मङ्गलबार, २६ साउन २०८३

रहेनन् साहित्यकार डा राजेन्द्र विमल


जनकपुरधाम । मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको गए राति निधन भएको छ । 

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गए राति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारजनले बताएको छ । उनको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् । डा विमलकोे पार्थिव शरीर हाल जनकपुरधाम–४ देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । साहित्यकार, शिक्षाविद्, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थिति छ ।

मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहेका डा विमल मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९४७ जुलाई २६ मा धनुषा जिल्लाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिएका डा विमल नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका थियो भने भाषा विज्ञान विषयमा पिएचडी गरेका थिए ।

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विभागमा लामो समय अध्यापन गरेका उनी करिब चार दशकको प्राध्यापन यात्रापछि अवकाशप्राप्त भएका थिए ।

साहित्यका क्षेत्रमा अग्रणी श्रष्टा डा विमलको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उनी कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषा विज्ञानका क्षेत्रमा निरन्तर सक्रिय थिए ।

उनका कृतिमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ तथा ‘फिस्टी रानी’लगायतका पुस्तक प्रकाशित छन् । उहाँका रचना गोरखापत्र, मधुपर्क, गरिमा लगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए ।

उनको कथामा आधारित ‘हंसा चलल परदेश’ नामक मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण समेत भएको थियो । यसले मैथिली साहित्यलाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक पाठक र दर्शकमाझ पु-याउन योगदान गरेको जनकपुरधामका साहित्यकार पत्रकार नित्यानन्द मण्डलले बताP। 

डा विमल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट पुरस्कृत र सम्मानित भएका थिए । उनी विद्यापति पुरस्कार कोषद्वारा स्थापित ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’का पहिलो प्राप्तकर्ता थिए । यसका अतिरिक्त उनी गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धी श्री पुरस्कार लगायतका सम्मानबाट विभूषित भएका थिए ।

साहित्यकार मण्डलका अनुसार उनको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । नेपालभित्रको मिथिला र मिथिलावासीको सामाजिक यथार्थलाई मौलिक शैलीमा प्रस्तुत गर्नु उहाँको लेखनको विशेषता मानिन्छ ।

यसैबीच मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा विमलको निधनप्रति साहित्यकार तथा पत्रकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ