- भदौ ०१, २०८१
काठमाडौँ । आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ को अन्तिम छायांकनका क्रममा हङकङ पुगेको मुख्य टिमलाई भव्य सम्मान गरिएको छ। हङकङमा सक्रिय प्रतिष्ठित इभेन्ट व्यवस्थापन संस्था खुसी इभेन्टस्ले एक औपचारिक ‘मिट एन्ड ग्रीट’ समारोह आयोजना गरी चलचित्रका निर्देशक चन्द्र पन्त, मुख्य अभिनेता पल शाह र अभिनेत्री रिश्ता गुरुङलाई सम्मान गरेको हो।
कार्यक्रममा गुरुङ संस्कृति तथा परम्परा अनुसार अतिथिहरूलाई फेटा गुथाएर, खादा, पुष्पगुच्छा तथा मायाको चिनो (सम्मानपत्र) प्रदान गरिएको थियो। हङकङमा चलचित्रको सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी सम्हालिरहेको खुसी इभेन्टस्का निर्देशक खुसी गुरुङले नेपाली सिनेमाका स्थापित निर्देशक र लोकप्रिय कलाकारहरूलाई स्वागत तथा सम्मान गर्न पाउँदा आफूलाई निकै गर्व लागेको बताए। उनले आगामी दिनमा पनि प्रवासमा हुने नेपाली सिनेमाका छायांकन तथा अन्तर्राष्ट्रिय शोहरूमा निरन्तर सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्मान ग्रहण गर्दै अभिनेता पल शाहले प्रवासमा रहेर पनि नेपाली चलचित्र र मौलिक संस्कृतिप्रति देखाइएको समर्पणले आफूलाई भावुक र उत्साहित बनाएको बताए। उनले भने, "हङकङमा बसेर नेपाली फिल्म, भाषा र संस्कृतिलाई यसरी माया गर्नु, आत्मसाथ गर्नु र हामीलाई सम्मान दिनुले निकै ठूलो हौसला मिलेको छ। यहाँ मेरा फिल्महरू सधैँ ऊर्जाका साथ चल्ने गरेका छन्, हङकङबासी दर्शकको यही आत्मीय साथले मलाई अभिनय यात्रामा अझ उत्कृष्ट काम गर्न थप बल र प्रेरणा दिएको छ।"
समारोहमा निर्देशक चन्द्र पन्तले छायांकनको व्यस्त तालिकाका बीच प्रवासमा प्राप्त यो आत्मीय सम्मानप्रति खुसी इभेन्टस् र हङकङबासी दर्शकप्रति हार्दिक आभार प्रकट गरे। साथै निर्देशक पन्तले प्रचारका सुरुवाती सामग्रीहरूले युट्युब तथा सामाजिक सञ्जालमा पाएको अभूतपूर्व मायाप्रति विशेष आभार व्यक्त गरे।
चलचित्रका हालसम्म बाहिरिएका दुई मुख्य प्रचार सामग्री- आधिकारिक टिजर र पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ दुवैले युट्युबमा ५०/५० लाख (५ मिलियन माथि) भ्युज पार गरेको र सार्वजनिक पोस्टरहरू समेत सामाजिक सञ्जालमा अत्यधिक सेयर तथा हजारौँ सकारात्मक कमेन्टसहित भाइरल भएको विषयमा खुसी साट्दै निर्देशक पन्तले भने ।
"हाम्रा दुवै प्रचार सामग्री-टिजर र गीत दुवैले ५० लाखभन्दा बढी भ्युज पाउनु, र पोस्टरले सामाजिक सञ्जालमा अत्यधिक सेयर र उत्साहजनक कमेन्ट बटुल्नु हाम्रा लागि ठूलो उपलब्धि हो। दर्शकहरूले देखाउनुभएको यो अगाध विश्वास र मायाले म र मेरो सम्पूर्ण टिमलाई थप ऊर्जा, हौसला र दर्शकप्रति ठूलो जिम्मेवारीबोध गराएको छ।"
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘आ बाट आमा २’ को हङकङ सेड्युल सम्पन्न गरी टिम छिट्टै नेपाल फर्किएर अन्तिम पोस्ट-प्रोडक्सनको काम टुंग्याउने तयारीमा छ। चाडपर्वमा पारिवारिक विछोड र आमाप्रतिको अगाध प्रेमको कथा बोकेको यो चलचित्र आगामी २०८३ असोज ३० गते (बडादशैँ) देखि देशभरका सिनेमाघरहरूमा रिलिज हुँदैछ।
टिप्पणीहरू: