सोमबार, २३ भदौ २०८२

‘जेनजी पुस्ता’ले दिन खोजेको सन्देश


काठमाडाैँ। सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा काठमाडौंमा जेनजी पुस्ताले विरोध प्रदर्शन गरेको छ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ता जुर्मुराएको यो पहिलो पटक हो। सरकारले गरेका खराब कर्मको आलोचना गर्नेहरुलाई ‘अराजनीतिक’ भनेर बेवास्ता गर्दै आएका पुराना राजनीतिक दलका लागि जेनजीको यो आन्दोलन विरोधका लागि विरोध मात्रै हैन, सच्चिनका लागि अवसर पनि हो।

संविधान संशाेधन र सुशासनलाई प्रमुख एजेण्डा बनाएर नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए पनि आमसर्वसाधारणले सुशासनको प्रत्याभूति गर्न पाएका छैनन्।

संविधान संशाेधनका सन्दर्भमा प्रमुख दलहरु नै मौन रहँदै आएका छन् । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकोमा चिन्तित युवा पुस्ताले सुरु गरेको यो भद्र विद्रोह केबल सत्ताधारी दलको विरोध मात्रै होइन, नागरिकका चाहना सम्बोधन गर्ने हैसियत नराख्ने दलहरुको अन्त्यका लागि प्रस्थान विन्दु पनि हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको आदेश पालनाका लागि सामाजिक सञ्जाल बन्द गराएको दाबी गरे पनि यसको अन्तर्य बेथितिविरुद्धको आवाज निषेधको प्रयाश हो भनेर आमसर्वसाधारणले बुझिसकेका छन्। तर, लोकतन्त्रमा आवाजहरुको निषेध सहज छैन भनेर जेनजी पुस्ताले आन्दोलनमार्फत बुझ्ने भाषामा सरकारलाई सन्देश दिएका छन्।

सामाजिक सञ्जाल केवल सरकारको बेथिति अभिव्यक्ति गर्ने औजार मात्रै होइन, यही प्लेटफर्म प्रयोग गरेर हजारौंले आफूलाई स्वरोजगार बनाइरहेका पनि छन्। बालुवाटार, सिंहदरबारमा बसेर पासपोर्टको व्यापार गर्नेहरुलाई सामाजिक सञ्जाल आम्दानीको स्रोत र अध्ययनको सामग्री पनि हो भन्नेमा जानकारी नहुन सक्छ। तसर्थ जेनजी पुस्ताले आन्दोलनमार्फत सरकारलाई स्मरण गराएका छन्।

२०४६ को होस् या २०६२/०६३ को आन्दोलन युवा युस्ताकै बलमा निष्कर्षमा पुगेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ। युवा जागेपछि हुने भनेकै परिवर्तन हो। यो आन्दोलनले संकेत गरिसकेको छ। फेरि एक पटक उथलपुथल ल्याउने निश्चित छ।

आशा गरौं, युवा पुस्ताको माग सम्बोधन गर्दै प्रमुख राजनीतिक दलहरुले विगतमा भएको गल्ती महसुस् गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जाहेर गर्नेछन् र भाषणमा भनिएजस्तै ‘समृद्धि हाम्रै पालामा’ सम्भव हुनेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ