- भदौ ०१, २०८१
काठमाडौं । थ्रिलर चलचित्र ‘द ब्लू लाइट’ शुक्रबारदेखि प्रदर्शन हुने भएकाे छ ।
‘द ब्लू लाइट’ मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको मुख्य भूमिका रहेको छ ।
बेनिशा यो सिनेमाले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन् । “अहिले हामीले हेरिरहेका चलचित्र भन्दा केही फरक छ,” बेनिशा भन्छिन्, “त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्थ छ ।”
चलचित्रको कन्टेन्ट र पफर्मेन्स मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारेकी छन् । बेनिशा ‘द ब्ल्यू लाइट’को कार्यकारी निर्माता पनि हुन् । साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को विषय र प्रस्तुति मुख्य आकर्षण भएको उनले बताएकी छन् ।
रोमान्टिक भूमिकामा देखिँदै आएकी अभिनेत्री श्रृष्टि श्रेष्ठ यस चलचित्रमा भने 'नेगेटिभ' भूमिकामा देखिँदै छिन् । उनले यसअघि पनि थ्रिलर फिल्म '११:५५' मा काम गरेकी थिइन् ।
“यो चलचित्रमा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ । मलाई यस्तै थ्रिलर जनराका फिल्महरूमा रुचाइएको छ, तर ‘द ब्लू लाइट’ को भूमिका र कथा एकदमै गहिरो र फरक छ,” उनले भनिन् ।
कलाकार अपर्ण थापाले चलचित्र ‘द ब्लू लाइट’ जस्तो सिनेमा कमै मात्रै बन्ने बताएका छन् । अपर्ण ‘द ब्लू लाइट’ जस्ता चलचित्र बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिने बताउँछन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।
टिप्पणीहरू: