- भदौ १२, २०८१
पाेखरा । हिमालयदेखि महासागरसम्मको प्रकृति, मानवता र आत्मचेतनाको एकरूपतालाई पुस्तकमार्फत समाजसँग जोड्ने उद्देश्यसहित अघि बढाइएको ‘हिमालय टु ओसयिनन किताब यात्रा’ अब देशव्यापी अभियानका रूपमा विस्तार गरिएको छ । लेखक अशोक सिलवालले पोखराको बेगनास क्षेत्रस्थित माउन्ट एभरेस्ट प्रि–स्कुलका शिक्षकहरूलाई साक्षी राख्दै यो अभियानलाई नेपालका ७७ अै जिल्लामा पुर्याउने घोषणा गरेका हुन् ।

यो किताब यात्रामा अशोकका तीन कृतिहरू ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ‘अप्प दीपो भवः’ र ‘श्रीलंका स्मृति’ समेटिएका छन् । ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ले सगरमाथाको प्रतीकात्मक यात्रामार्फत बाह्य उचाइभन्दा भित्री जीवनयात्रा र आत्मपहिचानको सन्देश दिन्छ । ‘अप्प दीपो भवः’ तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थ मानिने कैलाश–मानसरोवर यात्राका आध्यात्मिक अनुभूतिहरूलाई समेट्दै ‘आफ्नो उज्यालो आफैं बाल्ने’ जीवनदर्शन प्रस्तुत गर्ने कृति हो । त्यस्तै ‘श्रीलंका स्मृति’ हिमालयमा जन्मिएको यात्रीले महासागरको भूगोलसम्म पुग्दा अनुभूत गरेको प्रकृतिको एकरूपता र मानवताको साझा भावनालाई अभिव्यक्त गर्ने कृति हो ।
लाङटाङ सद्भावना दूत समेत रहेका लेखक सिलवालका अनुसार हिमालय टु ओसियन किताब यात्राको मूल उद्देश्य मानिसलाई प्रकृतिसँग जोड्नु, आत्मचेतनातर्फ फर्काउनु तथा विश्व मानवताको साझा भाव फैलाउनु हो । यसअघि विद्यालयकेन्द्रित यो किताब यात्रा अब विद्यालय मात्र नभई समाजका विभिन्न तहसम्म विस्तार गर्दै नेपालका सबै ७७ जिल्लामा पुर्याउने लक्ष्य राखिएको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल युक्त अर्यालले रिडिङ कल्चर प्रवर्द्धन गर्नमात्र नभई प्रकृति र आत्मचेतनासँग नजिक जान प्रेरणा दिने यस्तो अर्थपूर्ण यात्रा आफ्नै विद्यालय परिसरबाट सुरु हुनु विद्यालयका लागि गर्वको विषय भएको बताए ।
टिप्पणीहरू: