सोमबार, १८ फागुन २०८२

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा


काठमाडौं । चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ ।

शनिबार सार्वजनिक यस ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ नम्बर ५ मा पर्न सफल भएको हो ।

लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छन् ।

फिल्ममा नायक जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । ट्रेलरमा यी सबै पात्रलाई समेटिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर  ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक ट्रेलरमा नायिका रोश्नीलाई केन्द्र भागमा राखिएको छ । उनलाई स्पष्टरुपमा यौनकर्मीको चरित्रमा देखाइएको छ । ट्रेलरले उनी र नायक जीवन प्रेमसम्बन्धमा रहेको बताउँछ ।

यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा फिल्म बनेको ट्रेलरले संकेत गर्छ । ट्रेलरको अन्तिममा रोश्नी मानसिक समस्यामा परेको देखिन्छ ।

नायिका रोश्नी भन्छिन्, ‘हाम्रो फिल्मले देखाउने खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ ।’

अर्की नायिका उषा रजक फरक क्षमताकी (बोल्न नसक्ने) महिलाको भूमिकामा देखिएकी छन् । उनको भूमिका दर्शकलाई रोचक लाग्न सक्छ । फिल्ममा ‘लालिमा’की आमाको भूमिकामा उषा रहेको निर्माण पक्षले बताएको छ ।

ट्रेलरले यौनकर्ममा लागेकी ‘लालिमा’को बच्चा जन्मिएको घटनामार्फत् फिल्मप्रति सन्सपेन्स छाडेको छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ