बुधबार, २७ साउन २०८३

लज्जावती मुकुनकाे पहिलाे प्रेमकथा


काठमाडाैं । चलचित्र ‘लज्जावती’ यही साउन २९ गतेदेखि हलमा प्रदर्शन हुँदैछ । प्रेम कथामा आधारित सिनेमा निर्देशक राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

यसअघि यसअघि ‘पाठशाला’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, र ‘सिटामोल’ लगायतमा सामाजिक कथा आधारित सिनेमा निर्देशन गरेका सानेले यसपटक प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखेका छन् ।

निर्देशक सानेका अनुसार सिनेमाको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीले निर्वाह गरेका चार पात्रको वरिपरि घुमेको छ । कलाकारको नामबाटै सिनेमाको शीर्षक ‘लज्जावती’ राखिएको उनले बताएका छन् ।

सिनेमामा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा छन् । त्यस्तै, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारले सहायक भूमिकामा अभिनय गरेका छन् ।

मुकुन भुसालबाहेक अधिकांश कलाकारका लागि ‘लज्जावती’ मुख्य भूमिकामा काम गरेको पहिलो सिनेमा हो । नयाँ कलाकार र नयाँ टिमका साथ प्रेम कथालाई फरक शैलीमा प्रस्तुत गरिएको निर्देशक सानेले बताएका छन् ।

सिनेमाका पोस्टर, टिजर तथा ट्रेलर सार्वजनिक भइसकेको छ। ‘दिलको मोटर’ र ‘मलाई पिर परेको’ बोलका गीतले पनि दर्शकको ध्यान खिचिरहेका छन् । प्रचार सामग्रीमा देखिएको कलाकारहरूको अभिनय र कथावस्तुले सिनेमाप्रति दर्शकको चासो बढाएको निर्माण पक्षको दाबी छ ।

यता सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम केही सातादेखि प्रचारमा व्यस्त छ । मिडियादेखि विभिन्न विद्यालय तथा कमेडी शोलगायतका कार्यक्रममा पुगेर कलाकारहरूले सिनेमा र आफूले निर्वाह गरेको पात्रबारे जानकारी दिइरहेका छन् । प्रचारका क्रममा दर्शकबाट पाएको प्रतिक्रियाले कलाकार तथा निर्माण टिमलाई थप उत्साहित बनाएको छ ।

यसैबीच काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा कलाकार मुकुन भुसालले ‘लज्जावती’ नेपालीपन बोकेको प्रेम कथा भएकोले आफू सिनेमामा जोडिएको बताए । नेपाली समाजकै प्रेम कथामा आधारित भएकोले सिनेमाले धेरै नेपालीको जीवनसँग सम्बन्धित हुन सक्ने उनको दाबी छ । साथै उनले आफूले पहिलोपटक प्रेम कथामा आधारित सिनेमामा काम गरेका बताए ।

उनले भने, ‘यो मेरो पहिलो लभस्टोरी कथा हो । यसअघि अन्य कथामा नै अभिनय गरिरहेको थिए । त्यसैले पनि सिनेमाप्रति उत्साहित छु ।’

सिनेमामा मुकुन इ-रिक्सा चालकको भूमिकामा देखिएका छन् । रिक्सा चलाएर दैनिकी गुजार्ने क्रममा उनी होटल साउनीसँग नजिकिएको ट्रेलरमा देखिन्छ । उनले सिनेमाको कथा पनि यही सम्बन्धबाट अघि बढेकोे बताएका छन् ।

अर्का कलाकार श्री कृष्ण निरौला सिनेमामा पागलप्रेमीको भूमिकामा देखिएका छन् । टिजर र ट्रेलरमा आफ्नो भूमिका हेरेपछि अधिकांशले दर्शकले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । ‘मेरो चरित्रलाई धेरै शुभचिन्तकले मन पराइदिनुभएको छ । त्यसैले सिनेमाप्रति निकै आशावादी छु,’ उनले भने ।

श्री कृष्णका अनुसार जीवनमा पहिलोपटक मायामा परेको व्यक्तिले प्रेमका पाउने पीडा र उतारचढाव कसरी सामना गर्छ भन्ने कुरा उनको पात्रमार्फत देखाइएको छ । आफूले उक्त चरित्रलाई निकै माया गरको र यसका लागि लामो समय पर्खिएको उनले बताए ।

प्रेम कथामा आधारित भएकोले ‘लज्जावती’ ले दर्शकलाई साँचो प्रेमको अर्थ बुझाउने उनको विश्वास छ । ‘धेरै मानिसलाई साँचो प्रेम के हो भन्ने थाहा छैन । यो सिनेमा हेरेपछि दर्शकले साँचो प्रेमको परिभाषा बुझ्नुहुनेछ,’ उनले भने ।

श्री कृष्णको यो दोस्रो सिनेमा हो, जसमा उनी मुख्य भूमिकामा छन् । यसअघि उनले ‘सिटामोल’मा सहायक भूमिकामा अभिनय गरेका थिए ।

त्यस्तै जानुका विश्वकर्मा र मेनुका माझीले पनि पहिलोपटक मुख्य भूमिकामा काम गर्न पाउँदा उत्साहित छन् । दुवै कलाकार सिनेमामा क्रमशः मुकुन र श्री कृष्णको प्रेमिकाको भूमिकामा देखिएका छन् ।

जानुका भट्टी साउनीको भूमिकामा छिन् । उनी मुकुनको जोडीका रूपमा देखिएकी छन् । उनले आफ्नो पात्रको भूमिका रोमान्टिक रहेको उनले बताएकी छन् ।

सिनेमामा लगानी गरेका निर्माता कमलप्रसाद शर्माले आफूलाई ‘लज्जावती’को कथा मन परेकोले लगानी गरेको बताएका छन् । सिनेमाको प्रचार सामग्रीमा आएको सकारात्मक प्रतिक्रिया र कथावस्तुलाई हेर्दा लगानी उठाउन सक्नेमा आफू ढुक्क रहेको उनले बताए । दर्शकले सिनेमालाई साथ दिनेमा पनि आफू आशावादी रहेको उनको भनाइ छ ।

उनका अनुसार सिनेमा दुई करोड लगानीमा बनेको छ । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।

त्यस्तै, सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ