- भदौ ०१, २०८१
काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रा.लि. ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको रिलिज मिति परिवर्तन गरेको जानकारी दिएको हो ।
गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिर्जित असहज परिस्थितिले चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने ठहर निर्माण पक्षले गरेको छ ।
निर्माता दिल श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मुलुकमा विद्यमान प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै, यो पीडा र दुःखको घडीमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले हाम्रो टोलीले प्रदर्शन स्थगित गर्ने निर्णय गरेको हो । देश दुःखी रहेको यस घडीमा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानी हामीले यो निर्णय लिएका हौँ ।”
भदौको प्रदर्शन मिति सरेसँगै अब यो चलचित्र नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर कात्तिक २० गते दर्शनमा आउने भएको छ ।
निर्माण पक्षले मिति हेरफेर भएको बारे मुख्य वितरकहरूलाई औपचारिक जानकारी गराइसकेको छ । अचानक मिति सार्नु परेका कारण दर्शक तथा सम्बन्धित सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति निर्माण टोलीले क्षमासमेत मागेको छ ।
अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ छन् । यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।
टिप्पणीहरू: