- भदौ ०५, २०८१
काठमाडाैँ। यो जागिर भन्ने चिज नै बडो गज्जबको। न तल झारिदिन्छ, न माथि नै चढाइदिन्छ। बडो गज्जब छ।
सन्दर्भ मेरो आफ्नै कर्मबाट सुरु गराैँ न। आजभन्दा १९ वर्ष पहिले गाउँबाट काठमाडाैँ सहर पस्दा ८ पाङ्ग्रे गाडी चढेर आएको थिएँ। पहिला दाजु-दिज्जूहरुले सपनाको सहर भन्थे काठमाडाैँलाई। त्यही भएर होला अहिलेसम्म पनि सपनाको सहरमा रुमल्लिइरहेको छु।
पढ्न भनेर आइयो। काठमाडाैँ सहर कहाँ खाली पेटमा ज्ञान आउँदो रहेछ र? त्यसैले त अब लागियो पेट पाल्नको लागि जागिर खोज्न।
जागिर खोज्नकै लागि कति साथीसँग सापटी लिइयो, कति वटा चप्पल नै फाटे होलान्, स्मरण त छैन। जागिर खान बडो सकस पाइयो। न कतै चिनेजानेका मान्छे, न पैसाको बिटो। जसो गरेर भएपनि जागिर नखाई नहुने थियो।
कलेज भर्ना भएसँगै जागिरमा पनि भर्ना हुने अवसर मिल्यो। गाउँमा जन्मेको मान्छे मलाई मात्रै जागिर भए हुन्थ्यो। काम गर्ने आँट थियो, जाँगर थियो। मात्रै मलाई चाहिएको थियो, काम गरेपछि दाम आउने जागिर। मेरो जागिरे जीवन- एउटा मोटर वास सेन्टरमा काम पाएँ।
हाम्रो गाउँको पँधेरोजस्तै हो तर, थोरै फरक थियो। पँधेरामा मान्छेहरु आउँथे। नुहाइ-धुवाइ गरेर पानी भरेर घर जान्थे। तर, मैले जागिर खाने ठाउँमा मान्छेहरु मोटरसाइकल, कार, जीप लिएर आउँथे। मजस्तैहरुले धोएर टिलिक्क टल्काइदिएपछि लिएर जान्थे।
त्यही काम गरेर मैले प्लस टु सकाँए। बिहान सबेरै कलेज जान्थेँ, कलेजबाट फर्किएपछि दिनभरि गाडी धुन्थेँ। प्लस २ ले मात्रै जागिर सम्भव थिएन। स्नातक पढ्नै पर्यो। स्नातक अध्ययन गर्ने भए पनि कलेजको टाइम र गाडी धुने समयबीच तालमेल मिलेन। अर्को जागिर खोज्नुपर्ने बाध्यता पर्यो।
गाउँले अकंलले चिन्नुभएको एउटा सानो अटोपार्टस्मा हाउसकिपिङको काम सुरु गरेँ। करिब २ वर्ष जति काम गरेँ। हाउसकिपिङ (सरसफाइ विभाग) मा काम गर्दैगर्दा मलाई कसैले सुनाइदियो- एचए, सिएमए पढ्यो भने सेतो कोट लगाउन पाइन्छ।
स्नातक पढ्दापढ्दै मेडिकल असिष्टेन्ट पनि पढ्न थालेँ। मेडिकल असिष्टेन्टको पढाइ सकियो। त्यसपछि मलाई लाग्यो, ‘अब मैले गाडी धुन वा हाउस किपिङको काम गर्नु पर्दैन।’ किनकी सेतो कोट लगाउनकै लागि मैले मेडिकल असिष्टेन्ट पढेको थिएँ।
मेहनतको फल भन्नुपर्छ- अन्नपूर्ण न्यूरो अस्पतालमा जागिर पाएँ। केही वर्ष अन्नपूर्ण न्यूरो अस्पतालमा काम गरेँ। त्यहाँ मैले केलब काम मात्रै गरिनँ, धेरै कुरा सिकेँ पनि। अन्नपूर्णको जागिर वास्तवमै अविस्मरणीय भयो मेरा लागि। त्यही काम गर्ने क्रममा मेरो स्नातक तहको अध्ययन पनि पूरा गरेँ। त्यसपछि पुगेँ म ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा। त्यहाँ मैले ओटी असिस्टेन्टको रुपमा काम पाएँ। मैले स्नातक गरिसकेको थिएँ। शायद अन्यत्र राम्रै पोष्टमा जागिर पाउन पनि सक्थेँ। तर, ग्रान्डीमा सामान्य सहयोगीका रुपमा काम गरेँ। त्यतिबेला मेरो दुइटा मात्रै इच्छा थियो- जीवन चलाउनु अनि पढ्नु।
त्यही अस्पताल र त्यही पोष्टमा काम गर्दागर्दै स्नातकोत्तर सकियो। जीवनमा उतारचढाव त सबैको हुन्छ, तर मेरो जीवनमा अलिक विशेष रहेको छ। त्यही विशेषलाई सामना गर्दागर्दै विस्तारैविस्तारै पाइला चालिरहेको छु। ग्राण्डी अस्पतालमा करिब मैले २ वर्षजति काम गरेँ। त्यसपछि जागिरकै सिलसिलामा ह्याम्स अस्पतालमा आइपुगेँ। त्यहाँ मैले अपरेशन थिएटरमा सहयोगीको रुपमा काम सुरु गरेँ। ह्याम्समा सिकाइ र भोगाइ थप भयो। मैले स्नातकोत्तर पनि त्यही हस्पिटलमा काम गर्ने क्रममा पूरा गरेँ।
जब मैले स्नातकोत्तर पूरा गरेँ, मलाई लाग्यो- नेपालको सन्दर्भमा पढाइले मात्र खासै फरक नपर्ने रहेछ। यहाँ पैसा, पावर र नेतागिरी मात्र चल्दोरहेछ। सर्टिफिकेट त केबल कागजको खोस्टोजस्तै पो रहेछ। यहाँ न पढाइ चल्छ, न इमान्दारिता। केवल चल्छ त पैसा र पावर।
मलाई पहिल्यैदेखि लाग्थ्यो- आफैँ केही गर्नुपर्छ। काम गर्न पनि उति सहज थिएन। के गर्ने? योजना बनाउँदै थिएँ। विश्वभर कोभिड संक्रमणको मारमा पर्यो। दोस्रो चरणको कोभिड संक्रमणको बेला घरैमा स्वास्थ्य सुविधाको अवधारणा अनुरुप हामीले ‘नेशनल हेल्थ केयर एट होम’ संस्थाको सुरुवात गर्यौँ। यसले धेरै स्वास्थ्य सुविधा घरमा नै दिने काम गर्दछ, जसले गर्दा त्यसबेला धेरैलाई सहयोग भएको थियो। यसले स्वास्थ्य सुविधाहरु गुणस्तर र सर्वसुलभ रुपमा दिने कोसिस गरिरहेको छ। अहिले पनि यस संस्थाले आफ्नो काम गरिरहेको अवस्था छ। यस संस्थाको मुख्य उदेश्य नै ‘सर्वसुलभ रुपमा स्वाथ्यको पहुच घर घरमै दिनु हो।’
हामीले यस संस्थालाई निरन्तर रुपमा अगाडि बढाइरहेको छौँ। मैले आफ्नो जागिर सँगसँगै आफ्नो संस्थालाई पनि अगाडि बढाइरहेको छु। जागिरकै कुरा जोडौँ, १९ वर्ष जागिर खाँदा धेरै कुरा सिकेँ र गरेँ पनि।
जागिर र मेरो सम्बन्ध अजीव छ। तीनवटा विषयमा डिग्री गरेँ तर, जागिर भने सधैँ सहयोगीकाे पदमा खाएँ। कहिलेकाहीँ आफैँलाई धिक्कार लाग्छ- नेपालको नीति र कार्यान्वयन देख्दा। मेरो अनुभवले भन्छ- जति पढे पनि, जति अनुभव भए पनि चाकडी र चाप्लुसी नगरेसम्म केही हुन्न। चाकडी र चाप्लुसी एक हिसाबले भन्ने हो भने राष्ट्रिय संस्कार बनिसक्यो।
जागिरमा मैले कही दिन सकेँ वा सकिनँ, त्यो संस्थाले मूल्याङ्कन गर्ला वा नगर्ला त्यो आफ्नो ठाउँमा छ, कुनै संस्थाले मलाई विश्वास गर्यो वा गरेन आफ्नो ठाउँमा छ। तर म आफूप्रति भने पूर्ण विश्वस्त छु। मलाई आफूमाथि पूर्ण विश्वास छ। मैले जीवनमा धेरै सम्पत्ति कमाउन नसके पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा १०–१२ जनालाई रोजगारी भने दिइरहेको छु। उनीहरुलाई केही समय भए पनि देश छाडेर जानबाट रोकिराखेको छु। अंक सानो भए पनि यी कुराहरुको अर्थ ठूलो हुन सक्छ।
समग्रमा, जागिरको व्याख्या जसरी गरेपनि हुन्छ। कसैलाई लाग्दो हो- जागिर सबथोक हो। कसैलाई लाग्दो हो- केही होइन। तर, जागिर वास्तवमै सबथोक हो। जागिर खाएकै कारण कसैलाई धनी नबनाउला तर, धेरै कुरा सिकाउँछ।
टिप्पणीहरू: