आइतबार, २५ जेठ २०८२

टाउकाेमा ढुंगाले हानेर हत्या गरिएकाे पुरुषकाे शव मन्दिर परिसरमा भेटियाे


गोदावरी (कैलाली) । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो । 

पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५–४० वर्षका जस्तो देखिने इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । ढुङ्गाले हानेर टाउकोको बायाँपट्टिको भाग र आँखा फुटाइएकाले अनुहार चिनिने अवस्थामा नरहेको उनले जानकारी दिए । 

शव नजिकै रगत लागेको ढुङ्गा पनि फेला परेको बताउँदै प्रनाउ थापाले साथमा लुगाबाहेक कुनै सामान फेला नपरेको जानकारी दिए । पुरुषको शव मन्दिरको दक्षिणतर्फ प्राङ्गणमा भेटिए पनि घटना मन्दिरभित्रै भएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँभन्दा २० मिटर दूरीमा रहेको मन्दिर प्राङ्गण रताम्मे छ । 

मन्दिरबाट घिसारेर शव तल फालिएकोजस्तो देखिएको प्रनाउ थापाको भनाइ छ । उनका अनुसार प्रहरीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ