- असार ०७, २०८०
काठमाडाैं । सरकारले गरेको सामाजिक सञ्जाल बन्द र व्याप्त भ्रष्टाचार तथाविरुद्ध जेनजी पुस्ताले आज काठमाडौँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएकाे छ ।
सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई निस्क्रिय बनाएपछि जेनजी पुस्ता ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ भन्दै प्रदर्शनमा उत्रन लागेको हो। साेमबार बिहान ११ बजे माइतीघरमा जम्मा भएर प्रदर्शन सुरु हुने भएकाे छ ।
माइतीघरदेखि नयाँ बानेश्वरको एभरेस्ट होटलसम्म प्रदर्शनको तयारी गरेको छ।
जेनजी युवापुस्ताका तर्फबाट आइतबार सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने भनिएको छ। उक्त सूचनामा सवल गौतम र पुरुषोत्तम यादवको हस्ताक्षर छ।
जेनजीको सूचनामा भनिएको छ, ‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ। हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस्।’
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ। आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुने बताइएको छ।
‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को आयोजनामा हुन लागेको प्रदर्शनमा विभिन्न संघसंस्थ्था र व्यक्तिहरूले पनि एक्यवद्धता जनाएका छन्।
विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्नसमेत उनीहरूले आह्वान गरेका छन्।
उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन्। आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी हुने उनीहरूको भनाइ छ।
प्रहरीले भने जेनजी युवा पुस्ताको प्रदर्शनमा घुसपैठ हुन सक्ने अनुमानसहित सुरक्षा सतर्कता बढाएको छ। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने आकलन गरेको हो।
टिप्पणीहरू: