- भदौ ०४, २०८१
काठमाडाैँ। अचेल नेपालमा एउटा नयाँ बौद्धिक रोग फैलिएको छ, जो मान्छे सफल भयो, ऊ आफैँ जन्मिँदै नायक थियो रे! उसलाई त्यहाँ पुर्याउने निर्णय, जोखिम र राजनीतिक टकराव यी सबै ‘सानातिना’ कुरा रे!
दिल निशानीजस्ता विश्लेषकहरू भन्छन्, ‘कुलमान घिसिङलाई कसैले गाउँबाट उठाएर ल्याएको होइन, उनले आफ्नै योग्यताले लोडसेडिङ हटाए।’ म भन्छु, यदि जुनसुकै क्षेत्रमा योग्यता मात्रै काफी भए सिंहदरबार डिग्रीले भरिन्थ्यो।
हो, सही हो। कुलमान घिसिङलाई कसैले गाउँबाट उठाएर ल्याएको होइन। उनी त चिलिमेमा जिम्मेवारीविहीन बनाएर थन्क्याएर राखिएका थिए। अब प्रश्न गरौँ, यदि योग्यता आफैँ कुर्सी खोज्दै हिँड्ने हो भने चिलिमेको कुनामा बसेर त्यो योग्यता किन कुहिएको थियो? त्योबेला घिसिङको सर्टिफिकेटमा म्याद सकिएको थियो कि देशलाई लोडसेडिङ नै मन परेको थियो?
कुलमान घिसिङ इन्जिनियर हुन्, इलेक्ट्रिकलमा ब्याचलर, पावर सिस्टम्समा मास्टर। तर नेपालमा डिग्रीले होइन, निर्णयले भविष्य बनाउँछ। र त्यो निर्णय कसले गर्यो? भन्ने कुरा नबोल्नु भनेको इतिहासलाई फेसबुके स्टाटसमा झार्नु हो।
बरियतामा १२ नम्बरमा रहेका कर्मचारीलाई ११ जना सिनियरको टाउकोमाथि राखेर एमडी बनाउनु यो के थियो? दैवी चमत्कार? कि घिसिङको योग्यता रातारात चम्किएर प्रधानमन्त्रीको टेबलमा झरेकाे थियो? त्यो निर्णय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले गर्यो। जोखिम उठाएर, विरोध सहेर, एमाले–कांग्रेसका ‘संस्थागत दलाल’ र ‘बरियता नै धर्म हो’ भन्ने देवताहरूको क्रन्दन सुन्दै। भलै त्यो कदम गलत थियो होला। तर अचम्म के छ भने आज त्यही निर्णयलाई ‘हामीले केही गरेका होइनौँ’ भनेर पखाल्न खोजिँदैछ। अझ रमाइलो त के छ भने स्वयम् कुलमान घिसिङले केही समयअघि ‘यहाँसम्म आइपुग्नुमा प्रचण्ड र जनार्दन शर्माको ठूलो हात छ’ भनेको भिडियो त छ नि? कि हेर्न भुल्नुभयो निसानीजी?
अब दिल निशानीजीलाई सोध्न मन लाग्छ, त्यो भिडियो दबाबमा बनाइएको थियो? धम्क्याएर बोलाइएको थियो? कि एआईले बनाएर घिसिङको मुखमा आवाज हालिएको थियो? घामजस्तै छर्लङ्ग सत्यलाई आँखा चिम्लेर ‘जनताले बनाएको’ भन्ने नयाँ मिथक किन बेचिँदैछ? हो, कुलमान सफल भए। तर सफल बनाउने कारखाना ‘योग्यता’ मात्र होइन। त्यो कारखानामा राजनीतिक इच्छाशक्ति, संरक्षण र निरन्तर समर्थन चाहिन्छ। यदि प्रचण्ड सरकारको दह्रो साथ नपाएको भए कुलमानलाई कांग्रेस–एमालेका ठेकेदार, बिचौलिया र ‘सिस्टम’ले उहिल्यै खाइसकेका हुन्थे।
यहाँ कसैले कुलमानको क्षमता नकारेको छैन। तर क्षमता देखिने ठाउँ कसले दियो? त्यो प्रश्नबाट भाग्नु भनेको आफ्नै बौद्धिक इमान्दारिता फाल्नु हो। तत्कालीन उर्जामन्त्री माया ज्ञवालीको पालामा कुलमानको खुबी किन नदेखिएको होला? त्योबेला घिसिङको बुद्धि सुतिरहेको थियो कि सरकारको दृष्टि अन्धो थियो?
नेपालमा हजारौँ कुलमान छन्। डिग्री छन्, सीप छन्, इमान्दारिता छ तर अवसर छैन। त्यसैले अवसर दिनेलाई बिर्सेर अवसर पाएकालाई मात्र देवता बनाउनु क्रान्तिकारी सोच होइन। यो त राजनीतिक कृतघ्नता हो निसानीजी।
कुलमान घिसिङ योग्य थिए, छन् र रहनेछन्। तर उनलाई सही समय, सही स्थान र सही जिम्मेवारी प्रचण्ड नेतृत्वको सरकारले दियो। यो सत्यलाई जति मेट्न खोजे पनि इतिहास मेटिँदैन। गन्तव्यमा पुगेर बाटो देखाउनेलाई भुल्ने हो भने त्यो यात्राको कथा होइन, त्यो अहंकारको आत्मकथा हो।
टिप्पणीहरू: