- भदौ ०१, २०८१
काठमाडाैं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको सिनेमा 'जलाकी'को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार युट्युबबाट गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ ।
सार्वजनिक गीत एसडी योगी र अन्जु पन्तले गाएका छन् । सुरेन्द्र रानाको शब्द रहेको गीतका संगीत निर्देशकमा एसडी योगी छन् भने संगीत निर्माता रिकेश गुरुङ हुन् । गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको छ । असिस्टेन्ट कोरियोग्राीमा शेखर घर्ती मगर र सुशन तामाङ छन् ।
‘जलाकी’ सुपरहिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको दोस्रो सिनेमा हो । निर्माण टिमले यसअघि सिनेमाको प्रदर्शन मितिसँगै दुई पोस्टर सार्वजनिक गरेको थियाे । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् । शैलेन्द्र डी. कार्कीले छायांकन गरेको सिनेमा आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ ।
सिनेमामा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
यसअघि निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो । सिनेमाको गीत ‘रुकुम मैकोट’ सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल्स र युट्युबमा व्यापक लोकप्रिय बनेको थियो । ‘खुस्मा’को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वस्त छन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
टिप्पणीहरू: