आइतबार, १५ कात्तिक २०८३

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग


कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आजपा मधेश प्रदेश समितिका अध्यक्ष उमेश कुशवाहाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रहरीको गोली लागेर घाइते भएका आदित्य पासवानलाई तत्काल उच्चस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा घटनामा घाइते भएका अन्य सबैको उपचार निःशुल्क गर्न सरकारसँग माग गरेका छन्।

कुशवाहाले अस्पताल उद्घाटन कार्यक्रममा प्रहरी र आम नागरिकबीच झडप हुनु तथा गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद र गम्भीर विषय भएको बताएका छन्। उनले प्रहरीको गोली लागेर नागरिक घाइते हुने घटनालाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले घटनामा गोली लागेर घाइते भएका आदित्य पासवानको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै, घटनामा घाइते भएका अन्य व्यक्तिहरूको समेत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उनको माग छ।

अध्यक्ष कुशवाहाले घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनावलाई थप बढ्न नदिन जनप्रतिनिधिहरूलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले प्रहरी प्रशासनलाई संयमित भएर काम गर्न तथा शान्ति सुरक्षा कायम गर्नसमेत अपिल गरेका छन्।

त्यस्तै, स्थानीय समाजका अग्रज, बुद्धिजीवी, युवा, राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूलाई समेत घटनाप्रति गम्भीर ध्यान दिन र आपसी सद्भाव कायम राख्दै शान्ति व्यवस्था स्थापित गर्न सहयोग गर्न उनले आग्रह गरेका छन्।

अस्पताल उद्घाटनको विषयलाई लिएर फेटा गाउँपालिका–३ मा शनिबार दुई पक्षबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय आदित्य पासवान घाइते भएका थिए। घटनाका क्रममा तोडफोड तथा मोटरसाइकलमा आगजनीसमेत भएको थियो ।  

कुशवाहाले घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ