्रवेश गर्न लागेको पार्टीमा पनि छनक देखिएको हो कि भन्ने आम सर्वसाधारणमा पर्न जानु स्वाभाविक नै हो।
एउटा मिलनमा बालेन प्रधानमन्त्री र संसदीय दलको नेता हुने भनिसकेपछि सदस्यदेखि नेतासम्म नै रास्वपाकै सम्पत्ति हुन्, जुन बालेनको पनि हो। फेरि ३६ प्रतिशत भनेर आफूलाई खुम्च्याउन खोज्नुले शतप्रतिशत मेरो हो भन्ने आभास नदेखिएको र आफ्नो–आफ्नो भागलाई समेट्ने हिसाबले मात्र अघि बढेको देखिन्छ। यता रास्वपाको उपाध्यक्ष भएर कुलमान घिसिङ समावेश भएपछि फेरि १४ प्रतिशत भन्दै खुम्चिन खोजेको र राष्ट्रिय स्वतन्त्र पार्टीमा गुटको सुरुवात भएको आम नागरिकलाई आभास भएको छ।
एउटै पार्टी, एउटै चुनाव चिह्न भएपछि बालेन र कुलमानले प्रतिशतको राजनीति गर्न खोज्नुले गुटगत राजनीति भएको आभास गराउनु स्वाभाविक नै हो। रास्वपामा भएका सदस्यदेखि नेतासम्म र सबै शुभचिन्तकहरू रविको हो, बालेनको हो, कुलमानको हो र राष्ट्रिय स्वतन्त्र पार्टीकै हो। पार्टीभित्रको सबै संरचना र सबै प्रणाली, नीति सबै शतप्रतिशत अपनत्व लिएर एक ढिक्का भएर रवि, बालेन, कुलमान घन्टी चुनाव चिह्नलाई आत्मसात् गरेर अघि बढ्नु जनताको चाहना र राष्ट्रको हित र जनचाहना हो। र यही नै उत्तम विकल्प हो।
अब बालेन संसदीय दलको नेता बन्ने र सबै घन्टीबाट जितेकाहरूलाई समेट्दै देशको प्रधानमन्त्री बनेर देशलाई समृद्धिको बाटोमा अघि बढ्ने र कुलमान घिसिङले पार्टीको संरचनागत भूमिकामा रहेर पार्टी मजबुत बनाउँदै जिम्मेवारी लिएर अघि बढ्नु आवश्यक छ। साथै रवि लामिछाने सिङ्गो पार्टीको हितका लागि काम गर्दै सरकारमा रहेका मन्त्रालयलाई निर्देशात्मक ढंगले दिशा–निर्देश गरेर मुलुक परिवर्तनको खाका तय गर्दै अघि बढ्नु नै अबको आवश्यकता हो।
त्यसैले रवि, बालेन, कुलमानले पाएको जिम्मेवारी बहन गर्ने र मेरो भागमा यति, उसको भागमा यति भन्दै आफ्नो दुनो सोझ्याउनेतर्फको ध्यानबाट विल्कुलै अलग भएर देशको त्रिनेत्र बनेर मुलुक अगाडि बढाउने जवाफदेहितासहितको जिम्मेवारी लिनु र अघि बढ्नु सम्पूर्ण देशप्रेमीहरूको शुभेच्छा हो।
टिप्पणीहरू: