- असार ०६, २०८०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आज एक वक्तव्य जारी गर्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विकसित घटनाका सम्बन्धमा महाधिवेशनमा छलफल हुनुपर्नेमा जोड दिएका हुन् । एमालेको नेतृत्वले गत भदौ २०–२२ मा दोस्रो विधान महाधिवेशन सम्पन्न भएकाले अबको राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि मात्रै भएको जनाउँदै आएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफूले समसामयिक विषयमा मन्तव्य दिएपछि महाधिवेशन नेतृत्व चयनमा लाग्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
“जेनजी आन्दोलनपछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ । राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरूसमेत हिजोको अवस्थामा छैनन् । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्गनिर्देशन गर्न सक्दैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,” वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यताअनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिको भूमिका रहनेछ ।”
उनकाे अपिल
भदौ २३ गते भएको ‘नव-युवा पुस्ता'(जेनजी पुस्ता ) को आन्दोलन र २४ गते गरिएको विध्वंसबाट मुलुकमा उत्पन्न असामान्य र अकल्पनीय घटनापछि विकसित परिस्थितिमा अहिले हामीहरू उभिएका छौँ । अहिले संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भएका छन् र त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोसिस गरिँदै छ ।
अहिले यसैको जगमा आम जनताको दैनिकी क्रमशः सामान्य हुँदै गए जस्तो देखिए पनि राजनीतिक अन्यौलता र अनिश्चितता भने कायमै छ र गहिरिँदो छ । राष्ट्रियता, लोकतन्त्र , संविधान , राष्ट्रिय जीवन र नागरिक अधिकार माथिको खतरा उस्तै छ । यो असाधारण अन्यौलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्त गरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व , सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ ।
यो महत्त्वपूर्ण र ऐतिहासिक कार्यभार पुरा गर्न लोकतन्त्रप्रति प्रतिबद्ध सबै राजनीतिक दल , नव युवा पुस्ता, नागरिक समाज र राज्यका निकायहरू बिचको समझदारी, एकता र गहिरो आपसी विश्वास जरुरी छ । त्यही एकता र विश्वासको जगमा नै हामीले मुलुकको स्वतन्त्रता , सार्वभौमिकता, राष्ट्रिय एकता , स्वाधीनता , स्वाभिमान र लोकतन्त्रलाई अक्षुण्ण राख्न सक्छौँ । यसबिच व्यक्त भएको नव युवा पुस्ता र आम जनताको आकाङ्क्षा, आशा , असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान मिल्दैन र सकिँदैन पनि ।
त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरुरी छ । सोही अनुसार हाम्रो विचार , कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरुरी छ । राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्याएको भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिँदैन । त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौँ । त्यसका लागि हामी सबैले आग्रह , पूर्ववत् अडान , अहंकारलाई त्यागेर नयाँ विश्वास र नयाँ आशा निर्माण गर्न सक्नु पर्छ ।
आन्दोलन र विध्वंसको पक्ष / विपक्ष वा वादी / प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र , संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिँदैन । इतिहासका हरेक राष्ट्रिय सङ्कट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि नेतृत्व गर्दै आएको पार्टी – नेकपा (एमाले) हो भन्ने कुरा आम नेपाली नागरिकहरू सबैलाई जानकारी भएकै कुरा हो । पार्टीको यो भूमिकासित गाँसिएर एउटा जीवित साक्षी र सिपाहीको रूपमा म आफू पनि रहेको जानकारी गराउन चाहन्छु ।
स्कुले विद्यार्थी हुँदादेखि , को-अर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै नेकपा (एमाले) का प्रारम्भिक दिनदेखि ; भूमिगत जीवन, जेल जीवन , निरङ्कुश पञ्चायती शासन काल , त्यसपछिको खुला राजनीतिमा संसदीय भूमिका, सरकारी कामको जिम्मेवारी बहन गर्ने सिलसिलामा र पदीय हिसाबले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, दुई पटक महासचिव हुँदै हाल पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको छु । यस क्रममा सदैव राष्ट्र, जनता र पार्टी हितमा रहँदै आएको कुरा सगौरव स्मरण गराउँदछु ।
आगामी दिनमा पनि मेरो यो प्रतिविद्धतामा कुनै कमी आउने छैन । म यो कठिन परिस्थितिमा आम जनसमुदाय , जेनजी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन विगतमा जस्तै फेरि एक पटक अभूतपूर्व एकताका लागि अपिल गर्दछु । त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचना हुँदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु । मलाई थाहा छ – यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा ( एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनले ( २७-२९ मङ्सिर २०८२, काठमाडाैं) सबैको ध्यान तानेको छ । गत २०-२२ भदौ मा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेजहरू पारित गरिएको थियो । भदौ २३-२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ ।
राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्ग निर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ । भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ ।
तसर्थ , आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन हुँदैछ । ज ब ज को सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु ।
प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद् भंगको खारेजी तथा घोषित मितिमा संसद्को निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदबाब सिर्जना गर्नु आवश्यक छ । यही आवश्यकता बोध गरेर नेकपा ( एमाले) ले देशैभरि जनपरिचालन गर्ने निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमको आयोजना गरेको छ । यस क्रममा यही कार्तिक २९ गते प्रत्येक जिल्ला र मङ्सिर ६ गते राजधानी काठमाडाैंमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन म सम्पूर्ण पार्टी पङ्क्ति तथा आम जनसमुदायलाई अपिल गर्दछु ।
टिप्पणीहरू: