- भदौ ०१, २०८१
फिल्म क्षेत्रमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेकी मानसी शर्मा असोज २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएकाे फिल्म ‘कार्की साइला’मा ‘कार्की साइली’को भूमिकामा दर्शकमाझ प्रस्तुत भएकीछिन्। आम नेपाली सिनेप्रेमीका लागि मानसी अपरिचित कलाकार हुन्। अर्थात्, उनी भर्खरै नेपाली रजतपटमा प्रवेश गर्दैछिन्।
यतिबेला मानसीमा एकातिर जितु नेपाल, प्रियना आचार्यजस्ता कलाकारसँग स्क्रिन सेयर गरेको उत्साह छ भने अर्कोतिर कलाकारका रूपमा आफूलाई स्थापित गराउने चुनौती र ‘अब के होला?’ भन्ने उत्सुकता पनि छ।
आफूले अधिकतम प्रयास गरेको र त्यसले सार्थकता पाउनेमा उनी आशावादी छिन्। फिल्मलाई लिएर उत्साहित मानसी आफू कलाकार बन्नकै लागि जन्मिएको बताउँछिन्। भर्खर सुरु हुन लागेको आफ्नो अभिनय करियर, त्यसप्रतिको आशा र उत्सुकताबारे उनीसँग गरिएको अन्तरवार्ता :
‘कार्की साईंला’मा कसरी जोडिनुभयो?
करिब तीन वर्षअघि एउटा फिल्म गर्न लागेको थिएँ। तर भवितव्यका कारण मेरो ममी बित्नुभएपछि एक वर्ष म काम नगरी बसेँ। पछि निर्देशक राजेन्द्र बस्नेतले प्रस्ताव गरेपछि ‘कार्की साईंला’मा जोडिएँ।
कलाकारिता पहिलेदेखिको तपाईंको सपना थियो कि जीवनमा अघि बढ्दै जाँदा रोजिएको बाटो हो?
मैले कक्षा एकमा हुँदा ‘किताब’ भन्ने एउटा फिल्म गरेको थिएँ। त्यहीँबाट मलाई रुचि जाग्यो । त्यो फिल्म गरिसकेपछि स्कुल, मामाघर आदि जाँदा मेरा दिदीबहिनी र चिनेजानेकाहरूले ‘ऊ हिरोइन है, ऊ हिरोइन पनि हो’ भन्थे। त्यहाँबाटै मलाई रुचि बढ्न थालेको थियो। म नाच्न पनि नजान्ने थिएँ, केही गर्न नजान्ने। तर डान्स क्लासहरू जान्थेँ।
अब व्यावसायिक रूपमा यही क्षेत्रमा लाग्छु भनेर चाहिँ कहिलेदेखि सोच्नुभयो?
लगभग तीन वर्ष भयो। पहिले एउटा फिल्ममा मलाई काम आएको थियो, त्यो फिल्म गर्न पाइनँ। मैले एक वर्ष वेट मेन्टेनदेखि लिएर डान्स क्लास, एक्टिङ क्लास सबै जोइन गरेँ। एक वर्षपछि अब काम गरौँ भन्ने बेला मेरो ममी बित्नुभएपछि मैले छोडिदिएँ। त्यसपछि फेरि सुरु गरेँ।
पहिलो अभिनयको अवसर चाहिँ कसरी पाउनुभएको थियो ?
मेरो ड्याडीको माध्यमबाट मलाई काम आएको थियो। ‘मेरो छोरीलाई यस्तो–यस्तो कुरामा इन्ट्रेस्टेड छ’ भनेर मेरो ड्याडीले भन्नुभएको थियो। उहाँ अङ्ग्रेजी विषयको शिक्षक हुनुहुन्छ। उहाँले पढाउनुभएको एक जना विद्यार्थी राइटर हुनुहुँदो रहेछ। उहाँले ‘म यस्तो–यस्तो फिल्म गर्दैछु’ भन्नुभएको रहेछ। त्यसैले ड्याडीले ‘मेरो छोरी पनि इन्ट्रेस्टेड छ’ भनेर मलाई लिएर जानुभएको थियो।
त्यहाँबाट एउटा काम गरेँ। त्यसमा साइड क्यारेक्टर थियो। त्यो साइड क्यारेक्टरमा गरेको अभिनय उहाँहरूलाई मन परेछ। ‘तिमीले काम कस्तो राम्रो गर्छौ, अर्को फिल्ममा हामी जोडिनुपर्छ’ भनेर त्यतिबेलै भन्नुभएको थियो।
खास यो फिल्मका लागि कसले अप्रोच गर्नुभएको थियो?
यो फिल्मका लागि चाहिँ राजेन्द्र बस्नेत सरले अप्रोच गर्नुभएको थियो। मैले उहाँसँग काम गरेको ‘प्रेमगीत’ भन्ने फिल्म रिलिज चाहिँ भएको छैन। उहाँसँग काम गरेपछि उहाँको टिमका सबै जनालाई मेरो काम मन परेछ। ‘अब नेक्स्ट हामी यस्तो गर्दैछौँ’ भनेर हामी एक वर्षदेखि नै वेटिङमा थियौँ। त्यसको एक वर्षपछि यो फिल्म बनेको हो।
यो फिल्ममा आफ्नो भूमिका यस्तो हो भन्ने थाहा पाएपछि आफूलाई के लागेको थियो?
फिल्ममा प्रमुख भूमिकामध्ये एक भन्नेबित्तिकै सुरुमा मलाई डर लागेको थियो। ‘म पर्फेक्ट छैन’ भन्ने भएको थियो। डर सँगसँगै ‘अब मान्छे भएपछि हरेक च्यालेन्ज अपनाउन सक्नुपर्छ’ भन्ने पनि थियो।
फेरि यो फिल्ममा ड्रंक क्यारेक्टर छ। ड्रंक क्यारेक्टरलाई कसरी निर्वाह गर्ने भन्ने भइरहेको थियो। अनि बिस्तारै–बिस्तारै अब्जर्भ गरेँ। ड्रंक लेडिजहरूलाई हेर्न गएँ। आफू त ड्रिंक गर्दिनँ, त्यही भएर अरूलाई हेरेँ, सिकेँ। अनि वर्कसपमा डाइरेक्टरहरू, चिफ एडी सबै जना बसेर छलफल गर्यौँ—यस्तो गरेर गर्ने, यस्तो गरेर गर्ने भनेर। त्यहीँबाट ‘ए, म केही गर्न सक्छु’ भन्ने भयो।
आफूले जस्तो खालको भूमिका गर्छु भनेर सोच्नुभएको थियो, काम गरिसकेपछि त्यस्तै काम गरेँ भन्ने भएको छ कि अलिकति कम गरेँ कि भन्ने लागेको छ?
यस्तो हो, मैले काम गर्दा जे कुरालाई पनि एक सय प्रतिशत नै दिन्छु। मैले आफ्नोतर्फबाट एक सय प्रतिशत नै दिएको छु। अब त्यो अडियन्सको हातमा छ। उहाँहरूले कतिको माया गर्नुहुन्छ, कतिको साथ दिनुहुन्छ, कतिको मेरो क्यारेक्टरलाई बुझिदिनुहुन्छ भन्ने कुरा हो।
त्यो त सेकेन्डरी भयो। आफूले आफैँलाई मूल्यांकन गरिन्छ नि—‘मैले यस्तो गरेँ, यस्तो गरेँ’ भन्ने। त्यो हिसाबले?
त्यो हिसाबले मैले चाहिँ सय प्रतिशत नै दिएको छु। आफूलाई भन्नुपर्दा त मैले एक सय प्रतिशत नै दिएको छु। ‘तिम्रो यस्तो खालको क्यारेक्टर हो’ भन्नेबित्तिकैदेखि मैले आफैँलाई मेन्टेन गरेर बसेँ त्यो क्यारेक्टरलाई।
‘यस्तो टाइपको क्यारेक्टर तिम्रो हो’ भन्नेबित्तिकै ‘ए, ड्रंक है’ भनेर म आफैँ ऐनाअगाडि जान्थेँ। ड्रंक भएर कुरा गर्थेँ। अनि भिडियो बनाएर डाइरेक्टरहरूलाई, मुख्य सहायक निर्देशकलाई पठाउँथेँ—‘हेर्नु, मेरो कस्तो भइरहेको छ’ भनेर। ‘अझै गर्दै जाऊ’ भनेर उहाँहरूले भन्नुहुन्थ्यो। मैले त्यसरी गर्दै आएको हो। तर मैले चाहिँ एक सय प्रतिशत दिएजस्तो लाग्छ मलाई।
अब यो फिल्ममा तपाईं एउटा प्लट ट्विस्टिङ क्यारेक्टरमा हुनुहुन्छ, हैन?
हजुर।
अब त्यो चिजले भोलिको दिनमा म पनि एउटा मुकाममा पुग्छु भन्ने आशा लिएर बस्नुभएको छ कि के छ?
आशा छ। अब ‘कार्की साईंली’ भन्नेबित्तिकै इन्ट्रेस्टिङ नै छ।
यो फिल्ममा जितु नेपाल, प्रियना आचार्यजस्ता कलाकारहरू हुनुहुन्छ। यस्तो अवस्थामा आफूलाई छुट्टै परिचय फिल्मले दिन्छ भन्ने कत्तिको विश्वास छ?
फिल्म हेरिसकेपछि मैले जितु दाइसँग जोडिन पाएँ नि, त्यो मेन कुरा हो। अब कार्की साइला जितु दाइ हुनुभयो, कार्की साइली भएँ म, प्रियना चाहिँ निर्जला हो। ‘कार्की साईंली’ भनेर दर्शकहरूले याद गर्नुहुन्छ होला।
यो फिल्म किन हेर्नुपर्छ?
यसले एउटा दैनिक मजदुरी गर्ने भरियाको कथा भन्छ। उसले सङ्घर्ष गरेर कसरी आफ्नो घरपरिवार समाज र जीवनलाई अगाडि बढाउने क्रममा आउने जीवन भोगाइका विभिन्न घुम्तीहरू पर्दामा देखाउँछ।
भरियाको जीवन साधारण भनेर धेरैले सोच्नुहुन्छ तर उहाँहरूको पछाडि कति संघर्ष छ, के गरेर गुजारा गरिरहेका हुन्छन् भन्ने कुरा पनि छ। केही कुरा सिकाइ पनि होला, केही रमाइलो पनि होला। त्यही भएर एकचोटि हेर्नैपर्छ यो फिल्म।
मिडिया ट्रिटमेन्ट कस्तो पाइराख्नुभएको छ? अहिले त भ्युजको जमाना छ। भ्युजको जमाना भएकाले जुन विकाउ अनुहार हो, त्यही अनुहारतिर धेरै आकर्षित भइरहेको अवस्थामा नव कलाकारका रूपमा मिडियामा कुन तहको महत्त्व दिएको पाउनुभएको छ?
चित्तबुझ्दो छ। यस मानेमा म आफूलाई भाग्यमानी ठान्छु। म मिडियामा कसैलाई चिन्दिनँ। पहिला पनि मैले भनेकै थिएँ—कसैले मलाई नचिन्नुभएको भएर मैले ‘जितु दाइको जेठी बुढी हो’ भनेर अलिकति खोलेको थिएँ।
तर मलाई मिडियाका दाइ–दिदीहरूले यति धेरै सहयोग गर्नुभयो। ‘तिमीले यस्तो गर्नुपर्छ, तिमीले उस्तो गर्नुपर्छ’ भनेर कति जनाले त मलाई कल गरेर पनि भन्नुहुन्छ—‘यस्तो गर्ने है, भोलि यस्तो गर्ने है’ भनेर। मैले सोचेको भन्दा पनि धेरै सपोर्ट पाइरहेको छु।
यो दौरानमा इन्डस्ट्रीबाट अरू फिल्महरूको अफर आएको छ कि छैन?
अहिले चाहिँ साँचिकै भन्नुपर्दा छैन। अब यो काम हेर्नुहुन्छ, हेरौँ के हुन्छ।
कस्तो खालको क्यारेक्टरका लागि चाहिँ आफूलाई मानिसहरूले सम्झिऊन् भन्ने लाग्छ?
म जुन क्यारेक्टर पनि गर्न पछि नहट्ने मान्छे हो। जुनसुकै क्यारेक्टर पनि गर्न तयार छु।
टिप्पणीहरू: