बुधबार, ०९ पुस २०८२

कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान  खोज्छन्


हालै  नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको  छ ।  त्यहाँ उठेका छलफलका विषय , नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी  समूहमा रहनु भएका साथीहरूका विचमा भएको  सामान्य र विदाइ छलफललाई लिएर  अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नु भएको  प्रतिकृयाप्रति ध्यानाकर्षण भएको छ ।

विगतमा पटक पटक पार्टीभित्रको  वहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम  झेल्दै र भोग्दै आएको पृष्ठभूमिका बारेमा हामी जानकारनै छौं ।  त्यसले सृजना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म  त्रसित छौं र पीडित पनि  रह्यौं । तर अहिले विगतको त्यही त्रास वा ‘भूत’ बाट तर्सिरहनु  कति उचित हुन्छ ? एउटा कुरा - विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन - हुन दिइने छैन । संस्थागत गरिएका  ( वा गरिने ) निर्णय र  महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता / कार्यकर्ताले  आत्म समर्पण होइन, आत्मसम्मान  खोज्छन् ; कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन् । र, त्यस्तो नहुँदा वा हुन नसक्ता त्यसप्रति असहमती वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न पनि !  

हो, यसपटक विभिन्न कारणले सर्वसम्मती भएन, नेतृत्वका लागि । ( खासमा नेतृत्वबाट सर्वसम्मतीका लागि ठोस  पहल नभएको कुरा महाधिवेशनका आम सहभागीहरूले बुझेकै हुनुपर्छ । नेतृत्वमा रहेका खास खासलाई विदा गर्ने  पूर्व योजना रहेर त त्यस्तो गरिएको त थिएन - धेरै सहभागीले यो  प्रश्न मनमा लिएर आआफ्ना क्षेत्रमा फिरेको हुनुपर्छ । )    समूह/ समूह बनेपछि र समूहकै हिसावले प्रतिस्पर्धाको प्रकृयामा गएपछि केही नीतिगत अडान, खासगरी पार्टी जीवनको लोकतान्त्रिकरणसित सम्वन्धित  विषयमा केन्द्रीत रहेर विषयहरू उठाइएका थिए ।   ती मुद्दाका  रूपमा  प्रस्तुत गरिएका थिए , ‘अबधारणा पत्र ‘ का रूपमा सार्वजनिक गरिएका थिए र महाधिवेशनको बन्द सत्रमा समेत प्रस्तुत गरिएकै हुन् ! अर्थात् , लुकाइरहनुपर्ने केही विषय छैनन् वा होइनन्  पनि ! जे होस् , अहिले महाधिवेशनले एउटा निष्कर्श दिइसकेको छ ! त्यसलाई  पालना गर्नु सबैको कर्तव्य हो। तर नेतृत्वबाट  सबैले आत्मसमर्पण होइन , समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गरेका हुन्छन् - नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ । त्यस्तो हुन नसक्ता अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र !? 

रूपान्तपणका लागि निरन्तर  वहस/ छलफल , आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध - अहिलेको आवश्यकता हो । महाधिवेशनमा नेतृत्व चयनमा समूह/ समूह रहे  पनि  सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने / निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्याउने विषय नभएर नोक्सान मात्र पुर्याउने विषय हुन् । अनावश्यक तरंगित नबनौं ! सबैले बुझौं ! अहिले नेकपा ( एमाले) सम्बद्ध सबै नेता, कार्यकर्ताहरूले यी कुरामा ध्यान पुर्याउनै पर्ला - 

विधि र प्रकृया अनुसार गरिएका/ भएका संस्थागत 
निर्णयहरूको निशर्त पालना ! 
पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसै अनुसारको व्यवहार  ! पार्टीलाई  विभाजित बनाउने कुराको सख्त बिरोध । संगसंगै , सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको पक्षपोषण ! 

 यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ - सबै षडयन्त्रहरूलाई पराजित गर्न सकिन्छ ! र नेकपा ( एमाले) लाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुनेछ ।
पाेखरेलकाे सामाजिक सञ्जाल फेशबुकबाट

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ