- भदौ १२, २०८१
काठमाडौं, ३० भदाै । पत्रकार एवम् लेखक रमेश भुसालको नयाँ गैरआख्यान कृति ‘छालबाटो’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा भुसालकी छोरी अनुराले पुस्तक लोकार्पण गरिन् ।
पुस्तक लोकार्पण कार्यक्रमसँगै विद्वान् हरि शर्माले लेखक भुसालसँग संवादसमेत गरे । शर्माले पुस्तक लेखनदेखि यसका विविध पक्षमा आधारित रहेर भुसालसँग संवाद गरे ।
कार्यक्रममा शर्माले पर्यावरण, वातावरण, नदीनाला अनि नेपाल–चीन–तिब्बत सीमा क्षेत्रका बासिन्दाको अध्ययनमा रुचि राख्नेहरूलाई पुस्तक उपयोगी भएको बताए । ‘म यो पुस्तक पढ्नका लागि एकदमै आग्रह गर्छु,’ शर्माले भने, ‘यसमा रमेशजीले यात्रा गर्दै नदीलाई मानिसको जीवनसँग जोडेर सुन्दर किसिमले बुन्नुभएको छ ।’ नदीनालाहरूको दोहन बढिरहेको र तिनको संरक्षण अपरिहार्य बनिरहेको सन्दर्भमा पुस्तकले यस विषयमा समेत जोड दिएको उनको भनाइ छ ।
कार्यक्रममा लेखक भुसालले मानिसका कर्मले प्रकृति एवं पर्यावरण बिग्रिएको बताए । ‘मान्छे आफू मात्रै पृथ्वीमा थपिएको छैन, उसले अरू धेरै कुरा पनि थपेको छ । उसले अरूलाई सिध्याएर आफ्नो साम्राज्य खडा गरिरहेको छ । त्यसरी उसले सिध्याउँदै लगेको एउटा स्रोत नदी हो,’ उनले भने, ‘जब कि पृथ्वीमा रहेका सबै नदीको कुल लम्बाइ एक करोड २० लाख किमि छ । अहिले पृथ्वीका कुल नदीमध्ये ६० प्रतिशतमा बाँध बाँधिसकिएको छ ।’ तर बाँधिन बाँकी केही नदीमध्ये कर्नालीको शिरदेखि पुछारसम्मको यात्रा ‘छालबाटो’ रहेको उनको भनाइ छ ।
यो पुस्तक आफूले नदीयात्रा गर्दा भेटेका पात्रहरूको कथा रहेको भुसालले जनाए । ‘यो अलिअलि मेरो, अलिअलि नदीको, अलिअलि कर्नालीवासीको, अलिअलि मेरा सहयात्रीहरूको, अलिअलि नदी राजनीतिको र अलिअलि नदी विज्ञानको कथा हो,’ उनले भने, ‘कतै यो निकै तथ्यपरक रूपमा प्रस्तुत भएको होला त कतै अलि भावनामा पनि बहकिएको होला ।’
टिप्पणीहरू: