सोमबार, ०८ पुस २०८१

एक महिनापछि हुम्लाकाे रायामा टेलिफोन सेवा सञ्चालन



सिमकोट (हुम्ला), २ भदौ । यहाँको खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो ।

उक्त स्थानको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर मर्मत गरेपछि शनिबार दिउँसोदेखि सञ्चालनमा आएको टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाले जानकारी दिए । मर्मतपश्चात् रायालगायत खार्पुनाथ गाउँपालिकाको चारवटा वडा र आसपासका क्षेत्रमा टेलिफोन सञ्चालन भएको निमित्त प्रमुख लामाले बताए।

प्राविधिक शाहीका अनुसार रायाको थानकोटस्थित टावरमा विद्युत् क्षमता अपुग हुँदा सेवा अवरुद्ध भएको थियो । ‘पावर ब्याकअप’ नपुगेका कारण टेलिफोन सेवा अवरुद्ध भएको उहाँको भनाइ छ । धेरै वर्ष पुराना सोलार भएकाले बेलाबेलामा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ । सेवा अवरुद्ध भएका चारवटा वडामा दुई हजारभन्दा बढी सेवाग्राही छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ