- असार ०७, २०८०
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले बुधबार हात उठाएर सरकारको विरोध गरेका छन् ।
बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।
मंगलबार हिजो दिउँसै बत्ती बालेर सरकार खोजेको संकेत गरेका थिए । कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर प्रदर्शन गरेका थिए ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ भने नयाँ शैक्षिक सत्र पनि बिलम्ब हुने संकेत देखिएको छ ।
प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले काम गर्ने विश्वास भएरै शिक्षकले माग राखेको अभिव्यक्ति दिएका थिए । शिक्षामन्त्रीलगायत मातहतका अधिकारीसँगको परामर्शपछि आजका लागि औपचारिक वार्तामा पनि बोलाएको छ । यसअघि पनि सरकारले वार्ताको आव्हान गरेको थियो तर, शिक्षकहरुले पुरानो सहमति कार्यान्वयन नभएको भन्दै वार्तामा बस्न अस्वीकार गरेका थिए ।
५ असोज २०८० मा आन्दोलित शिक्षक र सरकारबीच छ बुँदे सहमति भएको थियो । तत्कालिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्था संविधानसँग नबाझिने गरी महासँघका मागलाई अधिकतम सम्बोधन गराउन सरकारले सहजीकरण गर्ने गरी सहमति भएको थियो ।
अहिले शिक्षकले साेही सहमति कार्यान्वयन माग गरेका छन् तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म आश्वासन मात्रै दिएका छन् ।
टिप्पणीहरू: