शुक्रबार, ०५ मंसिर २०८२

जलेकाे घरकाे खरानी सुम्सुम्याउँदै हितेन्द्रदेवले भने- म सालाे केटाे हाेइन, विषे नगर्ची बन्न चाहन्छु


काठमाडाैं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जेनजी आन्दाेलनकाे क्रममा जलेकाे आफ्नै घरकाे खरानी सुम्सुम्याउँदै आफू सालाे केटाे नभइ विषे नगर्ची बन्न चाहेकाे उल्लेख गरेका छन्।

'मैले त सिर्फ चाहेको थिएँ फगत एउटा बिशे नगर्ची बन्न, महत्वाकांक्षा केही हैन फगत एउटा सानो सपना चालिसै वर्षदेखिको एउटा सपना, आत्मनिर्भरताको नेपाली भएर।'

सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भनेका छन् 

मुटु चरक्कै चर्कियो, खुलेआम चर्कियो, त्यसैले फेसबुकमा पोस्ट्याएँ—
मैले के बिराएँ ? 

मैले त सिर्फ चाहेको थिएँ फगत एउटा बिषे नगर्ची बन्न, महत्वाकांक्षा केही हैन फगत एउटा सानो सपना चालिसै वर्षदेखिको एउटा सपना, आत्मनिर्भरताको नेपाली भएर ।

सिर्फ आत्मनिर्भरता । 

यति मात्र सपना, सन्तानको टाउकोमा हात राखेर फेरी पनि भन्छु खोजेको सिर्फ आत्मनिर्भरता । 

महत्वाकांक्षा देखियो होला, केही मूल्य र वसुलमा सम्झौता गरेँ हुँला तर त्यो जे गरेँ मेरो कर्मक्षेत्रमा आत्मनिर्भरता नेपालीमात्रको आत्मनिर्भरताको लागि । सिर्फ तेसैको लागि सम्झौता गरें । 

खून पसिना बगाएँ, पुरूषार्थ गरें, कुलेखानीमा गरेँ, मर्स्याङगीमा गरेँ, चिलिमेमा गरेँ जहिले जे गरेँ, कर्मक्षेत्रमा नेपालीमात्रको आत्मनिर्भरताको लागि गरेँ। 
गमगाढमा गरेँ, एलडिसीमा गरेँ, योजनामा गरेँ, इन्जिनियरिङमा गरेँ , विद्युत प्राधिकरणमा गरेँ, जहाँ जहिले गरेँ नेपालीमात्रको आत्मनिर्भरताको लागि गरेँ । 
आत्मनिर्भरताको यति सपना देखें त, मैले के बिराएँ । 

धेरै हैन, खाली एक बिशेनगर्ची भएर यति सपना देखेँ त, मैले के बिराएँ ?
 पिरोल्ने भो मलाइ अब पर्यन्त , मैलाई सोधिरहने यो प्रश्न-मैले के बिराएँ?

 किन बनाउँछ कोही कसैलाइ सालो केटो अनि बलि चढाउँछ ? 

कसैलाइ सालो केटो पनि नबनाउनु अनि कसैलाइ कालो केटो पनि नबनाउनु । मेरो थर मिल्यो बस बनि गयो सालो केटो ? 
भोलि कोहि अर्को तेसैगरी कालो केटो होला अनि । भो यो नेपालीमात्र हार्ने खेल नखेलोस् कसैले। 

मैले खोजेको थिएँ बन्न, एउटा सालो केटो हैन, सिर्फ एक बिशेनगर्ची भएर नेपालीमात्रको आत्मनिर्भरताको लागि लड्न ।

कुनै महत्वाकांक्षाको लागि हैन, त्यो महत्वाकांक्षा यदि देखिएको थियो भने त्यो सिर्फ नेपालीमात्रको आत्मनिर्भरताको लागि लड्न एउटा साधन थियो, साध्य हैन। 
त्यसैले अझै पनि मलाई भीम मल्ल बन्नु छैन सिर्फ बिशेनगर्ची बन्न चाहन्छु कोही पृथ्वी नारायण बनेर आवोस् । 

नेपालीको सीप र स्रोतमा आत्मनिर्भरता, प्रविधि र उर्जामा आत्मनिर्भरता । 

परनिर्भरताको जुठो मसिनाले पेट भरीन्न बुझुन् सबैले, आत्मनिर्भरताको रूखो सुखो ढिंडो धेरै बेस छ।  नेपालीको सीप र स्रोतमा आत्मनिर्भरता, प्रविधि र उर्जामा आत्मनिर्भरता । 

तेसैले फेरी पनि भन्छु, म बिशेनगर्ची बन्न चाहन्छु कोही पृथ्वी नारायण बनेर आवोस् । 
भो, मलाई भीम मल्ल बन्नु छैन, किनकी म चाहन्न कसैले सरापोस् मेरो देशलाई। 

तरै पनि पटकै पिच्छे सम्झन्छु, फेरि थरीथरी, 
हरेक पटक मुटु चरक्क चर्किन्छ ।

 के गर्नु, मुटु मेरो पनि सानै रहेछ । म राजनीतिक नेता हैन, र त सकिँन बिर्सेर अघि बढ्न, आफ्नै घर-सन्तानको खरानी हातमा लिएर । 
मुटु त मेरो पो सानो रहेछ । तर पनि  म भन्छु, म बिशेनगर्ची बन्न चाहन्छु कोही आत्मनिर्भरताको पृथ्वी नारायण बनेर आवोस् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ