शनिबार, २४ जेठ २०८२

देउवालाई प्रधानमन्त्री दिने कुरा किन दोहोर्‍याइरहन्छन् ओली ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्ने बताएका छन् ।

पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा ओलीले देउवा पाँच पटक प्रधानमन्त्री भइसकेको भन्दै छैटौंपटक पनि मौका जुर्नेवाला रहेको टिप्पणी गरे ।

‘शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु? अब फेरि जुर्नेवाला छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु । उहाँलाई आइहाल्छ’, उनले भने ।

राजनीतिक अस्थिरता र सुशासन अभाव भएको भन्दै नौ महिनाअघि नेपाली कांग्रेस र नेकपा एमालेले ०८४ सम्म सहकार्य गर्ने भन्दै कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका थिए । दुई दलबीच भएको सहमतिअनुसार ओली अब १४ महिना प्रधानमन्त्रीको कुर्सीमा बस्नेछन् । तर, यही कुरा प्रधानमन्त्री ओलीले यति धेरै पटक उल्लेख गरे । वास्तवमा यसरी पटकपटक दिन्छु-दिन्छु भनिरहनुपर्ने विषय होइन ।

लोकतन्त्रमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनु स्वभाविक हो भने आलोपालोलाई पनि अस्वभाविक मानिदैन । आलोपालो सहमतिअनुसार ओली प्रधानमन्त्री बनेका हुन् भन्ने दुनियाँलाई थाहा छ र यदि सहमतिअनुसार ओलीले सत्ता छाडेनन् भने पनि कांग्रेसले सरकारलाई गरेको समर्थन फिर्ता लिनेबित्तिकै संविधानको मर्मअनुरुप ठूलो दलको हैसियतमा देउवा नै प्रधानमन्त्री हुने निश्चित छ ।

जनआक्रोशको असर

ओलीले प्रधानमन्त्री हुनुअघि दुई कुरालाई मुख्य जोड दिएका थिए- संविधान संशाेधन र सुशासन । ती दुबै सन्दर्भमा सरकारको प्रस्तुति निकै फितलो छ । संविधान संशाेधन आमसर्वसाधारणको चासोको विषय नभएपनि सुशासनको अपेक्षा गरेका छन् । तर, सुशासन कायमको संकेतसम्म नदेखिँदा जनता यति आक्रोशित छन् कि सार्वजनिक कार्यक्रममा ओलीलाई देख्नेबित्तिकै उनको विरुद्ध नारा लागिहाल्छ, ‘केपी चोर देश छोड्’ ।

जनस्तरमा फैलिएको आक्रोशबारे आंशिक जानकार ओली सत्तासहयात्री दल कांग्रेस नरिसाओस् भनेर पनि हुनसक्छ, सातामा एक पटकजसो प्रधानमन्त्री देउवालाई दिने र गठबन्धन ०८४ सम्म निर्धक्क जाने कुरा दोहोर्याइरहन्छन् ।

गभर्नर पदको हुर्मत

सुशासन कायम गर्ने दाबी गर्ने कांग्रेस र एमालेले पछिल्लो समय गरेको सबैभन्दा ठूलो बद्मासी भनेको नेपाल राष्ट्र बैंकको गभर्नर पदको हुर्मत हो । गभर्नरले बिदा लिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गरिनुपर्ने भए पनि ओली र देउवाबीच कसलाई बनाउने भन्ने कुरा नमिल्दा गभर्नरले बिदा लिएको एक महिना बित्दा पनि अझै नियुक्ति प्रकृया अघि बढेको छैन ।

गभर्नर नियुक्तिका सन्दर्भमा छनौट समिति बनाउँदै भत्काउँदै गर्ने जुन खेल खेले, यो घटनाले ओली–देउवाको बदनाम मात्रै गराएको छैन । भावी गभर्नरलाई बन्नु अगाडि नै बद्नाम बनाएको छ । स्थिति यति नाजुक बनिसक्यो कि अब राष्ट्र बैंकमा जो व्यक्ति बने पनि ओली वा देउवाका मान्छे भनेर ट्याग लागिसक्यो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ