आइतबार, १५ कात्तिक २०८३

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङलाई मिसेस नेपाल वर्ल्डकाे उपाधि


काठमाडाैं । काठमाडाैंमा सम्पन्न ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ शिर्ष उपाधि विजेता भएकी छन्। दित्तेल, खोटाङकी उनले शिर्ष उपाधि विजेता भएवापत स्कुटर प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने बिबाहित महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। विनीताले तपाईंको बजार बेस्ट पर्सनालिटी उपउपाधिलाई पनि आफ्नो बनाएकी छन्।

 विवाहित सुन्दरीहरुको उक्त प्रतियोगितमा नेहा गुप्ता फस्ट रनर्सअपका साथ रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस, ज्योति लामिछाने सेकेण्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअपका साथ हर्लिक्स बेस्ट फिजिक भएका छन्। त्यसै गरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल २०२६ चुनिएकी छन्।

क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो २०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल २०२६ का विजेता भएका छन्। यी उपाधि विजेताले जनही ५० हजार रुपियाँ प्राप्त गरेका छन्। मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मो विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराए।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिएको छ। नेपाली फिल्म क्षेत्रमा साँढे ३ दशकभन्दा लामो समयदेखि उनले पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मान गरिएको प्रतियोगिताकी अर्की आयोजक शिला बास्तोलाले जानकारी गराइन्।

प्रतियोगीहरुलाई ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को अन्तिम स्पर्धामा सहभागी हुन काठमाडौं आएकी मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), नायक राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कृत गरेका थिए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ