सोमबार, ०५ असोज २०८३

निखिलकाे आचार्यकाे चर्चा भारतीय फिल्म बजारमा पनि


काठमाडौं  । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको नेपाली फिल्म ‘आचार्य’को ट्रेलरलाई लिएर नेपालसँगै भारतमा पनि विभिन्न कोणबाट चर्चा र समीक्षा भइरहेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक ट्रेलरले भारतीय फिल्म पत्रकार, कलाकार तथा आम दर्शकको समेत ध्यान खिचेको निर्माण पक्षको भनाइ छ ।

भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत ‘आचार्य’को ट्रेलरबारे आफ्ना प्रतिक्रिया सार्वजनिक गरिरहेका छन् । विशेषगरी दक्षिण भारतदेखि भारतका अन्य फिल्म क्षेत्रसम्म नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको निर्माण पक्षले जनाएको छ ।

भारतीय फिल्म पत्रकार तथा दर्शकको प्रतिक्रियामा नेपाली फिल्म पछिल्ला वर्षमा प्राविधिक तथा प्रस्तुतिका हिसाबले धेरै अगाडि बढेको उल्लेख गरिएको छ । उनीहरूले अब नेपाली फिल्मलाई भारतीय फिल्मको अनुकरण गर्ने उद्योगका रूपमा मात्र हेर्न नहुने र नेपाली फिल्म आफ्नै पहिचानसहित अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको प्रतिक्रिया दिएका छन् ।

कतिपय भारतीय समीक्षक तथा दर्शकले नेपाली फिल्म पनि बलिउड वा अन्य भारतीय फिल्मको पछाडि मात्र आउने नभई भारतीय फिल्मसँगै अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्न सक्ने स्तरमा विकास भइरहेको बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडियो तथा प्रतिक्रियामा ‘आचार्य’को ट्रेलरको एक्सन, प्रस्तुति, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको उपस्थितिबारे चर्चा गरिएको देखिन्छ ।

भारतका विभिन्न फिल्म स्टुडियो तथा प्रोडक्सन हाउसमा समेत ‘आचार्य’ र निखिल उप्रेतीबारे चर्चा भइरहेको भारतीय कलाकार रघुबाबु लगायतले बताएका छन् । उनीहरूका अनुसार नेपाली फिल्मप्रति भारतीय फिल्म क्षेत्रको चासो विस्तार हुँदै गएको छ ।

एक समय भारतमा बनेका फिल्मको प्रभावमा नेपालमा फिल्म निर्माण हुने र भारतीय फिल्मको शैलीलाई पछ्याउने प्रवृत्ति रहेको चर्चा हुने गरेको थियो । तर पछिल्लो समय नेपाली फिल्मले आफ्नै कथा, प्रस्तुति र शैली निर्माण गर्दै भारतीय फिल्मसँगै दर्शकमाझ पुग्ने प्रयास गरिरहेको भारतीय फिल्मकर्मी तथा पत्रकारहरूको प्रतिक्रियामा उल्लेख छ ।

विशेषगरी सीमित बजेट र तुलनात्मक रूपमा सानो बजारबाट पनि नेपाली फिल्मले ठूलो बजेटमा निर्माण हुने भारतीय फिल्मसँग प्राविधिक तथा प्रस्तुतिगत रूपमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरेको उनीहरूको धारणा छ । ‘आचार्य’को ट्रेलरलाई लिएर आएका प्रतिक्रियाले पनि नेपाली फिल्म उद्योगमा आएको परिवर्तनलाई संकेत गर्ने उनीहरूले बताएका छन् ।

निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’लाई निखिल स्वयंले निर्देशन तथा अभिनय गरेका छन् । फिल्मको ट्रेलरमा एक्सन, द्वन्द्व, भावनात्मक सम्बन्ध र सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मले अब आफ्नै बलमा अगाडि बढ्नुपर्ने र नेपाली दर्शकले नेपाली फिल्मलाई माया गर्नुपर्ने बताएका थिए ।

यता, ‘आचार्य’को ट्रेलर सार्वजनिक भएपछि नेपालमा पनि यसको एक्सन, निखिल उप्रेतीको कमब्याक शैलीको प्रस्तुति तथा फिल्मको निर्माणस्तरलाई लिएर चर्चा भइरहेको छ ।

भारतमा समेत ट्रेलरले पाएको प्रतिक्रियाले नेपाली फिल्मको बजार नेपालमा मात्र सीमित नरहेको र नेपाली फिल्मप्रति छिमेकी मुलुकका दर्शक तथा फिल्मकर्मीको चासो बढ्दै गएको संकेत गरेको निर्माण पक्षको विश्वास छ । ‘आचार्य’ असोज ९ गतेदेखि नेपालसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने तयारीमा छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ