- भदौ ०१, २०८१
किमाना । केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५ वटा हात्ती मरेपछि प्रारम्भिक परीक्षणमा साइनाइड विषाक्तता देखिए पनि त्यसको स्रोत र मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न भएको छ । वन्यजन्तु अधिकारीहरूले हात्तीले खेतमा उब्जाइएको टमाटर खाएको र तिनको पेटमा साइनाइड भेटिएको जनाएका छन् भने किसानहरूले आफ्ना बालीमा प्रयोग हुने रसायनबाटै हात्ती मरेको दाबीमा प्रश्न उठाएका छन् ।
अम्बोसेली राष्ट्रिय निकुञ्ज नजिकैको धुलाम्मे सडकमा एउटा हात्तीको शव अझै देखिन्छ भने अर्को हात्तीको शव सफा गर्ने जनावरले खाइसकेपछि खप्पर मात्र बाँकी रहेको छ । यी हात्तीहरू नजिकैका खेतमा टमाटर खाएपछि साइनाइड विषाक्तताको आशङ्कामा मरेका १५ मध्येका हुन् ।
हात्तीको मृत्युमा साइनाइड कसरी संलग्न भयो र उक्त रसायन कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ । घटनाले वन्यजन्तु र मानिसबीच बढ्दो द्वन्द्वको जोखिमलाई समेत उजागर गरेको छ । अम्बोसेली क्षेत्रमा खेती विस्तार भइरहेका बेला हात्ती र किसानबीचको लामो समयदेखिको सहअस्तित्वमाथि पनि प्रश्न उठेको छ ।
केन्याले विगतमा चोरी–सिकारी नियन्त्रण तथा संरक्षणका प्रभावकारी प्रयासमार्फत हात्तीको सङ्ख्या ऐतिहासिक न्यून अवस्थाबाट बढाएर ३६ हजारभन्दा बढी पुर्याएको छ । तर कृषि क्षेत्र विस्तार र मानव बस्ती वन्यजन्तुको बासस्थानतर्फ फैलिँदै जाँदा संरक्षणका चुनौती फेरि बढिरहेका छन् ।
किमाना क्षेत्रमा दुई दशकदेखि खेती गर्दै आएका किसान एल्भिस मुचाईले किसानहरूले वन्यजन्तुलाई विष दिएको घटना आफूले कहिल्यै नसुनेको बताए । उनले गत महिना १५ हात्ती साइनाइड विषाक्तताका कारण मरेको समाचारप्रति आफूलाई शङ्का लागेको बताए ।
उनका अनुसार सुक्खा मौसममा हात्तीहरूले निकुञ्जको विद्युतीय बार पार गरेर खेतमा प्रवेश गर्ने र बालीमा क्षति पुर्याउने गरेका छन् । त्यसका बाबजुद स्थानीय समुदाय लामो समयदेखि हात्तीहरूसँग सहअस्तित्वमा रहँदै आएको उनको भनाइ छ । “हामी हाम्रा खेतबाट खाने जनावरहरूसँग अभ्यस्त भइसकेका छौँ”, उनले भने।
एक महिनामा १५ हात्तीको मृत्यु
केन्या वन्यजन्तु सेवाले गत महिना अम्बोसेली पारिस्थितिक प्रणालीमा एक महिनाभित्र १५ हात्ती मरेको जानकारी दिएको थियो । प्रारम्भिक प्रयोगशाला परीक्षणमा साइनाइड भेटिएको थियो भने पोस्टमार्टम परीक्षणका क्रममा हात्तीको पेटमा टमाटरसमेत फेला परेको थियो ।
केन्या वन्यजन्तु सेवाका पशु चिकित्सा प्रमुख डा. आइज्याक लेकोलुलका अनुसार मर्नुअघि हात्तीहरूमा पक्षाघात र सास फेर्न कठिनाइ देखिएको थियो । प्रारम्भिक परीक्षणले साइनाइड विषाक्तताको सम्भावना देखाए पनि शरीरमा साइनाइडको मात्रा कति थियो भन्ने यकिन गर्न थप परीक्षण भइरहेको उनले बताए ।
“साइनाइड कहाँबाट आयो भन्ने कुरा हामीले अझै पत्ता लगाउन सकेका छैनौँ”, उनले भने । हात्तीहरूले तरबुजासमेत खाएको जानकारी दिँदै उनले खेतमा प्रयोग हुने विषादी र अन्य रसायनको भण्डारण तथा प्रयोगमा विशेष सावधानी अपनाउन किसानलाई आग्रह गरे।
किमाना अम्बोसेली निकुञ्जसँग जोडिएको केन्याको प्रमुख कृषि क्षेत्रमध्ये एक हो । यहाँ टमाटर, प्याज र फ्रान्सेली सिमी उत्पादन गरी राजधानी नैरोबीसहित विभिन्न बजारमा पठाइन्छ ।
डा. लेकोलुलका अनुसार विषाक्त रसायन परीक्षणका लागि हात्तीको पेटभित्रको सामग्रीबाट नमूना लिइएको छ भने रगतका नमूनाको परीक्षण जारी छ । खानीमा प्रयोग हुने र सरकारबाट नियमन गरिने साइनाइड अवैध खानी गतिविधिका कारण निकुञ्ज क्षेत्रमा पुगेको हुनसक्ने यसअघिका दाबीबारे भने उहाँले स्पष्ट प्रमाण नभएको बताएका छन् ।
केन्याको राष्ट्रिय हात्ती संरक्षण योजनाले निकुञ्ज आसपास खेती विस्तार भइरहेका कारण मानिस र हात्तीबीचको द्वन्द्व बढेको जनाएको छ । चोरी–सिकारपछि मानव–वन्यजन्तु द्वन्द्व हात्तीको मृत्युको दोस्रो प्रमुख कारण बनेको योजनामा उल्लेख छ । सन् २००० देखि २०२० सम्म मानिसले आफ्नो बाली, सम्पत्ति र जीवन जोगाउने क्रममा आत्मरक्षा वा प्रतिशोधस्वरूप गरिएका घटनामा कम्तीमा एक हजार १६० हात्ती मरेको उल्लेख गरिएको छ ।
तर केन्या वन्यजन्तु सेवाका सञ्चार निर्देशक डङ्कन जुमा भने पछिल्लो हात्ती मृत्युमा मानव–वन्यजन्तु द्वन्द्वलाई प्रत्यक्ष कारण मान्न असहमत हुनुहुन्छ । “समुदायले यी जनावरलाई माया गर्छ”, उहाँले भन्नुभयो ।
सहअस्तित्वको चुनौती
पशु कल्याणका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडब्लु) ले सन्दिग्ध साइनाइड विषाक्तताको घटनाले मानिस र वन्यजन्तुबीचको द्वन्द्वका मूल कारण सम्बोधन गर्न तत्काल आवश्यक रहेको देखाएको जनाएको छ ।
आइएफएडब्लुले मानिस र हात्तीले बढ्दो रूपमा एउटै भूभाग प्रयोग गर्नुपरेको अवस्थामा वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जनको सुरक्षा पनि सुनिश्चित गर्नुपर्ने बताएको छ ।
आइएफएडब्लुका पूर्वी अफ्रिका निर्देशक बेन वान्डागोले साइनाइड विषाक्तताको घटनाको तत्काल र विस्तृत अनुसन्धान गर्न तथा निकुञ्ज आसपास बसोबास गर्ने समुदायका लागि मानिस र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने उपाय लागू गर्न आग्रह गरे ।
उनले अत्यन्त विषालु पदार्थ प्राकृतिक वातावरणमा पुग्न नदिन त्यस्ता रसायनको कडा नियन्त्रण र जिम्मेवार व्यवस्थापन आवश्यक रहेको बताए ।
तर किसानहरूले साइनाइड सामान्य कृषि रसायनबाट आएको हुनसक्नेमा समेत शङ्का व्यक्त गरेका छन् । मुचाईले आफूले क्षेत्रका किसानलाई बिक्री गरिने विषादी वा अन्य कृषि रसायनमा साइनाइडबारे कहिल्यै नसुनेको बताए । उनका अनुसार बजारमा बिक्री हुने कृषि रसायन केन्या सरकारबाट नियमन हुने भएकाले त्यसबाट हात्तीको मृत्यु भएको दाबी पुष्टि हुन बाँकी छ ।
“उनीहरूले जुन रसायनको कुरा गरिरहेका छन्, हामीले यहाँ त्यस्तो रसायन कहिल्यै देखेका वा सुनेका छैनौँ”, उनले भने।
गत सिजन मात्रै हात्तीले आफ्नो करिब आधा एकड टमाटर खेती नष्ट गरेको मुचाईले बताए । त्यसबाट उनलाई करिब पाँच लाख केन्याली सिलिङ अर्थात् तीन हजार आठ सय अमेरिकी डलर बराबरको क्षति भएको थियो ।
हात्तीले खेतमा प्रवेश गरेर बाली नष्ट गर्ने समस्या लामो समयदेखि रहे पनि किसान र वन्यजन्तुबीचको सम्बन्ध अहिलेसम्म सामान्य रहेको उनको भनाइ छ । “हामी यी जनावरसँग वर्षौंदेखि बस्दै आएका छौँ । यदि विष दिइएको हो भने हात्ती मात्र किन प्रभावित भए ?”, उनले प्रश्न गरे ।
घटनाको अनुसन्धान जारी रहेकाले हात्तीको मृत्युमा साइनाइडको भूमिका, त्यसको स्रोत तथा कृषि क्षेत्रसँग यसको सम्बन्धबारे थप प्रयोगशाला परीक्षणपछि मात्र स्पष्ट निष्कर्ष आउने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू: