- भदौ १२, २०८१
काठमाडौं । पद्मश्री साहित्य पुरस्कार विजेता लेखक केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ लोकार्पण गरिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार आयोजित विशेष कार्यक्रममा मदन पुरस्कार विजेता लेखक एवम् पत्रकार मोहन मैनाली र लेखक ज्ञवालीले पुस्तक लोकार्पण गरे । कार्यक्रममा लेखक ज्ञवालीसँग मैनालीले अन्तर्संवादसमेत गरे ।
उपन्यासको मुख्य पात्र मन्याको कथा पढिरहँदा पाठकलाई उसले हिँडेको बाटो पनि सँगसँगै यात्रा गर्ने हुटहुटी जाग्ने मदन पुरस्कार विजेता लेखक एवम् पत्रकार मोहन मैनालीले बताए । उपन्यास भएर पनि यहाँ राखिएका फुटनोटले इतिहासका विद्यार्थीहरूले पढ्ने पुस्तकसमेत बनाएको उनको भनाइ छ । लालित्यपूर्ण लेखन र घटनाको जीवन्त वर्णनले ‘अज्ञात’ विशेष बनेको उनले जनाए । ‘ऐतिहासिक उपन्यासलाई यति सुन्दर बनाउन सक्नु लेखक केशवराज ज्ञवालीको गजब काम हो,’ उनले भने ।
पुस्तक पढिरहँदा पाठकले आफ्नै पुर्खाले भोगेको यात्राको अनुभूति गर्ने मैनालीले बताए । ‘म आफूलाई भाग्यमानी ठान्छु,’ उनले भने, ‘किनकि यति उत्कृष्ट कृति सार्वजनिक हुनुअघि नै पढ्न पाएँ ।’
कार्यक्रममा लेखक ज्ञवालीले गोर्खा राज्यको विस्तार नेपालको वर्तमान भूगोल निर्धारण गर्ने ठूलो घटना भएको बताए । र त्यस क्रममा योगदान गरेका तर गुमनाम पात्रहरुको कथालाई आफूले उपन्यासमा उतारेको उनको भनाइ छ । ‘त्यो बृहत् अभियानका अनेकौं आयाममा नेपाली साहित्यमा प्रशस्त उत्खनन, लेखन भएको छैन । तीमध्ये त्यसमा संलग्न भुइँमान्छेहरूको गाथा पनि एउटा हो,’ लेखक ज्ञवालीले भने, ‘इतिहास लेखन र पठनको सिलसिलामा धेरै पटक राजा, सेनानायकको चर्चा भेटिन्छ । आम मान्छेहरू आकलझुक्कल आउँछन् । हाम्रा पुर्खा संलग्न भएको लडाइँ, जति सेनानायकहरूको थियो, त्यति नै वा त्योभन्दा बढी त्यो समयका भुइँमान्छेहरूको पनि थियो । उनीहरूको कथा ‘अज्ञात’ मार्फत मैले लेख्न खोजेको हुँ ।’
ती मान्छे कस्तो जीवन बाँचे ? ती आम मान्छेको बलमा बनेको यो देशको सीमाले केकस्ता सङ्घर्ष र कष्टको साक्षी बस्यो भन्ने जानकारी पुस्तकले दिने लेखक ज्ञवालीको भनाइ छ । ‘त्यो लामो अभियानको सिलसिला नेपाल र अङ्ग्रेजबीच भएको युद्धमा पुगेर रोकियो । नेपाल र अङ्ग्रेजबीचको युद्धको पहिलो लडाइँ नालापानीमा भएको थियो,’ उनले भने, ‘नालापानीको प्रसिद्ध लडाइँमा जनरल जिलेस्पीलाई मारेर त्यत्रो ठूलो फौजलाई रोक्ने योद्धा को होला ? उसले कस्तो जीवन बाँचेको होला ? त्यो योद्धामार्फत तत्कालीन समय चिन्ने, खोतल्ने तीव्र इच्छाको परिणति ‘अज्ञात’ हो ।’
ऐतिहासिक आख्यानकारिता स्वैर कल्पना मात्रै नभएको ज्ञवाली बताउँछन् । ‘यो प्राप्त तथ्यहरूका आधारमा त्यो समयको सत्यसम्म पुग्ने प्रयास हो । यसले कल्पना र भाव मात्रै माग्दैन, सन्दर्भसामग्रीको गहन अध्ययन, स्थलगत भ्रमण र प्रस्ट नभएका ऐतिहासिक सन्दर्भको हकमा इतिहासकारहरूसँग लामो छलफल, तार्किक निष्कर्षमा पुगेर यो पुस्तक तयार भएको हो,’ उनले भने ।
अज्ञातमा के छ ?
गोर्खा राज्यको विस्तार अनगन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो । अज्ञात तिनै मानिसको कथा हो, जसलाई राज्यले कहिल्यै पहिचान दिएन, जो इतिहासमा गुमनाम रहिरहे ।
यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मन्या छ । आफ्ना बाबुबारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ । सैनिक सेवाबापत पाउनुपर्ने रकमसम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलङ्गा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उनको भेट मन्यासँग हुन्छ ।
बाबुुबाट आमाबारे थाहा पाएपछि मन्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्छ— मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशप्त मानिसका पीडाको साक्षी बन्दै । अन्ततः ऊ नालापानी किल्ला आइपुग्छ, जहाँ अङ्ग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँवर सेनाको सानो टुकडी लिई बसेका हुन्छन् । अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिन पुग्छ । उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अङ्ग्रेजी फौज पछि हट्छ । तर के उसको खोजी सफल हुन्छ ? के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ ?
युद्धबीच अङ्कुराएका प्रेम र युद्धको व्यर्थतालाई सूक्ष्म तरिकाले देखाइएको यो युद्धका साधन बनाइएका मानिसका दृष्टिबाट लेखिएको सशक्त उपन्यास हो, जुन शिल्प र वैचारिकीका हिसाबले पनि उत्तिकै अब्बल छ ।
टिप्पणीहरू: