- भदौ ०१, २०८१
नयाँदिल्ली। महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको खबरले देश शोकमा डुबेको छ।
बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ।
शिवसेना (युबिटी)का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै पवार परिवारप्रति गहिरो समवेदना प्रकट गरे। उनले बारामती क्षेत्रको विकासमा अजित पवारको ठूलो योगदान रहेको स्मरण गर्दै उनी साहसी र प्रतिबद्ध नेता भएको उल्लेख गरे।
शिवसेना (युबिटी)कै सांसद प्रियङ्का चतुर्वेदीले पनि यस समाचारलाई स्तब्ध र हृदयविदारक बताउँदै मतभेद भए पनि सँगै काम गरेको अनुभव स्मरण गरे। उनले पवार परिवारका सबै सदस्य तथा बारामतीका जनताप्रति सहानुभूति व्यक्त गरे।
बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो। अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ। विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्।
अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा थिए। उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए।
पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाले। उनका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार छन्।
टिप्पणीहरू: